नेपाली ब्रान्ड
दसैं घरघरमा भित्रिसक्यो। तिहार पनि आँगनमै आएर उभिएको छ। चाडवाडमा मिठाइहरू टेसमटेस हुँदै किस्तीमा सजिने बेलै हो। मिठाइका यिनै चाङमा अचेल चकलेटले पनि आफ्नो राम्रो स्थान बनाइसकेको छ।
अनि मिठो चकलेट भनेकै हाम्रा लागि प्रायः विदेशी ब्रान्डकै हुन्छन्। पसलतिर जानु भयो भने पनि गुणस्तरीय चकलेट भनेर विदेशी ब्रान्डकै पाइन्छन्। भलै यहाँ पाइने तिनै ब्रान्डको स्वाद केही फरक होस्, संसारभर चर्चित ब्रान्ड त हुन् नि!
तर, तपाईंलाई थाहा छ कि छैन, नेपालमै पनि यत्तिकै राम्रा र स्वादिला चकलेट बन्छन्। स्वदेशी ब्रान्डका चकलेट बजारमा छ्यासछ्यास्ती नहोलान्, चाहनुभयो भने पक्कै पाउनुहुनेछ।
यस्तै चकलेटमध्ये आज हामी कुरा गर्दैछौं नेपाली चकलेट ब्रान्ड 'नाना डिलाइट'को। यसको मुख्य विशेषता भनेको चकलेटमा नेपालमै उत्पादित सामग्रीहरू प्रयोग हुन्छन्। यो कुनै विशाल कारखानामा बन्दैन, हाम्रै दाजुभाइ-दिदीबहिनीका हातबाट बनेको हुन्छ।
सन् २०१७ देखि सञ्चालनमा आएको 'नाना डिलाइट'ले स्थानीय उत्पादनलाई प्रोत्साहन दिँदै चकलेट व्यवसाय सुरू गरेको हो। शिदे नुन, मुस्ताङे स्याउ जस्ता विभिन्न स्थानीय उत्पादनको प्रयोगबाट 'नाना'ले नेपालीपन झल्काउने प्रयास गरिरहेको कम्पनीका सञ्चालक आकाशनाथ प्याकुरेल बताउँछन्।
आकाशनाथको यो कदम नेपाली चकलेट उत्पादनमा नयाँ परिवर्तन ल्याउने कोशिश हो। 'नाना डिलाइट' मा कुनै रसायन नहुने समेत उनी दावी गर्छन्। अर्को विशेषता भनेको यसको खोल हो, जसमा नेवार पहिरनमा सजिएका महिला र पुरुष छन्। यसले चकलेट बाहिरैबाट हेर्दै नेपालीपन अनुभूति हुन्छ।
स्वदेशी चकलेट ब्रान्डलाई विश्वभर चिनाउन लागिपरेका आकाशनाथ यो क्षेत्रमा नयाँ हुन्। केही वर्ष मात्र भयो उनी 'बेकरी' क्षेत्रमा जम्न थालेका।
सानै उमेरमा परिवारसँग मलेसिया गएका आकाशनाथ उतैको वातावरणमा घुलमिल भए। स्कुलको छुट्टि मिलाएर कहिलेकाहीँ आउने उनलाई नेपाल केबल घुमघामको क्षेत्र थियो। १९ वर्ष लामो मलेसियाको बसाइपछि उनी उच्च शिक्षा लिन अष्ट्रेलिया पुगे।
आफ्नो रूचि रचनात्मक लेखन र पत्रकारितामा भएको महशुस गर्दै पत्रकारिता अध्ययनतिरै लागे। 'अष्ट्रेलियन बोर्डकास्टिङ कर्पोरेशन'मा छ महिना 'इन्टर्नशिप' समेत गरेको उनी बताउँछन्।
पढाइसँगै आकाशनाथले पाँच वर्षजति रेष्टुरेन्टमा काम गरे। 'वेटर'का रूपमा अष्ट्रेलियाका थुप्रै रेष्टुरेन्टमा काम गरेका उनले त्यहीँबाट कुकिङमा आफ्नो उत्सुकता नियाल्न पाए।
