हामीले बस स्टेसन, पुलिस स्टेसन, टेलिभिजन स्टेसन त सुनेकै छौं। कहिले 'ममः स्टेसन' बारे सुन्नुभएको छ?
कीर्तिपुर, खासीबजारमा छ 'ममः स्टेसन' जहाँ स्टिम, सी, कोथे, फ्राइ, चिल्लीदेखि बार्बिक्यु, क्रिस्पी, छोइला गरी दस परिकारका मम: पाइन्छन्।
यहाँ अरू खानेकुरा नपाइने होइन, तर मम:लाई नै प्राथमिकता दिएकाले 'मम: स्टेसन' नाम राखेको सञ्चालक रोजन महर्जन बताउँछन्।
'खासमा चिकेन स्टेसन नामबाट प्रभावित भएर राखिएको हो,' रोजनले भने, 'यहाँको विशेष भनको क्रिस्पी र छोइला ममः हो। यही खान यहाँसम्म धाउने ग्राहक हुनुहुन्छ। प्याकिङमा पनि बढी जान्छ। नजिकै भए डेलिभर पनि गरिदिन्छौं।'
२७ वर्षीय रोजन कीर्तिपुरकै हुन्। आफ्नो 'फिटनेस' को खुब ख्याल राख्ने रोजन आठ वर्षअघि कीर्तिपुरस्थित 'पल्स फिटनेस' सँग जोडिए। चार वर्षयता उनी यहीँ 'ट्रेनर'का रूपमा कार्यरत छन्।
आठ वर्ष उमेरमा करातेमा लागेका उनी कुस्ती र जोरखानेका राष्ट्रिय खेलाडी पनि हुन्। सन् २०१७ मा 'दक्षिण एसियाली खेलकुद' अन्तर्गत अन्तर्राष्ट्रिय खेलका लागि फिलिपिन्स गएका थिए। कुस्तीको ६०-७० किलोमा कास्य पदक हात पारेका उनी हाल अन्य खेलको तयारी गर्दैछन्।
सानैबाट चञ्चले स्वभावका रोजन काममा भने गम्भीर भएको बताउँछन्। जिम र खेलबाहेक अरू केही व्यवसायमा लाग्ने सुझाव साथीभाइबाट पाइरहेका थिए। आफ्नो रूचि खेलमै मात्र भए पनि खेलाडीको आर्थिक अस्थिरता हुने र पाउनुपर्ने जति सम्मान नहुने उनको गुनासो छ। कुनै प्रतियोगितामा बाहिरी मुलुक जानुपर्दा प्रायः आफ्नै खर्चमा जानुपर्ने र राज्यबाट पूर्ण सहयोग नहुने बताउँछन्।
निकै समय मनन गरेपछि उनले होटल व्यवसायमा लाग्ने सोचे, जरूरत पनि बन्यो। अहिले आफू यसमै भिजिसकेको बताउँछन्।
सुरूआतदेखि नै घरपरिवारको सहयोग पाएका उनले एक महिनामै होटल व्यवसायका लागि चाहिने काम सिके। 'साथीहरू यही क्षेत्रमा छन्। उनीहरूको सहयोगले फुर्सदको समय सदुपयोग गरिरहेको छु,' रोजन सुनाउँछन्।
रोजनसहित उनका पाँच जना साथीहरूको प्रयासले सात लाख रूपैयाँ लगानीमा पोहोर 'ममः स्टेसन' को रूप पाएको हो। यसको सुरूआती 'आइडिया' भने आफ्ना साथी अशिम महर्जनले दिएको बताउँछन् रोजन। अशिम अहिले होटल भिभान्ताका शेफ छन्।
थोरै समयमै राम्रै व्यवसाय गर्न सफल स्टेसनबाट दिनको सय प्लेटसम्म मम: बिक्री हुने उनी बताउँछन्।
'सबभन्दा धेरै बिक्ने बफ नै हो, ममः खाने नै बफको रे,' उनी हाँस्दै भन्छन्, 'अझ कीर्तिपुर त नेवारकै बस्ती।'
कीर्तिपुर नेवार बहुल ठाउँ हो। त्यसैले रोजनका धेरैजसो ग्राहक नेवार नै हुन्छन्। रोचक कुरा त, होटलमा नेवार भाषा मात्र बोलिएको सुनिन्छ। नेवार भाषा नबोल्ने फाट्टफुट्ट मात्र होलान्।
तीन जना कर्मचारीको सहयोगमा व्यावसाय चलिरहेको छ। उनी आफैं पनि पकाउनेदेखि प्लेट उठाउनेसम्म गर्छन्। यहाँ धेरै ग्राहक विशेषगरी जन्मदिन मनाउन पुग्छन्। एकपटक पुगेकाहरू फेरिफेरि आइरहन्छन्। अन्य ठाउँको तुलनामा यहाँ ममः सस्तो भएको ग्राहकहरू नै भन्छन्। भेजदेखि बार्बिक्यु मम:सम्मको ८० देखि १३० रूपैयाँ हो।
धेरैले रोजनलाई 'यो रेटले कसरी भ्याउनुहुन्छ' समेत भन्छन्। ममः स्टेसनबाटै आफ्नो सबै खर्च धानिने कमाइ नभए पनि उनी सन्तुष्ट छन्।
'नाफा खास मिलेको छैन। जे होस् उहाँहरूलाई तलब दिन गाह्रो छैन। ठिकै छ, मलाई यसैमा खुसी लाग्छ,' रोजन भन्छन्। होटल अलि 'अन्डरग्राउन्ड' मा भएकाले खुला हुँदा व्यापार बढ्ने सम्भावना देखेका छन् उनले। तर यही ठाँउमा आनन्द लाग्छ रे।
खेलाडीका रूपमा चिनिने मन भएका रोजन अहिले उद्यमी पनि भएका छन्। उनको पढाइ जारी छ। आफ्ना जीवनका यी सबै पाटालाई सँगसँगै लैजाने योजना उनको हो। प्राथमिकता भने ममः स्टेसनमै भएको बताउँछन्। यसलाई विस्तार गर्दै अन्य शाखा खोल्ने उद्देश्य राखेका छन्।
'म धैर्यमा विश्वास राख्छु। परिश्रम गरे फल पाइन्छ। लक्ष्य भएको व्यक्तिले नै जीवनमा केही गर्न सक्छ र ऊर्जाले नै जुनसुकै काममा सफलता दिलाउन सक्छ,' २७ वर्षे खेलाडी रोजन भन्छन्, 'गर्छु भनेर लागेपछि सकिन्छ।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी