मंगली जलारी पोखराको नयाँबजारमा जन्मिएकी हुन्। उनलाई आफ्नो जन्ममिति ठ्याक्कै थाहा छैन। तर उति बेला जन्मिने हजुरआमाहरूले जस्तै भन्छिन्, 'मलाई ९० सालको भुइँचालो अलि अलि याद छ।'
यो हिसाबमा उनी ९० वर्ष हाराहारी पक्कै भइन्।
उनका बुबाको नाम कालु, आमाको सामू।
'पहिले-पहिले हाम्रो थर पोडे राख्थ्यो। अचेल जलारी भन्न थालेका छन्,' उनले भनिन्।
हाम्रो कुराकानी सुनिरहेका मंगलीका कान्छा छोरा ज्ञानबहादुर जलारीले प्रस्ट्याए, 'पोडे हाम्रो पुरानो थर हो। पहिले पनि जलारी त भन्थे, तर हाम्रा पूर्वजहरूले जलारी भन्न नजानेर पोडे नै भन्थे। अहिले बच्चाहरूले पोडे भन्दा उनीहरूलाई स्कुलमा हेप्ने, छुवाछुतको कुरा उठाउने भएकाले हिनताबोध भयो। कतै साथीभाइसँग जाँदा पनि कोही कोहीले छोएको नखाइदिने भए।'
छुवाछुत गर्न कानुनले रोक लगाएको उहिल्यै हो। अझै पनि समाजमा यो कुचलन जिउँदै रहेको ज्ञानबहादुर बताउँछन्। शिक्षित व्यक्तिहरू भएको ठाउँमा धेरै नभए पनि गाउँघरमा व्याप्त रहेको उनले बताए।
'परापूर्वकालदेखि नै पोडे भनेको माछा मार्ने समुदाय हो। माछा मारेर मात्र जीविका नचल्ने हुनाले सरसफाइको काम पनि गर्छन्,' उनले भने।
सेतै फुलेको कपाल, मसिनो शरीर, हँसिली मंगलीलाई आफ्नो बिहे कहिले भयो, याद छैन। १८/१९ वर्षकी हुँदा भएको भन्छिन्।
त्यो बेलाको चलनअनुसार मागी विवाह भएको थियो। श्रीमान उनीभन्दा ६-७ महिना जेठा। मंगलीका दुई छोरा र एक छोरी छन्। छोरी नौ महिनाकी हुँदा श्रीमान बिते। युवाअवस्थामै श्रीमान बितेपछिका दिन कठिन थिए। अहिले पनि उनी ती दिन कसैले नकोट्याइदिए हुन्थ्यो भन्ने ठान्छिन्।
'यो छोरा (कान्छा)ले बाउ चिन्दैन थियो, छोरी सानी। बुढा बितिहाले। दुःखको कुरा सम्झिन हुन्न बा मलाई, आँशु आउँछ।'
बिहे हुनेबित्तिकै उनकी आमाको मृत्यु भएको थियो। बुबा बितिसकेका थिए। श्रीमान पनि नभएपछि साह्रै पीडा भयो। कलिलो उमेरमै आफ्ना नजिकका मान्छे गुमाएकी मंगली विछिप्त भइन्। तीन सन्तानको जिम्मेवारी एक्लो काँधमा आयो।
अर्को बिहे गर्न मन लागेन?
'बाउआमाले दिएको मान्छे नभएपछि अन्त जान इच्छा लागेन। एउटाले मलाई फकाएको थियो। मैले 'हिरा जस्ता दुइटा छोरा र छोरी छन्। यस्तो कुरा गर्नुहुन्छ, पछि छोराहरूले हेला गर्छ। हेला त सहुँला यी छोरा छोडेर जानुपर्यो भने म सिधै मर्न जाम्ला नि' भन्दिएँ,' छोराहरूको मायामै उनले खुसी देखिन्।
जीवनको नौ दशक पार गरेकी मंगली छोरा ज्ञानबहादुरसँगै पोखरा, लेकसाइडको खहरेमा बस्छिन्। वरिपरि नातेदारहरूका घर छन्। ज्ञानबहादुरका अनुसार तालको सेरोफेरोमा ९१ घरपरिवार जलारीहरू छन्। थपौने, तामे र तालको छेउछाउ बस्ने जलारी परिवारको संख्या ४/५ सय हाराहारी छ।
उनीहरूको यो घरजग्गा जोडेको पनि माछा बेचेरै हो। यहाँबाहेक अन्त पनि जग्गा भएको मंगली बताउँछिन्। नयाँबजारको अलिकति जग्गा भने श्रीमानको मृत्युपछि बेचे। १२ हजार प्रतिरोपनीले दुई/तीन रोपनी बेचेको रहेछ। उहिल्यै सस्तोमा दिनुपरेको जग्गाको भाउ बढेको सम्झिएर उनको मन कटक्क हुन्छ।
'माछा बचेर नि धेरै आम्दानी हुँदो रहेछ नि' भनेर सोध्दा उनी भन्छिन्, 'उ बेलामा सस्तो थियो। अहिले त कहाँ किन्न सकिन्छ र? बाहुनहरूले 'कान्छी, यो जग्गा राख, कोदो-मकै खानहुन्छ छोराछोरीले' भनेर दिन्थे पनि।'
कुराकानी गर्दागर्दै 'उपहार सहकारी'की कर्मचारी पैसा उठाउन आइपुगिन्। हामी घरबाहिरै बसेर कुरा गरिरहेका थियौं, मंगली भित्रबाट पैसा लिएर आइन्।
हातमा सय रूपैयाँ देखेर मैले सोधेँ, 'महिना-महिनामा जम्मा गर्ने हो?'
