पोखराको न्युरोडमा मंगलबार दिउँसो एस मिनी मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ।
पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन्।
दिउँसो ४ बजेदेखि सुरू भएको आगलागी २ घण्टापछि नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट मिनी मार्केटका कार्पेट, फम हाउस, चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसल गरी ७ व्यवसायीका २३ वटा सटरमा पूर्ण क्षति भएको कास्कीका प्रहरी प्रमुख एपी दानबहादुर कार्कीले जानकारी दिए।
उनले पसलमा मूल्यवान् सामग्री भएको भन्दै क्षतिको विवरण नआएको बताए।
आगलागीबाट मिनी मार्केटभित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् भने आसपासका शिव शक्ति फर्निचर लगायतका सटरबाट स्थानीय र प्रहरीको सहयोगबाट सामान निकालेर सडकमै राखिएका थिए।