शैक्षिक, व्यवस्थापकीय र भौतिक रुपमा परिपूर्ण रहेका सामुदायिक विद्यालयलाई सरकारले स्मार्ट स्कुलको रुपमा घोषणा गर्दै आएको छ।
एक महिनाअघि धनुषाको सामुदायिक विद्यालय संकट मोचन देव शरण रामरति माविलाई समेत स्मार्ट विद्यालयको रुपमा घोषणा गरियो।
संकट मोचनलाई स्मार्ट विद्यालयको रुपमा घोषणा गरिँदा विद्यार्थीमा खुसीको सीमा थिएन तर अहिले भने ती विद्यार्थी नै आफ्नो विद्यालय स्मार्ट बनेकोमा निराश छन्। कारण विद्यालय स्मार्ट बनेपनि अध्यापन गराउने शिक्षक/शिक्षिकाहरु स्मार्ट बन्न नसक्नु।
सुरज साह कक्षा १०मा अध्ययनरत छात्र हुन्। उनी भन्छन् ‘सरकारले विद्यालयलाई स्मार्ट बनाए पनि यहाँ पढाउँदै आएका शिक्षक÷ शिक्षिकालाई स्मार्ट बनाउन सकेन,’
कम्प्युटरबाटै पढ्न पाइने भएकाले सुरुमा खुसी लागे पनि अहिले भने आफूहरुलाई झन् समस्या भएको उनले बताए। ‘यसले शिक्षक/शिक्षिकाहरुलाई मात्रै सहज भएको छ, पहिले पाठ्यक्रम पठाउँदा उहाँहरुलाई व्याख्या गर्नुपर्थ्लयो तर अहिले कम्प्युटर चलाई दिनुहुन्छ र कक्षाकोठाबाट निस्कि हाल्नुहुन्छ हाम्रा शिक्षकहरु स्मार्टभन्दा सुस्त हुनुभएछ’ सुरजले भने।
अहिलेको पढाउने तरिकाभन्दा पहिलाकै राम्रो रहेको उनको अनुभव छ। ‘कुनै कुरा नबुझ्दा सरहरुसँग प्रत्येक्ष सोध्न सक्थ्यौँ अहिले त कम्प्युटर चलाउनु हुन्छ र कक्षाबाट हिँडिहाल्नुहुन्छ’ उनले भने।
कक्षा १० मै अध्ययनरत छात्रा चाँदनी शाह भने स्मार्ट विद्यालयको छात्रा हुन पाएकोमा खुसी छिन्। ‘पहिले जेजति किताबमा उल्लेख छ वा जेजति सर वा म्याडमले हामीलाई जानकारी दिनुहुन्थ्यो, त्यति मात्रै बुझ्न पाउँथ्यौँ’ उनले भनिन् ‘अहिले सहज भएको छ किनभने कुनै एउटा निबन्धकार वा लेखक वा अन्य कुनै कुरा बारे जानकारी लिनुपर्ने हो भने नाम मात्रै लेखिदिएपछि सबै सर्रर आउँछ।’
तर शिक्षकहरु नै स्मार्ट बोर्ड बारे पोख्त नभएका कारण १०/१५ मिनेट जतिको समय सधैँ खेर गइरहेकोमा चाँदनीलाई पठनपाठन समयमै सक्नेमा चिन्ता पनि छ।
उनी भन्छिन् ‘सर/म्याडम पहिलेदेखि नै पोख्त भईसकेको भए खेर गएको समयमा हामीले अझ बढी नयाँ कुरा सिक्ने मौका पाउँथ्यौँ।’विद्यालयका प्रधानाध्यपक बलिराम साह विद्यालय जस्तो शिक्षकहरु स्मार्ट हुननसकेको स्वीकार्छन्।
उनी भन्छन् ‘हामीसँग प्रविधिहरु छन् तर विद्यालयमा अध्यापन गराउने सबै शिक्षकहरुलाई प्रविधिसँग जोडि़एर पढाउन आउँदैन् जसकारण विद्यालयलाई स्मार्टमोड़मा पढ्न अझै पनि समस्या छ।’
विद्यालयको ल्याबमा जम्मा २४ वटा कम्प्युटर छन् तर प्राक्टिकल गराउने जम्मा एक जना शिक्षक मात्रै छन् जसले गर्दा प्रायः विद्यार्थीहरु प्रविधि चलाउनबाट वञ्चित नै हुन्छन्।
कक्षा १०का छात्र शनि कर्ण भन्छन् ‘विद्यार्थीहरुकै सहजताका लागि प्रविधिमैत्री कक्षा बनाइएपनि दक्ष शिक्षकहरु नभएकै कारण हामीले न ल्याबमा प्राक्टिकल गर्न सक्छौँ, न स्मार्ट बोर्डको माध्यमले राम्ररी पढ्न नै सक्छौँ।’
संकट मोचनलाई स्मार्ट स्कुलको रुपमा घोषणा गरिए पनि यहाँ प्रविधिबारे जानकारी भएका पर्याप्त शिक्षक नहुँदा विद्यालयमा रहेको स्मार्ट बोर्डमा पठनपाठन गराउन भने शिक्षकहरुलाई समस्या हुँदै आएको छ।
प्रधानाध्यापक साहले शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन तालिमको व्यवस्था गरिदिनका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए।
शिशु कक्षादेखि १२ कक्षासम्म अध्यापन हुने उक्त विद्यालयमा कुल २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् भने शिक्षकहरुको संख्या मात्र ३४ छ।
विद्यार्थी संख्याको अनुपातमा शिक्षकको संख्या समेत एकदमै न्युन रहेको प्रधानाध्यापक साह बताउँछन्। विद्यालयमा विद्यार्थीको संख्या उच्च भएपनि शिक्षक संख्या ज्यादै नै कम छ जसले गर्दा हामी पार्ट टाईमर शिक्षकहरु राख्ने गरेका छौँ’ उनले भने।
रिक्त रहेका शिक्षकहरुको दरबन्दीका लागि स्थानीय निकायसँग माग समेत गरिएको र चाँडै नै परिपूर्ति गरिने आश्वसन समेत आफुले पाएको प्रधानाध्यापक साहले बताए।