श्रीनेहा पोखरेल २५ वर्षकी भइन्। अविवाहित छन्। तत्काल बिहे गरिहाल्ने सोच पनि छैन उनको।
तर उनी ४५ जनाकी 'आमा' हुन्।
दस जना साना नानीबाबु र ३५ जना अधवैंशे महिलाहरूले उनलाई 'आमा' भन्छन्।
कुसुन्ती हाइटस्थित 'नेपाल स्नेही काख' की सह–सञ्चालक श्रीनेहाले बाटोमा अलपत्र भेटिएका मानसिक रोगीहरूलाई साहारा दिँदै आएकी छन्। उनको माया र स्नेहकै करण उद्धार भएका केटाकेटी र उनकै आमा उमेरका महिला पनि श्रीनेहालाई आमा भनेर बोलाउँछन्।
आफ्नो करिअर र आर्थिक अवस्था बलियो बनाउन लागि पर्ने उमेरमा श्रीनेहा भने बिरामी र बालबच्चाको उद्धारमा हिँडिरहेकी छिन्। आफ्नो जीवन उनीहरूकै सेवामा समर्पित गर्ने सोच छ उनको।
भन्छिन्, 'यो उमेरमै म धेरैकी आमा भएकी छु। आमा भनेको विश्वास हो। म उहाँहरूको विश्वास डगमगाउन दिन्नँ।'
श्रीनेहाले १६ वर्षको उमेरमै यो संस्था खोलेकी हुन्। १४ वर्षदेखि नै समाजसेवामा लागेको बताउँछिन्। मध्यम वर्गीय परिवारमा हुर्केकी श्रीनेहा सानैदेखि आफ्नी आमाको कामबाट प्रभावित थिइन्। दुखीलाई मद्दत गर्ने र आफूले वरिपरि देखेका समस्या सल्टाउने काम गरिरहेकै हुन्थिन्।
'मेरो आमा समाजसेवी हुनुहुन्थ्यो। उहाँले गर्नुभएको काम देखेर ममा पनि सहयोगको भावना जाग्थ्यो,' उनले भनिन्, 'आमाकै कारण म सामाजिक कार्यमा सक्रिय थिएँ।'
किशोरावस्थामै आमाको काम पछ्याउँदै आए पनि उनको जीवनको पहिलो उद्धेश्य यो थिएन। मोडलिङको 'भूत' चढेको थियो उनलाई। राम्रो कपडा लगाउने, चिटिक्क परेर हिँड्ने खुब सोख राख्थिन्। त्यो रहर पूरा गर्न उनले केही सुन्दरी प्रतियोगितामा भाग लिइन्। उपाधि पनि जितिन्। यसले उनलाई मोडलिङ र नाटक क्षेत्रमा पनि अघि बढ्न हौसला मिल्यो।
उनको मन 'ग्ल्यामर' संसारमै झुम्मिएको थियो। मोडलिङमा नाम कमाउन अघि बढिरहेकी श्रीनेहाका निम्ति समाजसेवा वैकल्पिक क्षेत्र थियो।
एक दिन उनको जीवनमा 'टर्निङ प्वाइन्ट' आयो। र, यसको कारण थियो रवि (नाम परिवर्तन)सँगको भेट।
रवि मानसिक सन्तुलन गुमाएका व्यक्ति थिए। घरबार थिएन। बाटोमा अलपत्र अवस्थामा बसिरहेका उनलाई श्रीनेहाले आफ्नो घरनजिकै भेटाइन्। च्यातिएका लुगा, फोहोर कपाल, गन्हाउने ज्यान र बेहोसी दिमाग लिएर भौंतारिँदै हिँडेका रविनजिक कोही जान्थेन। 'दिमाग ठीक नभएको' मान्छेसामु जाने हिम्मत कसैको हुन्थेन।
यही आँट श्रीनेहाले देखाइन्। रविसामु खाना लिएर गइन्। कति दिनदेखि भोको पेटले थर्थराएका रविले श्रीनेहातिर हेर्दा पनि नहेरी खाना लिए।
