काठमाडौंसहित देशभर अहिले डेंगीको संक्रमण बढ्दो छ। टाउको दुख्नु, जीउ कटकट खानु, ज्वरो आउनु सुरूमै देखिने सामान्य लक्षण हुन्।
हामी सबैजसोको घरमा दुखाइ कम गर्ने औषधी (पेन किलर) प्रायः हुन्छ। नभए पनि यी लक्षण देखिनासाथ हामी धेरैले आफैं किनेर खान्छौं। टाउको र जीउ दुख्ने साह्रै भए पेन किलर खानुस् भनेर मेडिकलवालाहरूले पनि सुझाउँछन्।
तपाईं पनि यसै गर्दै हुनुहुन्छ भने होस् गर्नुस् है, डेंगी संक्रमण भएका बेला कतिपय यी औषधीले स्वास्थ्य सुधार होइन, झनै खतराजनक अवस्थामा पुर्याउन सक्छन्।
डेंगी संक्रमणमा केही पेन किलरले बिरामीलाई थप जोखिममा पुर्याइदिने वरिष्ठ मुटु रोग विशेषज्ञ रामेश कोइराला बताउँछन्।
'डेंगीमा मानिस मर्ने भनेकै रक्तस्रावका कारण हो,' उनले भने, 'केही पेन किलरले बाह्य र भित्री रक्तश्राव हुन झनै सहयोग पुर्याउँछन्।'
ब्रुसेट (Brucet), ब्रुफिन (Brufen), फ्लेक्जन (Flexon), निम्स (Nims) लगायत पेन किलरले रक्तश्राव बढाउन सहयोग पुग्छ।
यस्ता औषधीलाई NonSteroidal anti-inflammatory drugs (NSAIDs) भएका औषधी भनिन्छ।
डाक्टर कोइरालाका अनुसार डेंगी भएका बिरामीको रगतमा 'प्लेट्लेट्स' को मात्रा कम हुन्छ। प्लेट्लेट्स भनेको हाम्रो रगतमा हुने साना कोषिका हुन्। तिनले रगत जमाएर बग्न नदिने काम गर्छन्। यस्तो अवस्थामा माथि उल्लेखित पेन किलर खाए तिनले 'प्लेट्लेट्स'लाई काम गर्न झनै व्यवधान पुर्याउँछन्। जसले गर्दा रक्तश्राव हुने सम्भावना झनै धेरै हुन्छ।
'यो औषधीले दुखाइ र ज्वरो कम गर्ने भए पनि र रगत जम्न नदिएर शरीरभित्र चाँडै रक्तस्राव गराउँछन्। डेंगीका बिरामीको मृत्यु हुने भनेकै आन्तरिक रक्तस्राव भएर हो,' डाक्टर कोइराला भन्छन्, 'यी औषधीले कलेजोमा पनि असर गर्छन्।'
डेंगीको प्रकोप चलेको बेला शरीर, टाउको दुख्यो भने सामान्य पारासिटामोल मात्र खाएर तुरून्त डाक्टरकहाँ जानुपर्ने उनी सुझाउँछन्।
आफैं जान्ने भएर वा मेडिकलवालाको भरमा जे पायो त्यही गरेर पेन किलर खानु हुँदैन।
डेंगीका उपचारको निम्ति कुनै विशेष औषधी वा खोप बनिसकेको छैन। विश्व स्वास्थ्य संगठनले पनि डेंगीको ज्वरो र दुखाइमा 'एनएसएआइडी' भएका औषधीहरू नखान सुझाएको छ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर विवेककुमार लाल पनि यसै भन्छन्।
डेंगीमा सामान्यतया ज्वरो, रुघाखोकी, टाउको दुख्ने र एकदमै धेरै जीउहात गल्छ। आँखाका गेडी फुट्लाजस्तो हुन्छ। यो अवस्थामा पेन किलर खानुहुँदैन। सामान्य पारासिटामोल र झोलिलो पदार्थ खानुपर्छ।
डेंगीका गम्भीर लक्षण भनेको आँखा, नाक, मुखबाट रगत बग्नु हो। यसमा हामीले खाने पेन किलरको भूमिका बलियो हुन्छ।
'रक्तस्राव हुने अवस्थामा पुगेको मान्छेले राम्ररी उपचार नपाए ज्यान जान सक्छ,' डा. लालले भने, 'हामीले थाहै नपाइ हाम्रो ज्यान जोखिममा पारिरहेका छौं।'
हाम्रो घरलाई डेंगी लामखुट्टेबाट जोगाउने १० उपाय
डेंगी लामखुट्टेको आनीबानी र आकारप्रकार फरक हुन्छ। यो सामान्य लामखुट्टेजस्तो कान खाने गरी कराउँदैन। न राति आउँछ। यो त दिउँसो सक्रिय हुने जात हो, जतिबेला हामी पनि काममा सक्रिय हुन्छौं। यसको आकार यति सानो हुन्छ, झट्ट देखिँदा पनि देखिँदैन।
पहिलेका लामखुट्टे प्याट्ट मार्दा पिच्च रगत आउँथ्यो। यी लामखुट्टे मार्दा कालो, फुस्रो धूलोजस्तो देखिन्छ। यसले टोक्यो भने शरीर चिलाएजस्तो हुन्छ। मसिना बिबिरा आउँछन्। बिबिरासँगै चिलाइ फैलिन्छ।
यस्तै लामखुट्टेले ओसारेको डेंगी भाइरसबाट झन्डै पाँच हजार बिरामी परेको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा महानिर्देशक डा. विवेककुमार लाल बताउँछन्।
यो यस्तो लामखुट्टे हो, जुन हाम्रो घरभित्रै हुर्किन्छ र फैलिन्छ। काठमाडौंजस्तो सहरी क्षेत्रमा त यसको बास भनेकै हाम्रो सफासुग्घर घर हो।
हामीले सधैं सुन्दै आयौं, घरवरिपरि फोहोर पानी जम्यो भने लामखुट्टेको बिगबिगी बढ्छ। लामखुट्टे फैलिन्छ भनेर टोलका नाली सरसफाइ गरेको पनि हामीले देख्यौं। तर, त्यस्तो लामखुट्टे कसरी रोक्ने, जुन फोहोर नाली होइन, हामीले भान्सा वा कौसीमा जम्मा गरेको सफा पानीमा हुर्किन्छ, बढ्छ?