'हैन, दिनदिनै। भएदेखि दिनै, नहुँदा नराखौं भने पनि हुन्छ,' आफ्नो बचतबारे मंगलीले जवाफ दिइन्।
बुहारी चिनमायाका अनुसार मंगलीले पैसा जम्मा गर्न थालेको दस वर्ष जति भयो। चाहिएका बेला निकाल्ने गरेको सहकारीकी कर्मचारीले बताइन्।
'दसैं आउँछ, पैसो चाहियो नि। टीका लाइदिएर सय-डेढ सय दिन परेन त बच्चाबच्चीलाई,' मंगलीले जम्मा गरेको पैसा झिक्नुका कारण खुलाइन्।
छोराबुहारीसँग पैसा माग्ने इच्छा हुँदैन रे उनलाई। पहिले घरको सबै कामकाज उनकै हातमा थियो। अहिले बुहारीलाई सुम्पिएको बताउँछिन्।
'आफूसँग भएको जस्तो अरूसँग भएर हुन्न नि। माग्न पनि मन लाग्दैन। यताउता गरेर आएको पैसा जम्मा गरेको। कोठाको भाडा लिन्छु, आफैं राख्छु। मलाई खर्च गर्न चाहियो नि,' आफ्नो आवश्यकताको जोहो गरेर स्वनिर्भर बन्न जानेकी छन् मंगलीले।
उनीहरूको कमाइको अर्को स्रोत माछा मार्ने जाल बुन्नु थियो।
'सिक्लेसतिर गएर 'पुसा' ल्याएर जाल बुनेर बेच्थ्यौं,' उनी सुनाउँछिन्।
उनका अनुसार पुसा भनेको चाल्ने सिस्नु (ठूलो पात भएको)बाट निकालिएको रेसा हो। यसबाट धागो कातेर माछा मार्ने जाल बुनिन्छ। पाँच हाते सानो जाल ५ रुपैयाँ र छ हाते ठूलो जाल ७ रुपैयाँमा बेचिन्थ्यो। छिटो-छिटो बुन्नेले सानो जाल १५ दिनमा र ठूलो एक महिनामा बुनिसक्ने उनी बताउँछिन्।
उनीहरूले बनाउने जाल कम्ता मिहेनतले बन्दैनथ्यो। सिक्लेसको जंगलमा चाल्ने सिस्नो टिप्न गयो। टुक्रा-टुक्रा काट्यो र खरानी हालेर उमाल्यो। एकछिन उमालिसकेपछि 'देसी'(काठको मुङ्ग्रो)ले ठटायो। त्यति गरेपछि बोक्रा सबै जान्छ र भित्रको रेसामात्र बाँकी रहन्छ। त्यही रेसालाई पुसा भनिने रहेछ। त्यो पुसाबाट धागो कात्यो र जाल बुन्यो।
'सानो टुकी बालेर यो काठ (बरन्डाको खाँबो) मा यसरी बाँध्ने अनि हातले घुमाउने,' मंगलीले धागो कात्ने तरिका देखाइन्। अचेल उनीहरू जाल बुन्दैनन्। भारतबाट जाल ल्याएर गह्रुङ्गो बनाउन मुनिपट्टि शिशामात्रै हाल्छन्। धेरै मिहेनेत नपर्ने भएकाले पहिलाभन्दा सुख भएको मंगली बताउँछिन्।
यसरी बनाएको जाल खासरी मेलामा बेचिने रहेछ।
'सिमलचौरमा दोहोरी गीत गाउने मेला लाग्थ्यो। हाम्रो टोली नै बजार घुमेर बेच्थ्यौं,' उनले सुनाइन्, 'अनि जाल बुन्न नआउने वारिपारि टोलदेखि साँखे, भिमा, सुरुंगी (ठाउँका नाम) का गुरुङ, मगर र माझीहरू किन्न आउँथे।'
जाल बेचेको पैसाले ढुङ्गा-माटोले बनेको र खरले छाएको सानो घर चल्थ्यो। उनका बुबाको भने ठूलो आँटी छापेको घर थियो रे।
