जनकपुरधामको मध्यभागमा अवस्थित राम मन्दिर ऐतिहासिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरमध्ये एक हो।
पौराणिकताको दृष्टिकोणले यो मन्दिर जानकी मन्दिरभन्दा समेत पुरानो रहेको छ।
तर यस्तो ऐतिहासिक र पौराणिक इतिहास बोकेको यो मन्दिरको पूजा आरधनाका लागि दैनिक दुई रुपैयाँमात्रै उपलब्ध गराइन्छ।
यद्यपी मन्दिरका महन्थ तथा पूजारीहरूले वर्षौंदेखि गुठी संस्थानले उपलब्ध गराउँदै आएको दैनिक दुई रुपैयाँकै भरमा राम मन्दिरमा पूजा गर्दै आइरहेका छन्।
एउटा सामान्य पूजाका लागि पनि कम्तीमा एक हजारदेखि दुई हजारसम्म खर्च पर्छ तर राम मन्दिरको दैनिक पूजाका लागि गुठी संस्थानले त्यहाँका महन्थलाई दैनिक दुई वा तीन रुपैयाँको दरले रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
राम मन्दिरका महन्थ राम गिरी वैष्णव भन्छन्, ‘हामीले मन्दिरको पूजा खर्चबापत दैनिक दुई रुपैयाँ पाउँछौं, त्यो भन्दा बढी भयो भने ३/४ वा ५ रुपैयाँसम्म पुग्ने गर्दछ तर गुठीले यो भन्दा बढी कहिल्यै उपलब्ध गराउँदैन।’
यति पैसामा मन्दिरको पूजा गर्न असमभव छ त ? कसरी धान्नुहुन्छ त पूजा खर्च? भन्ने प्रश्नमा उनले रुखो जवाफ फर्काउँदै भने, ‘मन्दिरमा आउने भक्तजनहरू, उहाँहरूले चढाएका रुपैयाँ/पैसाले हामी पूजा खर्चको उपाय गरिहाल्छौं, जिम्मेवारी लिएको छु जसरी भए पनि पूरा त गर्नैपर्छ नि।’
राम मन्दिर गुठी संस्थानको ‘अमानत गुठी’ अन्तर्गत पर्दछ त्यसैले यसको आम्दानी र खर्च दुवैको जिम्मेवारी गुठी शाखाकै रहेको छ।
तर गुठीले उचित खर्च उपलब्ध नगराउँदा मन्दिरको पूजा गर्न समेत कठिन भइरहेको मन्दिरको महन्थ गिरी बताउँछन्।
भगवानको पूजाका लागि माला, प्रसाद धूपदीप अत्यावश्यक सामानहरूमध्ये पर्दछ, २ देखि ५ रुपैयाँसम्म हामी गुठीबाट पाउँछौं जबकी एउटा मालाकै कम्तीमा ५० रुपैयाँसम्म पर्छ फेरि नैवेद्य (प्रसाद) धूपदीपको खर्च तपाईं आफैं सोच्नुस् हामी के गरी कसरी खर्च धान्न सकिरहेका छौं’, महन्थ गिरीले सेतोपाटीसँग भने।
राम मन्दिरमा कहिलेकाहीँ दाता र भक्तजनहरू नआउँदा मन्दिरको पूजा नै संकटमा पर्ने गरेको महन्थ गिरीको भनाइ रहेको छ।
गुठी संस्थान जनकपुरधाम शाखाका प्रमुख मनोज शर्मा समेत मन्दिरको खर्च एकदमै कम भएको स्वीकार गर्छन्।
उनले भने, ‘हामीलाई थाहा छ यो रकम मन्दिरको पूजाका लागि ज्यादै नै अपुग छ, आजको महँगो समयमा, तर हामी समेत केन्द्रीय निर्णय अनुसार अगाडि बढ्ने गर्दछौं फेरि केन्द्रका लागि जनकपुरधामको राम मन्दिर मात्रै होइन नि।’
मन्दिरका पूजारीहरूको पनि न्यून पारिश्रमिक
जनकपुरधामका अन्य मन्दिरका महन्थहरूले मन्दिरको कोष आफैं चलाउन पाउँछन्। त्यसैले उनीहरूलाई पारिश्रमिकको चिन्ता छैन। तर राम मन्दिर भने अमानत गुठी अन्तर्गत पर्ने भएकोले गुठी संस्थानले उपलब्ध गराउने पैसाबाटै खर्च धान्नुपर्छ।
राम मन्दिरमा कूल १३ जना कर्मचारी रहेका छन्। मन्दिरका महन्थ समेत तलबी कर्मचारीकै रूपमा रहेका छन्। उनको मासिक तलब रु ९ हजार रहेको छ।
मन्दिरका अन्य कर्मचारीहरू समेत तलबी नै रहेका छन्। उनीहरूमध्ये कसैको मासिक १५ सय छ भने कोही मासिक २ हजार मात्रै पाउँछन्।
गुठीले मन्दिरका अन्य कार्यहरू जस्तै भोग तथा रासनका लागि २९ हजार ३ सय (तेल तरकारी, घ्यु, दाउर) सहितका सामानका लागि १४ हजार ६ सय १५ रुपैयाँ तथा तलबी कर्मचारीका लागि ५० हजारसहित जम्मा ९३ हजार ९ सय १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
गुठी संस्थान जनकपुरधामका प्रमुख शर्माले मन्दिरमा सेवाका लागि कार्यरत महन्थसहित अन्य कर्मचारीहरूको समेत पूजा खर्च जुटाउने जिम्मेवारी रहेको बताए।
प्रमुख शर्माले अघि भने,‘हामी तापनि मन्दिरका महन्थसँग एक चोटी छलफल गर्छौं उहाँहरूलाई अपुग भइरहेको आवश्यक रकमका लागि केन्द्रसँग पहल गर्नेछौं।’
प्रचारको अभाव
मन्दिर सयौं वर्ष पुरानो भए पनि अपेक्षित पर्यटक भित्र्याउन भने सकिरहेको छैन। जानकी मन्दिरभन्दा पनि पौराणिक मन्दिर भए पनि राम मन्दिरमा थोरै मात्रै पुग्ने गर्दछन्। जनकपुरधाम आउने अधिकांश पर्यटकहरू जानकी मन्दिर घुमेरै फर्किन्छन्।
जानकी मन्दिरमा आउने पर्यटकहरूमध्ये २० प्रतिशत पनि राम मन्दिरमा आइदिए मन्दिरको आयस्रोतका लागि अन्यत्र भौँतारिनु नपर्ने मन्दिरका महन्थ राम गिरी वैष्णव बताउँछन्।
उनी भन्छन्,‘मन्दिरको प्रचारप्रसार हुन नसकेका कारण सायद पर्यटक आउन सकिरहेको छैन, यसका लागि हामीले पटकपटक पहल समेत गरेका छौं तर खासै चासो नै लिइएन त्यसैले अब छोडिदिएका छौं, जे जसरी चलिरहेको छ चलाइरहेका छौं।’
अन्य मन्दिरको साजसज्जा पुनर्निमाणका लागि स्थानीय सरकार, प्रदेश सरकारको चासो रहे पनि सयौं वर्षको ऐतिहासिकता बोकेको राम मन्दिर सबैको उपेक्षामा परेको गुठी प्रमुख मनोज शर्माले बताए।
स्थानीय सरकारले पनि जानकी मन्दिरलाई मात्रै महत्व दिएको गुनासो गुठी प्रमुख शर्माको छ।