विमानस्थलमा सामान आएका बाकस कहाँ जालान्? त्यहीँ छेउछाउ थुपारिएका होलान्! पुराना होस् वा नयाँ, फालिएका काठ देख्दा यो चिसोमा बाल्न हुन्छ भन्ने लाग्ला।
नसोच्नुस्, किनकी यही काठबाट फर्निचर बनाउन सकिन्छ। र यी फर्निचरको भरमा एउटा ठूलो रेस्टुरेन्ट नै सजाउन सकिन्छ।
यसैको उदाहरण हो- म्युज रेस्ट्रो बार।
पोखराका जीवन भट्टराई र उनका तीन साथी विजेन्द्र श्रेष्ठ, अच्युत श्रेष्ठ र शंकर थापा मिलेर खोलेको यो रेस्टुरेन्ट विमानस्थलमा फालिएका काठबाट बनेका फर्निचरले सजिएको छ। उनीहरूको सहकार्यमा सन् २०१७ बाट लाजिम्पाट, उत्तर ढोकामा म्युज रेस्ट्रो बार खुलेको हो।
जीवनका पोखरादेखिकै साथी विजेन्द्र वेब डिजाइनर हुन् भने अच्युत फोटोग्राफर र शंकर टेलिकम इञ्जिनियर।
जीवनका अनुसार 'म्युज' भनेको मनबाट एकदमै चाहेको कुरा। सबैले चाहेको रेस्टुरेन्ट बुझाउन नाम म्युज राखिएको हो। पुनः प्रयोगमार्फत् रेस्टुरेन्टका अधिकांश सामान बनाइएकाले यसको लोगोले भने 'रिसाइकल'को भाव झल्काउँछ।
नौलो तरिकामा बनेको रेस्टुरेन्टमा छिर्नेबित्तिकै हिमाली भेगका घर गएजस्तो हुन्छ। काठका बाकसका फल्याकहरूबाट फर्निचर बनाइएको छ। छानो, भुइँ र भित्तामा पनि काठै छ। यी काठ फेरि निकालेर अर्को काममा प्रयोग गर्न सकिने जीवनले जानकारी दिए।
ढुसीले खाएका भित्ता रचनात्मक चित्रकला कुँदिएको छ। साना रूखका मुढा, हाँगा, पुराना लालटिनदेखि बच्चाका खेलौनासम्मले सजावट सामग्रीका रूप पाएका छन्। शिशाका केही सामानबाहेक हरेकजसो चिजबिज पुरानाबाटै बनाइएको जीवन बताउँछन्।
'यहाँका ८० प्रतिशत सामान पुनः प्रयोग र प्रशोधन गरिएका छन्। हाम्रो सोच नै थियो, भएको सामान बिगार्नुभन्दा पुरानै प्रयोग गर्ने,' जीवनले भने।
उनका अनुसार यहाँ सन् १९५० दशक जर्मनीबाट आयातित मैनटोल पनि छ। त्यस्तै सगरमाथा चढ्दा प्रयोग हुने अक्सिजन सिलिन्डर, पुरानो रेडियो, पुरानो टेलिफोन, बिग्रिएको टिभी समेत सजावटकै लागि राखिएको छ। छतमाथि ठूलो सेतो पाल टाँगिएको छ। यहाँ खास समयमा खेल देखाइन्छ।
'यो गोरखामा राहत वितरण समयमा राखिएको पाल हो,' जीवन भन्छन्, 'म त कोही नौलो ठाउँ गएको छ भने त्यहाँबाट रिसाइकल गर्न मिल्ने सामान भए ल्याउन भन्छु। लागेको खर्च तिर्छु।'
उनी प्लास्टिक प्रतिबन्ध हुनुपर्छ भन्छन्। यसका लागि अभियान सोचेका छन्- सबै विद्यार्थीलाई दिनदिनै घरका प्लास्टिक स्कुल ल्याउन लगाउने। यसले धेरै प्लास्टिक एकै ठाउँमा फाल्न सहज हुन्छ। अर्को दिनदिनै बोकेर ल्याउनुपर्दा उनीहरू आफैंलाई घरमा कति धेरै प्लास्टिक प्रयोग हुन्छ भन्ने बुझ्छन्। यो अभियानले केटाकेटीलाई सानैदेखि प्लास्टिक कम प्रयोग गर्न सचेत बनाउने जीवनको विश्वास छ।
जीवन आज रेस्टुरेन्ट व्यवसायमा भिजे पनि यो नै उनको पहिलो रोजाइको पेशा होइन।
पोखराको सांगीतिक ब्यान्डमा गितार बजाउने जीवन सन् १९९८ मा पहिलोपटक क्यामरा सामू परे। त्यही बेलादेखि फिल्ममा चासो बढ्यो। फिल्म क्षेत्रमा लाग्ने कुरा घरलाई चित्त बुझेन। समर्थन पाएनन्। १८ वर्षअघि उनी पोखराबाट भागेर काठमाडौं आएका थिए।
