बलात्कार गरेर हत्या गरी अमेरिका फरार भएका एक जना नेपालीलाई अमेरिकाले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ।
झापा चन्द्रगढी ३ घर भइ अमेरिकामा लुकेर बस्दै आएका लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो।
गौतमलाई बुधबार अमेरिकी प्रहरीले नेपाल प्रहरीसमक्ष बुझाएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए।
गौतमलाई बिहान टर्किस एयरलाइन्सबाट काठमाडौं ल्याइएको थियो। गौतम २०१८ फेब्रुअरी ३ मा अमेरिकामा पक्राउ परेका थिए।
उनलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीले उनलाई पक्रन इन्टरपोल वासिङटनसँग आग्रह गरेको थियो।
घटना के थियो
२०५७ साल असोज २९ गते राती उनीसहित मनोज खड्का र सिताराम खड्काले चन्द्रगढी ३ की एक युवतीको सामूहिक बलात्कार गरेका थिए। त्यसपछि उनीहरुले युवतीको घाँटी थिचेर हत्या गरेका थिए।
हत्यापछि उनीहरूले युवतीको शव रूखमा झुण्डाएका थिए। मृतकका बुवाले ३ जनाविरूद्ध उजुरी दिए। प्रहरीले गौतमलाई त्यसबेला नै पक्राउ गरेको थियो। तर २०५८ साल कात्तिक २१ गते जिल्ला अदालत झापाले उनलाई सफाइ दिएको थियो।
मृतकका बुवा फेरि पुनरावेदन अदालत गएका थिए। पुनरावेदन अदालतले पनि जिल्ला अदालतको फैसला सदर गरेको थियो।
नेपाल सरकारको तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन दिएकोमा सर्वोच्च अदालतले २०६६ भदौ १९ गते उनीहरूलाई जन्मकैदको फैसला सुनाएको थियो। गौतम २०५७ कात्तिक १ गते हिरासतमा बसेर २०५८ भदौ ३२ गते छुटेका थिए।