संविधान दिवसको पूर्व सन्ध्यामा प्रदेश २ मा मन्त्रीहरुको उपस्थितिविना सरसफाई कार्यक्रम भएको छ।
तीन दिनसम्म संविधान दिवस मनाउने निर्णय भएअनुसार पहिलो दिन सरसफाई कार्यक्रम गरिएको हो। केही दिन अगाडि मात्रै मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकले बिहीबार जनकपुरधामको जिरोमाइल र बसपार्कमा बृहत सरसफाइ कार्यक्रम गर्ने निर्णय गरेको थियो।
संविधान दिवसका अवसरमा प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा बिहीबार तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन सरसफाई तथा डेङ्गी रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरियो। पहिलो दिनको कार्यक्रममा न मुख्यमन्त्रीकै उपस्थिति देखियो न त मन्त्रीहरुको नै।
सो सरसफाई कार्यक्रममा डेंगीबाट बच्ने उपायसम्बन्धी पर्चा र पम्लेट वितरण गरिएको छ।संविधान दिवस मनाउन मन्त्री र नेताहरु उपस्थित नभएपनि स्थानीय प्रशासन र निजामति कर्मचारीहरुले सहभागिता जनाएका थिए।
संविधान संशोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपालले संविधान दिवसको बिरोध गर्ने औपचारिक निर्णय नै गरेको थियो। सत्तारुढ समाजवादी पार्टीका मन्त्रीहरु संविधान दिवस भव्यतापूर्वक मनाउने भन्दै आएका थिए। तर उनीहरुको उपस्थिति समेत नदेखिएपछि कर्मचारीहरुले दुःख व्यक्त गरेका छन्।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफू वीरगञ्जमा रहेकोले कार्यक्रममा सहभागी हुन नपाएको बताए। उनले भने, ‘संविधान संशोधन आवश्यक रहे पनि सरकारमा भएकाले संविधान दिवस मनाउनु पनि नैतिक कर्तव्य रह्यो।’ उनले असन्तुष्टि कायमै रहेकोले अन्य मन्त्रीहरु सहभागी नभएको हुनसक्ने प्रतिक्रिया दिए।
मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिति बारे प्रदेश सरकारका मुख्य सचिव दीपक सुवेदीसंग प्रश्न गर्दा आफू जनकपुरधामभन्दा बाहिर रहेकाले यस विषयमा केही भन्न नसक्ने बताए। उनी मन्त्रीहरुको उपस्थिति बारे स्पष्ट प्रतिक्रिया दिनबाट पन्छिए।