आजभन्दा डेढ दसकअघि मनोज दत्तलाई तत्कालीन सुरक्षाकर्मीले कटैया चौरीस्थित घरमा खाना खाइरहेकै बेला ‘सोधपुछ गर्नु छ’ भनी घरबाट लग्यो। त्यो दिन थियो २०६० साल असोज २५ गते।
तर सोधपुछकै लागि लगिएका मनोजलाई भने फेरि हेर्न पाएनन् उनका परिवारले।
मनोज दत्त बेपत्ता भएको १६ वर्ष भइसकेको छ तर उनी परिवारका लागि न जीवित छन् न त मृत नै।
बेपत्ता भएको दसकभन्दा बढी बितिसके पनि न त सरकारले कुनै खोजबिन गर्यो न त खोजबिनका लागि कुनै पहल नै।
मनोजकी श्रीमती अञ्जु दत्त भन्छिन्, ‘जसका लागि श्रीमानले घरपरिवार नभनी दिन रात संघर्ष गर्नुभयो आज उनैले उनको वेवास्ता गरेका छन्।’
श्रीमान् बेपत्ता भएको १६ वर्ष बित्दासम्म उनको अवस्थाबारे पत्ता लगाउन कसैले चासो नदिँदा दत्तको परिवार आफैंले आफैंलाई सान्त्वना दिँदै आएका छन्।
‘बेपत्ता श्रीमान् खोजी दिन माग गर्दै सबैतिर धाएँ’, अञ्जुले भनिन्, ‘खोजीमा कसैले चासो नदिँदा श्रीमानको न सास पाइयो न लास, अब त आश पनि छैन।’
‘उहाँले भन्नुहुन्थ्यो हामी चाँडै निरंकुश सरकारबाट मुक्त हुन्छौं तर मलाई के थाहा यो निरकुंशतन्त्रभन्दा पनि असह्य दुःख हुन्छ हाम्रो लागि’, अञ्जुले थपिन्।
श्रीमानको खोजी गरिदिनका लागि कैयौं पटक काठमाडौं र तत्कालीन माओवादी कार्यालयसम्म धाइसकेको अञ्जुले बताइन्।
मनोजसहित बेपत्ता पारिएकाहरूको अवस्थाबारे जानकारी गराउन माग गर्दै थर्ड एलायन्स, इन्सेकसहितको मानवअधिकारवादी संघसंस्थाले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेललाई ज्ञापनपत्र बुझाएका छन्।
‘विभिन्न संघ संस्थाले जहाँ/जहाँ बोलाउँछ, त्यहाँ/त्यहाँ जान्छु,’उनले भनिन्,‘सबैले आश्वासन दिए, धैर्यता राख्न मात्रै भने, कसैले मेरो श्रीमानको पत्ता लगाई दिएनन्।’
दत्तको परिवारले सामान्य रूपमा संघ संस्थाबाट आर्थिक सहयोग पाए पनि सरकारी पक्षबाट केही पाउन सकेका छैनन्।
‘ऋण गरेर भए पनि जेनतेन छोराछोरीलाई क्याम्पससम्म पढ्ने बनाएँ’ उनले भनिन्, ‘अब पनि यही अवस्था रहे छोराछोरीको अगाडिको शिक्षाका लागि सायद म असमर्थ हुनेछु।’
यहीँ पीडाबाट सृजना शाही समेत गुज्रिरहेकी छिन्।
धनुषाकै मिथिलानगरपालिका लागढ़ घर भएकी सृजनाको आँखा अगाडिबाटै उनको श्रीमान् अमर विकलाई तत्कालीन १० वर्षे जनयुद्धमा रहेका माओवादीले उठाएर लगेका थिए।
शान्ति सम्झौताको यतिका वर्ष बितिसके पनि श्रीमान् जीवित छन् वा उनको हत्या गरियो भन्ने सृजनालाई केही पनि थाहा छैन।
‘शान्ति सम्झौता भएपछि बेपत्ता पारिएकाहरूको खोजबिनका लागि गठित आयोगले पनि कुनै निष्कर्ष दिएनन्। हामी कहिलेसम्म आफन्तका लागि कुर्नुपर्ने हो थाहै छैन’, सृजना भनिन् ।
तत्कालीन माओवादीले थालेको सशस्त्र द्वन्द्वकालमा राज्य र विद्रोही पक्ष गरी प्रदेश २ को विभिन्न जिल्लाहरूबाट व्यक्तिहरू बेपत्ता पारिएका थिए। जसमध्ये सप्तरीबाट २८, सिरहाबाट ३७, धनुषाबाट ११ जना बेपत्ता पारिएका थिए। धनुषाको ५ जनाको कंकाल केही वर्षअघि भेटिएको थियो। त्यसैगरी महोत्तरीबाट ११ जना बेपत्ता पारिएका थिए भने सर्लाहीबाट १७ जना, रौतहटबाट २० जना, बाराबाट १२ जना र पर्साबाट १७ जना गरी कूल १ सय ४८ जना बेपत्ता पारिएका थिए।
१२ वर्षे सशस्त्र जनयुद्धको क्रममा आफ्ना आफन्त बेपत्ता पारिएकाहरूको खोजबिनका लागि मानव अधिकारवादी संघ/संस्था, बेपत्ता आयोग र सरकारले समेत उचित पहल नगरेको पीडित परिवारको आरोप छ।
बेपत्ता पारिएका आफन्तको लाश वा सास नभेटिएसम्म खोजी गरी नै रहने उनीहरूको भनाइ छ।