आलु र केराउ भन्दै काठमाडौंमा गाईको र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको छ। राजस्व अनुसन्धान विभागले काठमाडौंको नागढुंगाबाट २ वटा ट्रक नियन्त्रणमा लिएपछि काठमाडौंमा गाईको र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको हो ।
सर्लाहीको मलंगवा नाका हुदैँ काठमाडौं आइरहेको २ वटा ट्रक नियन्त्रणमा लिएर त्यसमा सामान चेकजाँच गर्दा राजस्व छलेर १२ टन कुखुराको मासु र ५ टन गाईको मासु फेला परेको राजस्व अनुसन्धान विभागले जनाएको छ।
मासु जाँचका लागि विभागले खाद्य तथा गुणस्तर विभागमा पठाउने तयारी गरेको छ। भारतबाट नेपालमा जिउदोँ तथा मासु ल्याउन प्रतिबन्ध छ।
आलु र हरियो केराउ भन्दै उनीहरुले सर्लाहीको मलंगवा नाकाबाट गाई र कुखुराको मासु भित्र्याएको विभागका एक अधिकारीले जानकारी दिए।
मासु नेपालका सोल्टी, हायात लगायतका होटलहरुको लागि ल्याएको खुल्न आएको विभागले जनाएको छ।
ती होटलहरुले राजस्व छलेर बाहिरबाट मासु अवैध तरिकाबाट मगाउने गरेको गुनासो आएपछि चलाइएको अभियानमा २ वटा गाडी विभागले नियन्त्रणमा लिएको हो।