महोत्तरी जलेश्वर नगरपालिका -१ का रोहित पासमान १६ वर्षका भए।
बढ्दो उमेरमा उनको शरीरको विकास पनि समुचित ढंगले हुनुपर्ने हो तर दुब्ला छन्।
रोहितलाई आमा सुनिता र हजुरआमा रामपरीले स्याहार गर्दै आएका छन्। हत्तपत्त अरू मानिस रोहित छेउ जाँदैनन्- डर र घृणाले।
पासमान परिवारको आर्थिक अवस्था कमजोर छ। सुनिताले अर्काको घरमा भाडा माझेर परिवारलाई दुई छान टार्ने मेसो मिलाएकी छन्। सुनिताका श्रीमान् अशोकको ब्लड क्यान्सरका कारण सात वर्ष पहिले नै मृत्यु भइसकेको छ। घरमा उनी, सासु र छोरा मात्रै छन्।
‘छोरा हुँदा खानलगाउनको हर्ज थिएन,’ अशोकलाई सम्झँदै रामपरीले भनिन्, ‘उनी बितेदेखि दु:खका दिन सुरू भए।’ बोल्न र सुन्न नसक्ने अशोक मिस्त्री काम गर्थे। अल्पायुमै उनको मृत्यु भएपछि परिवारले सहारा गुमाएको हो।
जसोतसो दुई छाक टार्दै आएको पासमान परिवारले विरामी छोराको उपचार गर्न सकेको छैन। सुनिताले भनिन्, ‘भाडा माझेर दुई छाक टार्दै आएकी छु। छोराको उपचार गर्ने पैसो छैन।’ रोहित पहिलेदेखि नै दुब्ला थिए। दिनहुँजसो उनको शरीरको तौल घट्दै गएको छ।
‘आफैंले खान सक्दैन। उभिन पनि सक्दैन,’ उनले भनिन्। पासमान परिवारको नाममा रहेको छ धुर जग्गा पनि बाढीले बगाइदियो। घरमा गारो छैन। छाना गतिलो छैन, पानी पर्दा चुहिन्छ।
पैसा नभएकोले नातीको उपचार गर्न नसकेको रामपरीले बताइन्। ‘हामीसँग पैसा छैन। पैसा भए सरकारी अस्पतालमा भए पनि उपचार गर्न हुन्थ्यो,’ उनले भनिन्, ‘नातीको अवस्था झनै विग्रँदै गएको छ।’ यो गाउँमा रोहित मात्र होइन अरू पनि कुनै न कुनै प्रकारको अपांगताको शिकार हुँदै आएका छन्।