'मैले उति बेला त एउटा धोती पनि राम्रो किनेर लाइनँ नानी। दुःखैदुःख गरियो,' उनी सुनाउँछिन्।
उनका अनुसार जाल बुन्ने काम महिला-पुरुष दुवैले गरे पनि माछा मार्ने काम पुरुषहरूले गर्थे।
'हामी घरको काम गर्थ्यौं। माछा मार्ने र बाहिरका अरू काम बुढाहरूले गर्थ्यो। उ बेला त माछाको पनि थोरै पैसा आउँथ्यो, १० किलोको १५-२० रूपैयाँ मात्र।'
मंगलीको परिवारले माछा मार्ने विशेष ठाउँ फेवाताल, सुरिदी र थुन्चे खोला थिए।
'फेवातालमा त्यो बेला माछा मार्दा सरकारलाई केही बुझाउनुपर्ने थिएन। सुख थियो नि,' उनी भन्छिन्, 'माछै मारेर छोराहरू पढाएँ।'
उनका छोरा ज्ञानबहादुरले एसएलसी पास गरेका छन्। प्रविणता तह पढ्न थालेका रहेछन्, छाडेर माछा मार्ने काममै लागे। अहिले पनि उनको पेशा यही हो। मंगलीका नातिनीहरू कलेज पढ्ने भएका छन्। जेठा छोरालाई पनि स्कुल भर्ना गरिदिएकी थिइन् तर पढेनन् रे। छोरीले पनि नपढेको उनी बताउँछिन्।
जीविका चलाउने माछादेखि पिउने पानीसम्म मंगलीहरूलाई फेवातालले नै दिएको रहेछ। २०३२ सालमा जन्मिएकी मंगलीकी कान्छी बुहारी चिनमाया आफूहरू १४/१५ वर्षको हुन्जेलसम्म फेवाकै सफा पानी पिएको अनुभव सुनाउँछिन्। फेवामा जलकुम्भी पनि थिएन।
मंगलीको सम्झनामा त फेवाको सानो फाँटतिर अलिअलि कमेरोसमेत देखिन्थ्यो रे।
उनी कञ्चन फेवाको बयान गर्छिन्, 'तालमा छाल आउँदा मसिनो टल्किने बालुवा आउँथ्यो। हामी त्यही बालुवामा खेल्दै हिँड्थ्यौं। अनि अञ्जुलीले पानी उघाएर खान कति मीठो हुन्थ्यो। सबैले यहीँको पानी खान्थे। पछि सामुधारको कुलो (नहर) ल्यायो अनि ताल मैलो भएको हो के।'
फेवाको पानी खाने कुरा त अहिले दन्त्यकथा नै लाग्छन् हामीलाई। मंगलीलाई भने खुबै चिन्ता छ। त्यसैले हरेक शनिबार फेवाताल वरिपरि गरिने सफाइ अभियानमा जान्छिन्। यो क्रम चलेको दुई वर्ष भयो। छोरा ज्ञानबहादुर ताल सफाइ अभियानका अध्यक्ष रहेछन्।
मंगलीका अनुसार अभियानमा ५०-६० जना भेला हुन्छन्। पुरुषहरू तालबाट जलकुम्भी निकाल्छन्। कहिलेकाँही वडाका पुरुष अध्यक्षहरू पनि आउँछन्। महिलाहरूले भने जम्मा भएको फोहोर बोरामा हाल्छन्। फोहरमैलाको गाडीले लिएर जान्छ।
तर सफाइ गरेवापत केही आर्थिक लाभ नहुने उनी बताउँछिन्।
'केही पाइँदैन। हाम्रो जलारी समूहले सफा गर्ने हो, अरूले हैन। हाम्रो पेशा नै त्यही तालमा छ, अनि सफाइ गर्नुपर्यो नि,' फेवाताल सफाइमा जलारी समुदायको भूमिका प्रस्ट्याउँछिन् उनी।