रविको अवस्था देखेपछि त्यहाँबाट आफू यसै मोडिन नसकेको श्रीनेहा बताउँछिन्।
'मैले तुरुन्तै आफ्ना दाइहरूलाई बोलाएँ र रविको कपाल-दाह्री काटिदिन सैलुन लान खोजेँ,' उनले भनिन्, 'तर उनले हत्तपत्त कसैलाई आफ्नो वरिपरि पर्नै दिन्थेनन्।'
आक्रामक स्वभावका रविलाई अन्जान मान्छेका अगाडि लैजान डर थियो। त्यसैले श्रीनेहाका दाइहरूले घरै लगेर रविलाई नुहाइधुवाइ गरिदिए। सफा बनाएर अस्पताल लगे। उनको उपचार सुरू भयो।
'मैले बाटामा भेटेको रवि र नुहाइधुवाइपछिका रविमा आकाश-पातालको फरक भयो,' श्रीनेहा भन्छिन्, 'उनलाई हेरेर कसैले मानसिक रोगी हो भन्न सक्थेन।'
यतिले कहाँ पुग्थ्यो र! बाटोबाट ल्याएर चिटिक्क पारेर उपचार सुरू गरिएका रविलाई फेरि बाटामै छोडे केही अर्थ थिएन। श्रीनेहाको मन मानेन। रविलाई उनी सधैंभरी आफ्नै घरमा राख्न पनि सक्थिनन्।
अनि सुरू भयो रविका लागि 'घर' बनाउने सपना। श्रीनेहाले आफ्ना साथी केशव प्रसाद रिजाल र अरू सात जनासँग मिलेर संस्था स्थापना गर्ने भइन्। १६ वर्षको उमेरमै नाफारहित संस्था सञ्चालन गर्नु चुनौती भएको उनी बताउँछिन्।
संस्था स्थापना गर्न आवश्यक आर्थिक अवस्था, व्यवस्थापन, कानुनी कुरा लगायत कुनै ज्ञान थिएन श्रीनेहालाई। न नाटक कलाकारका रूपमा काम गर्दै आएका उनका साथी केशवलाई नै जानकारी थियो।
उनीहरू पछि हटेनन्।
रविजस्ता थुप्रै बेघर मानसिक रोगीलाई उद्धार गर्ने र उनीहरूका लागि 'घर' बनाउने अठोट लिइसकेका यो टोली संस्था खोल्न लागि पर्यो।
हरेक पाइलामा अवरोध भने आइरह्यो।
'मुख्य समस्या आर्थिक स्थितिमा थियो,' केशव भन्छन्, 'घरपरिवारले अलिअलि सहयोग गरे पनि सबै खर्च जुटाउन हम्मे पर्यो। पहिले काम गर्दा कमाएको पैसा लगाएर गर्दै गयौं।'
कमजोर आर्थिक अवस्था त निजी समस्या थियो। संस्था खोल्ने भनेपछि पाएको सामाजिक अवहेलना उनीहरूका लागि कठिन परीक्षा बन्यो।
'मानसिक रोगीको लागि संस्था खोल्ने भन्दा कसैले जग्गा भाडामा दिएनन्,' श्रीनेहाले भनिन्, 'दिइहाले पनि भाडा तीनगुणा बढाएर भन्थे। बिरामीले फोहोर गर्दिने डरले आफ्नो जग्गामा यस्ता संस्था खोल्नै दिँदैनन्।'
कतै ठाँउ नपाएपछि श्रीनेहा र केशवले जुक्ति फुराए। कुसुन्ती हाइटस्थित फोहोरको डंगुर चुलिएको एउटा जग्गा हेरे। टोलभरिको फोहोर फालिएको, त्यहीँ माथि ढल बग्ने जग्गा। उपाय केही बाँकी थिएन। यहीँ संस्था खोल्ने निधो गरे। सबै फोहोर आफैंले सफा गरेको उनीहरू बताउँछन्।
