सुडान घोटला प्रकरणमा दोषी ठहर भई सजाय भोगिरहेका ठेकेदार शम्भु भारती गत बुधबार एक्कासि कुपन्डोलस्थित होटल हिमालयमा पुग्छन्।
प्रहरी स्रोतका अनुसार दुई जना प्रहरी सुरक्षासहित बा२च ३१२६ नम्बरको ट्याक्सीमा हिमालय होटल पुगेका उनी ओर्लनेवित्तिकै पार्किङमा रहेको आफ्नै टिगुवान गाडी चढेर पुल्चोकतर्फ आएको सिसिटिभी फुटेजमा देखिएको छ।
त्यसबखत उनको सो गाडीमा उनीसहित उनको श्रीमती र दुई जना सुरक्षा पनि चढेको देखिएको स्रोतले जनायो। होटल हिमालयपछि उनीहरू नख्खुस्थित घरमा गएर डिल्लीबजार कारागार गएको प्रहरीले जनाएको छ। वीर अस्पतालमा उपचारको बहाना देखाएर त्यहाँबाट निस्केका भारती जब कारागार पुग्छन्, कारागारले उपचार र बाहिर जान दिएको पास भुल्छन्।
कहाँ छोडियो भन्ने न भारतीलाई थाहा हुन्छ न उनकै सुरक्षामा खटेका दुई प्रहरीलाई। वीर अस्पतालले बिरामी जाँचेको कागजात भारतीले बुझाउन नसकेपछि कारागार व्यवस्थापनले अनुसन्धान सुरू गर्छ।
भारती र उनको सुरक्षामा खटेका प्रहरीले कागज हराएको बहाना मात्र देखाइरहेको कारागारले जनाएको छ। भोलिपल्ट बिहीबार कारागारले बाहिर निस्कन दिएको कागजात पुल्चोक प्रहरीको हातमा पर्छ।
क्युआरटीमा खटेका प्रहरी होटल हिमालयको कार्यक्रममा पुग्दा त्यहाँको सुरक्षा गार्डले ट्याक्सी चालकले कागजात छोडेर प्रहरीलाई दिनु भनेकाले प्रहरीको हात परेको ललितपुर प्रहरीले जनाएको छ। त्यसपछि पुल्चोक प्रहरीले कागजातका बारेमा डिल्लीबजार कारागारलाई खबर गर्छ।
कारागारका एक कर्मचारी आएर सो कागजात लगेपछि भारती हिमालय होटल पुगेको पुष्टि हुन्छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भारतीलाई उपचार बहानामा होटल हिमालयन लगेर ‘मोज’ गराएको आरोपमा एक जना असईलाई निलम्बन नै गरेको छ।
डिल्लीबजार कारागारका प्रहरी सहायक निरीक्षक प्रकाश ढाँटलाई शनिबार निलम्बन गरेको हो। ललितपुर प्रहरी परिसरले पनि घटनाबारे छानबिन गर्न प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो। भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि र भगवती ट्रेडर्सका सञ्चालक हुन्।
यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको थियो। सर्वोच्च अदालतको २०७४ वैशाख १७ गतेको फैसलाअनुसार भ्रष्टाचार मुद्दामा एक वर्ष कैद तथा बिगोको आधा १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ ३ पैसा जरिवाना ठहर भएदेखि दुई वर्ष भारती फरार रहेका थिए।
मुख्य आपूर्तिकर्ता ‘एस्योर्ड रिक्स कम्पनी लण्डन’को तर्फबाट उनी प्रतिनिधि थिए। सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको आवश्यक बन्दोबस्तीका सामान ९एपिसी० खरिद गर्न आफैं एजेण्ट भएको उक्त कम्पनीलाई ठेक्का पारी ‘आइएसओ स्ट्यान्डर्ड’को ‘एपिसी’को सट्टामा कोटेशनमा मूल सम्झौताको विपरीतका सर्तहरू थपेर ८ थान पुराना र काम नलाग्ने एपिसी सप्लाई गराएको अनुसन्धानबाट खुलेको थियो।
नेपाल प्रहरीको शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिद तथा ढुवानी गर्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीसहित पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र ओमविक्रम राणाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।