'पकवान र मिठाइप्रतिको मोह पहिल्यैदेखि थियो। तर यसलाई पेसाका रुपमा सुरू गर्ने सोच कहिल्यै थिएन,' आकाशनाथ आफ्ना सुरूआती सोचाइ सुनाउँछन्, 'जब अष्ट्रेलियाका रेष्टुरेन्टमा काम गर्न थालेँ, त्यहाँका शेफहरूसँग घुलमिल बढ्यो। उनीहरूको सहयोगमा धेरै स्वादका मिठाइका बारेमा ज्ञान पाएँ। ज्ञानसँगै आफ्नो वास्तविक इच्छा पनि बुझेँ।'
पत्रकारितामा उनले आफ्नो भविष्य देखेका पनि थिएनन्। त्यसैले बेकरी क्षेत्रमा होमिए। यही निर्णय उनको जीवनको 'टर्निङ प्वाइन्ट' बन्यो। अष्ट्रेलियामा केही समय यसैसम्बन्धी काम गरेपछि उनले त्यहाँको सीप नेपालमा उतार्ने विचार गरे। उनको यही विचारको मूर्त रुप हो 'नाना डिलाइट'।
उनका दाजु विवेक प्याकुरेलको व्यवस्थापनमा रहेको 'होटल नाना' अन्तर्गत आकाशनाथले 'नाना डिलाइट' सञ्चालन गरेका हुन्। उनका अनुसार आफ्नी जिजू हजुरआमाले परिवारमा पार्नुभएको ठूलो प्रभावको कारण उनीहरूको व्यवसाय उनकै नाममा 'नाना' राखिएको हो।
तीन वर्षअघि अष्ट्रेलियाबाट नेपाल फर्केका आकाशनाथले चकलेट उत्पादन क्षेत्रमा राम्रै अवसर देखेका थिए। परम्परागत शैलीबाट बनाइने चकलेटलाई बजारमा जम्न सक्ने गरी नयाँ रुपमा प्रस्तुत गर्नु चुनौती थियो। व्यवसायमा भर्खरै भिज्न थालेका उनका लागि सुरुआती दिनहरूमा नेपाली बजारमा समायोजन हुन कठिन पर्यो।
'नाना डिलाइट' सञ्चालन हुँदा नेपालमा नाकाबन्दीको माहोल थियो,' उनले सुनाए, 'त्यस समय कुनै पनि व्यापारी नयाँ उत्पादनमा लगानी गर्न चाहन्थेनन् होला। यसैले पनि हाम्रो व्यवसायको विस्तार गति ढिलो भयो।'
समस्या यति मात्र थिएन। स्वदेशी ब्रान्डको माग कम भएकाले 'नाना डिलाइट'लाई बजारमा स्थापित हुन गाह्रो भयो। विदेशी ब्रान्डले बजारमा गरेको हावीले 'नाना'लाई ग्राहक आकर्षण गर्न एकदमै मुश्किल परेको थियो।
'नेपाली चकलेटका गुणस्तर राम्रो हुँदैन भन्ने सोचका कारण सुपरमार्केटले पनि स्टक राख्न नमानेको अनुभव आकाशनाथले भुलेका छैनन्।
भन्छन्, 'बजारमा नेपाली उत्पादन प्रयोग नै नगरी सिधै नराम्रो हुन्छ भनिन्छ र ग्राहक पनि प्रयोग गर्न हिच्किचाएको देखिन्छ।'
आकाशनाथलाई बजारको यो सोचले पनि थप ऊर्जा दियो। नेपाली उत्पादनमा परेको भ्रम तोड्न खुबै खटे। आफ्ना चकलेट र बेकरी उत्पादनका नमूना ठूला रेस्टुरेन्टमा राख्न थाले। उत्पादन मनपराइएरै त होला, केही समयपछि ती ठाउँबाट राम्रो प्रतिकृया पाए।
त्यही प्रयासले आज 'नाना डिलाइट'लाई 'त्रिसरा' रेस्टुरेन्ट, विमानस्थल, केही सुपरमार्केट, पर्यटकीय स्थानका हस्तकला पसलहरू र थुप्रै युवा उद्यमीसँगको साझेदारीमा अन्य १४ वटा पसलमा पुर्याएको छ। योसँगै ग्राहकले 'नाना डिलाइट'को आधिकारिक फेसबुक पेजबाट पनि चकलेट अर्डर गरिरहेका आकाशनाथले जानकारी दिए।