डेंगी लामखुट्टेको स्वभाव त्यस्तै हुन्छ। यसलाई फोहोर होइन, सफा पानी चाहिन्छ। सफा पानीमै यसले फुल पार्छ। बाल्टिन, ड्रमदेखि गमलामुनि रहेको प्लेट र मिनरल वाटरको बोतलजत्रो सानो भाँडोमा थोरै पानी छ भने पनि यसले आफ्नो घर बनाउन थालिहाल्छ।
'डेंगी लामखुट्टेको जीवनचक्र चलाउन प्लास्टिकका टुटेफुटेका भाँडाकुँडा, पेयपदार्थका क्यानदेखि छतमा जमेको पानी नै काफी हुन्छ,' डा. लाल भन्छन्, 'सफा पानीमा हुर्किने आनीबानीकै कारण यो लामखुट्टे काठमाडौंमा फैलिएको हो।'
काठमाडौंमा खानेपानीको विकराल समस्या छ। अधिकांश टोलमा बढीमा साताको एकचोटि पानी आउँछ। पानी जोहो गर्न बाटा, बाल्टिन, ड्रममा जम्मा नगरी धर छैन। पछिल्लो समय आकाशेपानी जम्मा गर्ने चलन पनि बढेकै छ। डेंगी लामखुट्टे यस्तै वातावरणमा फैलिन्छ।
'खानेपानी आपूर्तिको राम्रो व्यवस्था नभएकाले हामी पानी जम्मा नगर्नुस् भन्न सक्दैनौं,' डा. लालले धरानको उदाहरण दिए, 'डेंगी प्रकोपपछि त्यहाँको स्थानीय सरकारले हरेक दुई दिनमा जम्मा गरेको पानी फ्याँक्नू र सफाइमा ध्यान दिनू भन्यो। स्थानीयले सोधे– पानी जम्मा नगरे हामीले के खाने? केले लुगा धुने? कसरी नुहाउने?'
जवाफ कसैसँग थिएन।
काकाकुल सहरबासीलाई पानी जम्मा नगर्नू भन्न सम्भव छैन। जबसम्म पानी जम्मा भइरहन्छ, डेंगी लामखुट्टेको जोखिम रहिरहन्छ।
डा. लालका अनुसार डेंगी नियन्त्रण गर्न केही ठाउँमा विषादी र डिजेल बालेर धुँवा पुत्याउन थालिएको छ। यसले अल्पकालीन रूपमा लामखुट्टे मरे पनि त्यसले पारेका फुलमा असर पर्दैन। बरू यस्तो धुँवाले वृद्ध, बच्चा र गर्भवतीको स्वास्थ्य र वातावरणमा भने नकारात्मक असर परेको छ।
'विश्वमा डेंगी लामखुट्टे नियन्त्रण भएका ठाउँको अनुभव हेर्ने हो भने कडा कानुनले काम गरेको देखिन्छ,' उनले सिंगापुरको उदाहरण दिए।
सिंगापुरजस्तो सफासुग्घर ठाउँमा पनि केही वर्षअघि डेंगी प्रकोप थियो। डेंगीबाट बच्न जनचेतनामूलक कार्यक्रमसँगै कडा कानुन लागू गरियो। घरभित्र र वरिपरि पानी जमाएर राख्नेलाई कारबाही थालियो। कसैको घरआँगनमा बोतल, प्लास्टिकका भाँडाकुँडा, टायर लगायत डेंगी लामखुट्टे सल्किन सक्ने साधन फेला परे जरिवाना तिराउन थालियो। यसैको नतिजा, सिंगापुरले डेंगी लगभग उन्मूलन गर्यो।
भारत, श्रीलंका, पाकिस्तान लगायत मुलुकले पानी जम्मा गर्नेलाई जरिवाना तिराए पनि कार्यान्वयन फितलो छ। हामीकहाँ पनि कानुन कडा बनाएर डेंगी नियन्त्रण गर्न सम्भव छैन।
सरकारलाई नै मुश्किल परेको काम हामी जनताले चाह्यौं भने कसरी सुल्झाउन सक्छौं? के धरानको स्थानीय सरकारले भनेजस्तै पानी जम्मा गर्नै छाड्ने?