अनि त्यहीँ बन्यो रवि जस्ता मानसिक रोगीहरूको 'घर'।
घरले नाम पायो 'नेपाल स्नेही काख'।
संस्था खुलेपछि उनीहरूले समस्या केही हलुका हुने आशा गरे। तर भ्रम मात्र भयो। मानसिक सन्तुलन गुमाएकाहरू आफ्नो घरनजिकै आएको थाहा पाएपछि वरिपरिका मान्छेले अप्रत्यक्ष रुपमा विरोध गर्न थाले।
श्रीनेहा भन्छिन्, 'प्रयोग भएका प्याड र फोहोरका पोका कम्पाउन्डभित्र फ्याँक्दिने समस्या सामान्य भइसकेको थियो। कसलाई गाली गर्ने, के भनेर उजुरी हाल्ने, केही उपाय थिएन।'
तर हार नमान्नेहरूको सफलता पाउँछन् भनेझैं भयो।
'एक दिन छिमेकीले संस्थाभित्रका एक जना मानसिक सन्तुलन गुमाएका बिरामीमा सुधार भएको देखेछन्। यसपछि दुर्व्यवहार कम हुन थाल्यो,' श्रीनेहाले सुनाइन्।
यसरी धेरै कठिनाइ पार गर्दै उनीहरूले कामलाई निरन्तरता दिइरहे। बाटोमा अलपत्र बसिरहेका, बेहोसीमा हिँडिरहेका र समाजबाट बहिस्कार भएका मानसिक रोगीलाई उपचार गरी सहारा दिनु उनीहरूको दिनचर्यै बन्यो। प्रहरी र अरू कुनै समूहले फोन गरेर बोलाएपछि उनीहरू गएर मानसिक रोगीलाई नियन्त्रणमा लिने गरेको केशव बताउँछन्।
'कोही रोगी घरबाट नै भाग्नु भएको हुन्छ। त्यस्तो अवस्थामा बिना अनुमति हामीले नियन्त्रणमा लियौं भने अप्ठ्यारो पर्नसक्छ,' उनले भने।
'ग्ल्यामर' संसारमा डुब्ने सोच बनाएकी श्रीनेहाले आफ्नै जिम्मेवारीमा काम गर्न थालेपछि यो क्षेत्रको गहिराइमा डुब्दै गइन्।
'सामाजिक कार्य भन्दा जति सजिलो सुनिन्छ, काममा उतार्न त्यत्ति नै गाह्रो छ,' उनी भन्छिन्, 'झन् मानसिक सन्तुलन गुमाएकाहरूलाई सम्हाल्न सोचेभन्दा बढी मुश्किल हुन्छ।'
यस्ता कठिनाइ उनले झेलेकी छन्।
'आक्रामक स्वभावका रोगीले चिथोर्ने, भुताल्ने, ढुंगा हान्ने गर्नुहुन्छ। अब त सामान्य भइसके यी कुरा पनि। एक जनाले त हातमा टोकिदिनुभएको थियो,' उद्धारका क्रममा मानसिक रोगीले टोकिदिएको घाउको दाग देखाउँदै उनले भनिन्। तर यस्ता घटनाले आफूलाई फरक नपार्ने उनी बताउँछिन्।
श्रीनेहाका अनुसार उद्धार गरिएकाको स्वास्थ्य सुधार भएपछि संस्थाले घरपरिवारलाई जिम्मा दिने गरेको छ। बेघरहरूलाई साना हस्ताकला काममा संलग्न गराइएको छ। उनीहरूले अहिलेसम्म १० जना केटाकेटी, ३५ महिला र १८ पुरुषको उद्धार गरिसकेको उनले बताइन्।
सडकमा अलपत्र परेका मानसिक बिरामीलाई सहारा दिन खोलिएको संस्थाले समयक्रममा बिरामीका बालबच्चालाई पनि आश्रय दिन थालेको हो।