'नाना डिलाइट'ले मिल्क, डार्क र प्रिमियम गरी तीनवटा चकलेट बार र विशेषमा 'ट्रुफल्स' बनाएको छ। यसको मूल्य आकार हेरेर २ सय ५० देखि चार सय रूपैयाँसम्म पर्छ। सानो चकलेट बार भने ८० रूपैयाँमै पाइन्छ।
बजारको प्रसंगमा कतिपयलाई यो मूल्य महँगो लाग्न सक्छ।
'हातकै मेहनत भएकाले चकलेट महँगो हुनु स्वभाविक हो,' आकाशनाथ प्रस्ट्याउँछन्, 'तर विदेशी ब्रान्डको प्रतिस्पर्धामै आउन नसक्ने मूल्य पनि होइन।'
'नाना' चकलेट पाटन ढोकास्थित 'नाना यलँ छेँ' गेस्ट हाउसको भान्सामा तयार हुन्छ। आकाशनाथ यो गेस्ट हाउसलाई 'डेजर्ट प्लेस' भन्न रुचाउँछन्। दुई जना शेफको सहयोग र आकाशनाथ आफैंले पनि ६ महिने तालिमपछि चकलेट बनाउँदै आएका छन्। बिना मेसिन हातले चकलेट बनाउनु 'नाना'को मुख्य आकर्षण भएको उनको भनाइ छ।
भन्छन्, 'हाम्रा सबै चकलेटको आकार मेसिनले बनाएजस्तो चटक्क एकैनाशका हुँदैनन्, टेडोमेडो पनि हुनसक्छ। त्यो हस्तशिल्पको पहिचान हो।'
चकलेटसँगै 'नाना डिलाइट'ले केक र कुकिज पनि उत्पादन गर्छ। यी उत्पादनमा पनि उनीहरू स्थानीय सामग्री नै प्रयोग गर्छन्। विशेषगरी सिस्नु कुकिज अन्यभन्दा फरक र नौलो छ। सिस्नु कुकिज नेपालकै सिस्नुको रेसाबाट बनाइएको हो जुन स्वाद र स्वास्थ्यका लागि फाइदाजनक भएको उनी बताउँछन्। तर यो कुकिजको माग धेरै छैन।
'नयाँ उत्पादनका लागि प्रोत्साहन मिले पनि सिस्नु कुकिज किनेर खाने मान्छे थोरै छन्,' आकाशनाथ भन्छन्, 'कोहीकोही विदेशीले मात्र रुचाउँछन्। नभए यहाँका युवाहरूले सिस्नुको उत्पादन खासै मन पराएको छैनन्।'
व्यवसाय सुरू गरेको करिब तीन वर्षमा आकाशनाथले धेरै उतावचढाव पार गरे। बजारमा ठाउँ नपाउँदा नपाउँदै पनि हार मानेनन् र स्वदेशी उत्पादनलाई नै अगाडि बढाउने प्रयास गरे। उनको प्रयासकै फल हो, अहिले 'नाना डिलाइट' स्वदेशी ब्रान्डका रूपमा स्थापना भएको छ।
आफ्ना अनुभवबाट उनी नयाँ उद्यमीलाई सुझाउँछन्- उद्यमी बन्न सधैं 'मेक इट अर ब्रेक इट' सिद्धान्त लागू गर्नुपर्छ। आफ्नो इच्छा के हो भन्दा पनि बजारको आवश्कता के हो भन्ने बुझेर सुरू गर्ने र त्यसमा टिकिरहने हो भने सफल हुन सकिन्छ।
'जसरी विदेशी ब्रान्ड संसारका कुनाकुनामा हावी भएका छन्, नेपाली ब्रान्डलाई पनि संसारभरि पुर्याउनुपर्छ। 'नाना डिलाइट'को लक्ष्य यही हो। लक्ष्यसम्म पुग्न स-साना खुड्किला उक्लिँदै प्रयास गरिनै रहन्छौं,' आकाशनाथ आशावादी छन्।
तस्बिरहरूः निशा भण्डारी/सेतोपाटी