पानी जम्मा नगर्नु त सबभन्दा राम्रो उपाय भइहाल्यो, तर हामीलाई थाहा छ, यो सम्भव छैन। कम्तिमा आजको काठमाडौंमा। तर, पानी जम्मा गर्दा पनि हामी दसवटा यस्ता सजिला उपाय अपनाउन सक्छौं जसले डेंगी लामखुट्टे नियन्त्रणमा सघाउ पुग्छ।
एक, तपाईंहरूले जुनसुकै भाँडामा पानी जम्मा गर्दा हावा नछिर्ने गरी टम्म बिर्को लगाउनुस्। छतको ट्यांकीमा सधैं कसिलो गरी बिर्को लगाउने बानी गर्नुस्। भूमिगत ट्यांकी छ भने पनि कहिल्यै खुला नछाड्नुस्।
दुई, बिर्को नभएको भाँडामा सकभर पानी जम्मा नगर्नुस्। गर्नैपर्ने भए हावा नछिर्ने गरी छोपेर राख्नुस्।
तीन, आफूले जम्मा गरेको पानी बढीमा दुई–तीन दिनमा प्रयोग गरिहाल्नुस्। त्योभन्दा बढी समय जम्मा गर्दा जतिसुकै सतर्क भए पनि कुनै न कुनै रूपले डेंगी लामखुट्टे छिरेर फुल पार्नसक्छ। एउटा मात्र लामखुट्टे छिरेर फुल पार्न पायो भने पनि रोग फैलाउन पर्याप्त हुन्छ।
चार, घरका भाँडाकुँडा सफासुग्घर राख्नुस्। पानी नभएका बाटा–बाल्टिन सधैं सुख्खा राख्नुस्। अलिकति पानी पनि लामखुट्टेलाई फुल पार्ने घर बन्न सक्छ। त्यसैले पानी जम्मै तर्काएर–सुकाएर घोप्ट्याउने गर्नुस्। फ्रिजको पछाडि जम्ने पानी सकेसम्म दिनकै वा कम्तीमा तेस्रो दिनसम्म फ्याँकिसक्नुस्।
पाँच, गमलामुनिको प्लेटमा पानी जम्न नदिनुस्। पानीमा राखिएका फूल-बिरूवा भए बढीमा दुई दिनमा पानी फेर्नुस्। बरन्डा वा छतमा पानी जमेको भए बडारकुँडार पारेर फ्याँक्नुस्।
छ, बाथरूम, ट्वाइलेट, भाँडा माझ्ने ठाउँ र स-साना मगमा पानी जमेको छ कि याद गर्नुहोस्। ट्वाइलेट प्रयोग गरे पनि, नगरे पनि हरेक एक-दुई घन्टामा फ्लश गर्ने बानी गर्नुस्। फ्लश गर्न पानी छैन भने कमोडलाई प्लास्टिकले टम्म कस्नु राम्रो।
सात, आकाशको पानी जम्मा गर्ने भाँडो थापेर धेरै दिन नराख्नुस्। पानी परेका बेला थाप्नुस्, चलाउनुस् र भाँडो सुकाइहाल्नुस्। यी भाँडाकुँडामा विषादी छर्नु हुँदैन।
आठ, झ्याल–ढोकामा जाली लगाउनुस्। यो जुनसुकै लामखुट्टे रोक्न काम लाग्छ।
नौ, सकेसम्म लामखुट्टेको टोकाइबाट बच्नुस्। दिउँसो सुत्दा झुल टाँगेर मात्र सुत्ने गर्नुस्।
दस, बारी वा पानी भएका ठाउँमा काम गर्न जाँदा पूरा बाहुला भएका लुगा लगाउनुस्। हातखुट्टामा लामखुट्टेले नटोक्ने मह्लम घस्नुस्।
झर्को नमान्ने हो भने यी उपाय खासै अप्ठ्यारा छैनन्। तर, यो काम एक्लो घरले गरेर हुँदैन। टोल–गाउँका सबैले गर्नुपर्छ। 'भुटान, बंगलादेश, मलेसिया, श्रीलंकाजस्ता देश पनि यो समस्याले आजित छन्। लाखौं खर्चेर प्रयास गर्दा पनि डेंगी नियन्त्रण भएको छैन,' लाल भन्छन्, 'सरकारको पहलसँगै सर्वसाधारणको सहयोग नभए लामखुट्टे नियन्त्रण सम्भव हुन्न।'