उनका अनुसार मानसिक रोगको शिकार पुरुषभन्दा महिला बढी हुन्छन्। घर र समाजबाट पाएको हेलाले दिमागमा चाँडै असर पर्ने हुनाले महिलाहरू बढी पीडित भएको उनको बुझाइ छ।
'मानसिक सन्तुलन गुमाएका महिलालाई एकदमै जोखिम छ। जहाँ पनि बलात्कृत हुन्छन्। गर्भवती हुन्छन्। आफ्नै ज्यानको हेरचाह गर्न नसक्ने अवस्थामा बच्चाको जीवन के होला। त्यसैले बिरामी आमाका बच्चाको पनि स्याहारसुसार गर्छौं,' उनले भनिन्।
कतै मानसिक रोगी आमा र बच्चाको बिच्चली भएको खबर सुने श्रीनेहा कुदिहाल्छिन्। केही समयअघि मात्र पशुपति मन्दिरको डम्पिङ क्षेत्रमा १५ दिनको शिशु भेटिएको खबर आएको थियो। श्रीनेहा आफ्नो टिमसँग पुगिन्।
'प्लास्टिकमा पोको पारेर फोहोरको थुप्रोमा फालिएको शिशुको अवस्था नाजुक थियो। उद्धार गरी बच्चालाई अस्पताल लग्यौं। डाक्टरहरूले बाँच्ने आशा नराख्नू भनिसकेका थिए,' उनले त्यो दिनको घटना सुनाइन्, 'भाग्य नै हो, शिशुको स्वास्थ्य सुधार भयो।'
श्रीनेहाका अनुसार उपचारको खर्च उनैले बेहोरिन्। बाँकी टिम शिशुको आमाको खोजीमा लागे। पछि थाहा भयो, आमा मानसिक रोगी रहिछन्।
'यस्ता थुप्रै बिरामी आमाले सडकमा बच्चा छोड्छन्। हामी ती बच्चाको उद्धार गर्छौं,' उनले भनिन्, 'यी नानीबाबु अरूझैं स्वस्थ र सामान्य हुन्छन्।'
यी केटाकेटीलाई आफ्नो जन्म दिने आमाबारे थाहा छैन। सायद कहिल्यै चिन्दैनन् पनि। उनीहरू श्रीनेहालाई नै आमा भन्छन्।
'जन्म नदिए पनि मलाई आफ्नै सन्तान जस्ता लाग्छन्,' श्रीनेहा भन्छिन्, 'कति मान्छे 'बच्चा दिनुहोस्' भन्दै अपनाउने प्रस्ताव लिएर आउनुहुन्छ। यी केटाकेटीको भविष्यका लागि राम्रै होला पनि। तर सानैदेखि आफैंले हुर्काएका बच्चा चटक्क अरुलाई दिन मन मान्दैन रहेछ।'
श्रीनेहा र केशवका अनुसार बच्चाहरूको खानपिन र पढाइ खर्च आफूहरूले नै हेरिरहेका छन्। संस्था स्थापित भएलगत्तै थोरैथोरै आर्थिक सहयोग पनि आइरहेको छ।
'कोही आफ्नो जन्मदिन, घरपूजा वा कुनै शुभदिन पारेर संस्थालाई सहयोग गर्नुहुन्छ,' केशवले भने, 'तर थुप्रै व्यक्तिले लोकप्रियता पाउने वा डलर कमाउने लोभमा संस्था खोलेको आरोप पनि लगाउनु हुन्छ।'
नेपालमा मानसिक रोगको उपचार महँगो भएकाले आर्थिक समस्या झेल्नु परेको उनीहरू बताउँछन्।
'आर्थिक स्रोत बलियो नहुँदा बिरामीको हेरचाहमा समस्या आउने रहेछ,' श्रीनेहा भन्छिन्, 'तर जत्तिनै दुःख भए पनि मेरा बालबच्चालाई म अलपत्र छाड्दिनँ।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी