दाङ प्रहरीले अत्याधुनिक हतियार बरामद गरेको छ।
कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले ती सबै हतियार सरकारद्वारा प्रतिवन्धित विप्लव समूहको भएको दाबी गरेका छन्।
दाङको गढवा गाउँपालिका र कपिलबस्तु जिल्लाको सीमाना क्षेत्रमा विशेष सूचनाको आधारमा प्रहरीको विशेष टोली परिचालन भएर खोजतलाश गर्ने क्रममा रित्ता गोठहरुमा स्थान्तरण गर्नको लागि सुटकेटसमा राखेको अवस्थामा ती हतियार बरामद भएको एसपी भट्टराईले बताए।
‘खाली र बेवारिसे गोठ भित्र सुटकेश भित्र राखेर त्यसलाई पात पत्तिंगर तथा झारपातले छोपेर लुकाई राखेको अवस्थामा ती हातहतियार फेला परेका हुन,’ एसपी भट्टराईले भने ।
उनले ती सबै हतियार एउटै गोठवाट शुक्रबार बेलुका ६ बजेतिर लुकाइ राखेको अवस्थामा प्रहरीले फेला पार्न सफल भएको जानकारी दिए।
विप्लव समुहले ती हतियार कुन प्रयोजनका लागि कहाँ लैजाँदै थिए भन्ने बारेमा थप अनुन्धान गर्नुपर्ने एसपी भट्टराईले जानकारी दिए।
असोज ३० गते मात्रै प्रहरीले दाङको गढवा गाउँपालिकाको नेपाल– भारत सीमा नाका क्षेत्रवाट विप्लवका दाजु ‘वीरजंग’सहित राप्ती व्यूरोका २१ नेता कार्यकर्ता पक्राउ गरेको थियो।
त्यसको ठिक एक महिना पछि प्रहरीले यी हतियारहरु बरामद गर्न सफल भएको छ।