रामईश्वर पासमानको घर जलेश्वर बजारभन्दा लगभग एक किलोमिटर भित्र पर्छ। उनको घर माटो र बाँसले बनाइएको छ।
बुधबार घरमा पुग्दा रामईश्वर थिएनन्। उनी बाढीपीडितका लागि गाउँमा बाँडिँदै गरेको राहत लिन गएका रहेछन्।
घरमा उनका तीन जना छोरीहरू मात्रै थिए– गुडिया, रञ्जिता र ललिता। गुडिया २३ वर्षकी छिन्, उनी रामईश्वर र राघिनीकी सबैभन्दा जेठी छोरी हुन्। २० वर्षकी रञ्जीता माइली र १७ वर्षीया कान्छी ललिता।
जेठी छोरी गुडियालाई छरछिमेकका अरू छोरीजस्तै आमा र बुवालाई घरको कामकाजमा सहयोग गरुँगरुँ लाग्छ।
तर, उनी शारीरिक अशक्तताले असमर्थ छिन्। बरू उनलाई आफू आमाबुवाका लागि बोझ नै छु जस्तो लाग्छ। रञ्जिता र ललितालाई पनि यस्तै लाग्दो रहेछ।
तीन दिदीबहिनीले एकै स्वरमा भने, ‘हामी त घरको कामकाज गरेर थकित आमाबुवालाई सेवा गर्नुपर्ने। तर, हाम्रो दुर्भाग्य हामीलाई नै उहाँहरूले सेवा गर्नुपरेको छ।’
जेठी गुडिया जन्मदेखि १५ वर्षसम्म शारीरिक रुपले स्वस्थ्य थिइन्। सुरूमा उनी घरको सबै कामकाज गर्थिन्। बाहिर–भित्रको सबै काम उनले गर्दा आमाबुवालाई निकै सघाउ पुगेको थियो।
पन्ध्र वर्ष नाघेपछि अचानक उनी बांगोटिंगो हिँड्न थालिन्। सत्र वर्ष टेक्दा उनले वैशाखी नै टेक्नुपर्यो।
माइली रञ्जीताको पनि त्यस्तै। दुवै खुट्टा चल्दैनन्। कान्छी ललिता पनि।
संयोग तिनै जना केही वर्षको फरकमा खुट्टा टेक्न नसक्ने भए।
रामईश्वरका अनुसार तीन जनै छोरी लिएर नेपाल-भारतको लगभग सबै अस्पताल धाइयो। तर, छोरीहरूले खुट्टा टेक्न सकेनन्।
उनी भन्छन्, ‘धरान, विराटनगर गएँ। भारतको सीतामढी, पटना, बैंग्लोर, राजस्थानको जयपुर कहाँ-कहाँ लगिनँ तर यिनीहरूलाई निको पार्न सकिनँ। बरु चार लाखभन्दा बढी ऋणको बोझ टाउनकोमाथि आयो।’
तिनै जना छोरी मानसिक रुपमा तगडा छन्। किशोरावस्थामा प्रवेश गर्दासम्म उनीहरू एकदमै स्वस्थ थिए।
माइली र कान्छी भने १२ वर्षसम्म ठिक थिए। १२ वर्षकट्ना साथ विस्तारै खुट्टा बांगो हुन सुरू भयो। रञ्जिताले भनिन्, ‘म १२ वर्षको हुँदा खुट्टा बांगो हुन थालेको महसुस भयो। विस्तारै खुट्टा चल्न छाडे।’
छोरीहरूमा यस्तो समस्या देखिएपछि रामईश्वर अस्पताल धाउन थालेका थिए।
स्थानीय पनि उनीहरूको यस्तो अवस्था देखेर चिन्तित छन्। उनीहरूमा देखिएको यो अपांगता सबैका लागि रहस्य नै बनेको छ।
रामईश्वरको घर तीन जना छोरीहरू अपांग भए पनि दुई जनाले मात्रै सरकारी सुविधा पाउँछन्। त्यो पनि हारगुहार गरेपछि।
रामईश्वर भन्छन्, ‘अपागंताको कार्ड बनाउन वडाध्यक्षकहाँ सिफारिस गराउन जाँदा उहाँ नगरपालिका जाऊ भन्नुहुन्थ्यो। नगरपालिका जाँदा सिडियो अफिसले सिफारिस गर्छ भन्थ्यो। हुँदाहुँदै लगभग एक महिना छोरीहरूलाई लिएर दौडधुप गरेपछि काम भयो।त्यसमा पनि कान्छीको कार्ड बन्न सकेन। त्यसैले उनले अहिले पाउँदिनन् सुविधा।’
यी तीन बहिनीको यो रोग चिकित्सकहरूका लागि पनि रहस्यको विषय बनेको छ। रामईश्वर तीनै छोरीलाई लिएर नेपाल भारतका अधिकांश प्रतिष्ठित अस्पतालहरूमा पुगिसकेका छन्। तर, कुनै ठाउँमा रोगको विषयमा ठोस जवाफ पाउन नसकिएको रामईश्वरले बताए।
रामईश्वरको जम्मा ५ धुर जग्गा छ। त्यसमै उनको ७ जनाको परिवार बसोबास गर्दै आएको छ। तर, असार लागेपछि रामईश्वरलाई अर्को चिन्ता सुरू हुन्छ। किनभने बाढीले घर बगाउने खतरा छ। त्यसमाथि अशक्त छोरीहरूलाई बोकेर घरबाट निस्किनु उनको लागि एकदमै जटिल हुने गरेको छ।
रामईश्वर दिनभरि ठेला चलाउँछन्। त्यसैको माध्यमले घरको चुल्हो बल्छ।
उनी मात्र ३९ वर्षका छन्। तर, कामको बोझ र ठेला चलाएर तातो घाममा पिल्सिएका उनी ५० भन्दा बढी उमेर भइसकेजस्तै देखिन्छन्।