जनकपुरधामका ३२ वर्षीय युवा रंजित साहले सगरमाथा आधार शिविरसम्मको साइकल यात्रा थालेका छन्।
तराई–पहाड र हिमालबीच सदभाव बढाउने उद्देश्यका साथ उनले जनकपुरधामदेखि आधार शिविरसम्म साइकल यात्रा थालेका हुन्।
‘तराई पहाड हिमाल, हाम्रो मातृभूमि नेपाल’ नाराका साथ उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म साइकल यात्रा गर्न लागेका हुन्।
रंजित भन्छन्, ‘तराई, पहाड र हिमाली समुदायबीच भाइचाराको सन्देश दिन साइकल यात्राको सुरुवात गरेको छु।’
भदौ ९ गते जानकी मन्दिरमा पूजा गरेपश्चात रंजितलाई जनकपुरधामका केही युवाले मिथिलाको पहिरन पाग लगाएर विदाइ गरे।
सिन्धुलीस्थित कालिञ्चोक भगवती र काठमाडौंमा पशुपतिनाथको पूजा गरेपछि सिन्धुलीको खुर्कोट पुगेर रंजितले औपचारिक यात्रा आरम्भ गर्नेछन्।
पहिलो चरणको आधार शिविर यात्रापछि उनले दोस्रो चरणमा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका छन्।
यसअघि दर्जनौं स्थानमा उनले साइकलबाटै यात्रा गरेका छन्।
उनले २०७२ भदौ २१ गते जनकपुरधामदेखि काठमाडौंको पशुपतिनाथसम्म २५० किलोमिटर यात्रा एक दिनमै तय गरेका थिए।
सो वर्ष असोज ७ गते जनकपुरधामदेखि खोटाङको हलेसी महादेवसम्म साइकल यात्रा गरेका थिए।
उनले जनकपुरधामदेखि मुस्ताङको मुक्तिनाथ तथा ताप्लेजुङको पाथिभरासम्म साइकलबाटै यात्रा गरेका छन्। त्यस्तै भारत उत्तर प्रदेशको अयोध्या हुँदै लखनऊसम्म साइकलबाट धार्मिक यात्रा गरेका छन्।
वर्षको ११ महिना जनकपुरधामस्थित बसपार्कमा पान पसल चलाउँदै आएका रंजित एक महिना कुनै नयाँ स्थानको भ्रमणका लागि साइकल यात्रामा निस्कने गरेका छन्।
रंजित सिन्धुलीको खुर्कोट पुगेपछि सगरमाथा बेस क्याम्पका लागि प्रस्थान गर्नेछन्। खुर्कोटबाट घुर्मी हुँदै ओखलढुंगा, सोलु, सल्लेरी थांगदिङ, लुक्ला, नाम्चे हुँदै बेस क्याम्पसम्म पुग्नेछन्।
साइकलबाटै बेस क्याम्पसम्म पुग्न सकिन्छ त? भन्ने प्रश्नमा उनी भन्छन् ‘यात्राका लागि निस्किसकेको छु जतिसुकै चुनौती आए पनि पछाडि हट्दिनँ, साइकल बोकेर होस् वा चढेर होस् लक्ष्य हासिल गर्ने नैछु।’
सगरमाथा बेस क्याम्पको यात्रामा निस्केका उनले बास बस्नका लागि भने कुनै खास ठाउँ रोजेका छैनन्।
उनी भन्छन् ‘यात्रा गर्दै जानेछु जहाँ रात पर्छ त्यही ठाउँमा बास बस्ने योजना बनाएको छु।’