मिथिलाञ्चलमा झुल्नोत्सव सुरू भएको छ।
साउन शुक्ल तृतिया तिथिबाट सुरू हुने झुल्नोत्सव पूर्णिमासम्म प्रत्येक राति देवी देवतालाई झुलामा झुलाइन्छ।
झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा रहेको छ। यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि देवीदेवताको प्रतिमा स्थापित प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन्।
यस उत्सवमा जनकपुरधामका मन्दिरहरूबीच एक प्रकारको प्रतिस्पर्धा नै देख्न सकिन्छ।
एकातर्फ भगवान् राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजन किर्तन र लोक कथाहरू सुनाइने गरिन्छ। झुल्नोत्सवमा हुने नाचका लागि यहाँको रत्नसागर मन्दिर प्रसिद्ध मानिन्छ।
झुला र नाच हेर्नका लागि मन्दिरमा भक्तजनहरूको साँझ पर्ने बित्तिकै भीड लाग्ने गर्दछ।जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइन्छ।
जनकपुधाममा झुल्नोत्सवको प्रारम्भ
जनकपुरधाममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरको महन्थ सुरकिशोर दासले सन् १७३० देखि गरेको बताइन्छ। त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरहरूको स्थापना भएको र विभिन्न उत्सवहरूको सुरूआत समेत भएको मानिन्छ।
'साओनमे उपवन वन फूले
झुला झुले नन्दकिशोर
कदमक डारीमे लागल हिडोला
झहरय नभ घनघोर'
धार्मिक पृष्ठभूमिमा आधारित यस गीतलाई समाजशास्त्रीय दृष्टिकोणले मनन गरे झुलाको प्रारम्भलाई संकेत गरिन्छ। साधुसन्त खुला चउर वा कुनै रूखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालीग्रामलाई आसनमा राखी झुलाउने गर्दछन्।
झुलाको आकर्षण
मिथिलाञ्चलमा धानको रोपनी समाप्त हुने बित्तिकै झुला उत्सवको रौनकता सुरू हुन्छ।
यस क्रममा हरेक मठ मन्दिरमा कजरी र मलार जस्तो धार्मिक महत्व झल्किने गीतहरू सुन्न सकिन्छ।
झुल्नोत्सवमा महिलाहरू झुलाको गीत गाउने र भगवानको पूजा अर्चना गरेपछि भक्तजनलाई फूलपाती पञ्चामृत र नैवेद्य बाँड्ने परम्परा छ। मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरि झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुल्नोत्सव डोरी काटी विधिवत् रूपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ।
जनकपुरधाम एवम् मिथिला क्षेत्रको हरेक मठ मन्दिरमा झुला उत्सव मनाउने परम्परा रहे पनि जानकी मन्दिर एवम् राम मन्दिरको झुला विशेष आकर्षणको केन्द्रबिन्दु रहेको हुन्छ।
जानकी मन्दिरमा विशेष किसिमका तीन वटा सिंहासनमा राम सीताको मूर्ति राखी झुला झुलाउने परम्परा रहेको छ।