काठमाडौंमा भिज्न सहज थिएन। तर फिल्म बनाउने हुटहुटीका कारण उनी यसै बस्न सकेनन्। यसमै लागि परे र उनले पहिलो फिल्म 'पेट्रोल' बनाए। एघार मिनेटको उक्त फिल्ममा कुनै संवाद थिएन। सन् २००८ मा फिल्म जर्नालिष्ट एसोसिएसन अफ नेपालद्वारा आयोजित सर्ट फिल्म फेस्टमा प्रथम भयो 'पेट्रोल'। नतिजापछि उनका परिवारले साथ दिन थाले।
निर्देशनसँगै उनको रूचि फोटोग्राफीमा पनि छ। जीवनले डकुमेन्ट्री तथा सर्ट फिल्म निर्देशक र फोटोग्राफरको पहिचान बनाइसकेका छन्। अचेल रेस्टुरेन्ट व्यवसायी पनि भएका छन्।
यसको कथा पनि रोचक छ। चार वर्षअघि उनको योजना दरबारमार्गमा ब्युटी सलुन खोल्ने थियो। केही सातापछि भुइँचालो गयो। सोच बदलियो।
केही महिनापछि उनी कामको सिलसिलामा कोटेश्वर जाँदै थिए। बाटोमा विमानस्थलको बाहिर राम्रा–राम्रा काठको डंगुर देखे। भुइँचालोपछि विदेशबाट राहत सामान ल्याउनेक्रममा थुप्रै काठका फ्ल्याक जम्मा भएको रहेछ।
चासो बढ्यो- यी काठ कहाँ जान्छ? बुझ्दा, बंगुर पोल्न र आगो बाल्न लगिने थाहा पाए। उनले भने ती काठ लिएर केही राम्रो प्रयोगमा ल्याउने सोचे। त्यहाँका व्यापारीसँग कुरा गरेर ती फ्ल्याक किने र पछि आएकाहरू पनि आफैंले लिए।
जीवन, विजेन्द्र, अच्यूत र शंकरले मिलेर रेस्टुरेन्ट खोल्ने निधो गरे। उत्तरढोकामा २६ आना जग्गा भाडा लिए। दुई तले पुरानो घर र खुला ठाउँ थियो। त्यहीँ काठ थुपारे।
काठको चाङ देखेर स्थानीयले काठ मिल बनाउन लागेको सोचेछन्। रेस्टुरेन्ट बनाउने सुन्दा 'नराम्रो ठाउँमा लगानी गर्नुभयो, यहाँ डुब्छ' भन्ने सुझाव पाए। उनीहरूले कसैको सुनेनन्, नमूना रेस्टुरेन्ट बनाउने ध्याउन्नमा लागे। बनिसकेपछि स्थानीयले 'साँच्चै नमूना रेस्टुरेन्ट भएछ, राम्रो छ' भनेर तारिफ गरेको जीवनले सुनाए।
'चालिस लाख रूपैयाँ लगानीमा काम सुरू भएको थियो। रेस्टुरेन्ट सञ्चालनमा आउँदा एक करोड तीस लाख खर्च भयो। नयाँ र सग्ला काठ भए यति खर्च हुँदैनथ्यो। सबै बाकस खोलखाल गर्नै खर्च धेरै। काम सक्न एक वर्ष लाग्यो,' उनले भने।
४० वर्षीय जीवन आफ्नो सपना पूरा भएकोमा दंग सुनिन्छन्। ग्राहकको प्रतिक्रियाले उनलाई झनै ऊर्जा दिन्छ। भन्छन्, 'एकपटक आएको ग्राहक फेरिफेरि आउँदा, राम्रो प्रतिक्रिया दिँदा खुसी लाग्छ।'
पारिवारिक वातावरणको रेस्टुरेन्टमा बिहान र बेलुकी बढी ग्राहक हुन्छन्। बेडरुम र ब्रेकफास्ट (बिएन्डबि) सुविधा समेत भएको म्युजमा बच्चाहरू खेल्नका लागि छुट्टै ठाउँ पनि छ।
एकैपटक ३९० जनासम्म ग्राहकलाई सेवा पुर्याएको अनुभव सुनाउँदै उनले भने, 'हामीले यहाँ साधारण सभा, बिहे, इन्गेजमेन्ट र बर्थडे धेरै गरेका छौं। प्रायः यसैका लागि प्रिबुकिङ धेरै हुन्छ।'
म्युजमा २२ कामदार छन्। उनीहरूले नभ्याएको समयमा जीवन, विजेन्द्र, अच्यूत र शंकर समेत खट्छन्। आगामी दिनमा पोखरा, चितवन र काठमाडौंकै अरू दुई ठाउँमा म्युजका शाखा सञ्चालन गर्ने उनीहरूको योजना छ।
'केही गर्न वैदेशिक रोजगारमै जानुपर्छ भन्ने छैन। कुनै पनि काम आफ्नो सोचेर गर्यो भने सफलता मिल्छ। योजना बनाउने र त्यसलाई पूर्णता दिन लाग्नुपर्छ। धैर्य भने हुनुपर्छ,' एक छोराका बाबु जीवनले भने, 'मलाई अझै पनि कति काम गर्न बाँकी छ भन्ने लाग्छ।'