हिमालपारिको देश क्यान्भासमा सजाउने सपना देखेर दुई चित्रकार यात्रामा निस्किए। उपल्लो मुस्ताङ, लोमान्थाङ यात्रामा ७० वर्ष काटेका चित्रकार क्षेत्रलाल कायस्थले जीवनमा पहिलो पटक हार मानेका थिए।
कति लडे, कति थाके। झुसाङ पुगेपछि उच्च रक्तचापले स्वास्थ्य बिगार्यो। कायस्थलाई लाग्यो- अब माथि जान सकिँदैन। साह्रै गाह्रो भएकाले उनले घरपरिवारलाई समेत जानकारी दिइसकेका थिए।
कायस्थले हार माने पनि लोमान्थाङलाई चित्रमा उतार्ने भोक हारेन। सहयात्री चित्रकार एलपी गुरुङले पनि हौसला दिन छाडेनन्। अनि त भोलिपल्ट उनको साहस जुर्मुरायो। यात्रालाई निरन्तरता दिने आँटे। लोमान्थाङ पुगे र त्यहाँको दृश्य क्यान्भासमा उतारे।
अहिले जिन्दगीकै संघर्षमय र रमाइलो क्षण कायस्थलाई त्यही लाग्छ। पाँच वर्षअघिको क्षण सम्झिँदै ७६ वर्षीय कायस्थ भन्छन्, 'बनाउन सबभन्दा रमाइलो भएको चित्र लोमान्थाङकै हो।'
२०७५ सालमा अष्ट्रेलियाका समुद्री दृश्य कोरेका कायस्थको १३औं एकल कला प्रदर्शनी बबरमहल, आर्ट काउन्सिलमा चलिरहेको छ- कलायात्रा ०७६, समुद्र सतहदेखि हिमालपारिसम्म।
यसअघि विभिन्न विषयवस्तुमा कायस्थले काठमाडौं, पोखरा र भारतको चेन्नइमा १२ एकल प्रर्दशनी गरिसकेका छन्। अन्य चित्रकार र आफ्नै विद्यार्थीसँग सहकार्यमा सामूहिक प्रदर्शनी गरिसकेका छन्।
उनको चित्रको विषयवस्तु प्रकृति हो। हिमाल, पहाड, समुद्र र काल्पनिक दृश्यहरू। मनमा जे छ, उनी क्यानभासमा त्यही उर्ताछन्। हजारौं प्रख्यात चित्र कोरिसके पनि उनको भोक सकिएको छैन।
जारी प्रदर्शनीमा ७६ वटा चित्र छन्। यो हालको उनको उमेर हो। 'मेरो इच्छा थियो, ७६ वर्षमा ७६ चित्र राख्ने,' उनी सुनाउँछन्।
कायस्थ पोखराका हुन्। मुख्यतः कास्कीकै प्रायः गाउँठाउँ गरी उनले नेपालका धेरै भूभाग आफ्नो क्यान्भासमा उतारिसकेका छन्। २००० साल, मंसिरमा पोखराको तेरस्पतिमा जन्मेका कायस्थको परिवार सम्पन्न थियो। तर उनलाई पाँच वर्षपछि सुख भएन। २००६ सालमा उनको पुरानो बस्तीमा भिषण आगलागी भयो। आगोले उनको परिवार पनि छुटायो। कायस्थ आफ्नी आमा र दिदीबहिनीसँग बसे।
२०१५ सालतिर- पुरानो बस्ती तेरस्पतीमा ढुंगाको छपनी लगाइयो। सग्ला ढुंगा देखेर कायस्थको ध्यान ती ढुंगामा केही कोर्नतिर लाग्यो।
के बनाउने भन्ने थाहै नभए पनि स-साना ढुंगाले सग्ला ठूला छपनीमा घोट्न थाले। कोर्दै गए। उनको चित्रकलाको अनौपचारिक यात्रा यहीँबाट सुरू भएको थियो। त्यो बेला उनी १५ वर्षका थिए।
जीवनका आठ दशकनजिक हुँदै गर्दा पनि उनको जोश युवाकैजस्तो छ।
'आखाँले केही समस्या दिन्छ, अरु सबै सकुशल छ,' उनी भन्छन्, 'उमेरसँग मेरो कुनै गुनासो छैन।'
सानैबाट जिज्ञासु कायस्थ एकोहोरा थिए रे। कलाकारहरू एकोहोरिनुलाई उनी नौलो मान्दैनन्। कोहीसँग झगडा नगर्ने र आफ्नै सुरमा चल्ने उनको स्वाभाव थियो। मनमा आएका दृश्य छपनीमा कोर्थे, प्रकृतिका चित्रमा रमाउँथे।
२०२० सालतिर उनले क्यानभास चिने। चित्रकलालाई आफ्नो क्षेत्र बनाउने निधो पनि त्यही बेला गरे। धमिला याद सम्झिँदै भने, '२०-२२ सालतिर पहिलोपटक पानी रङले सादा कागजमा चित्र बनाएको थिएँ।'
यो चित्र २०२२ सालको पोखरा परिवेशमा केन्द्रित छ। गौरीघाटबाट महिलाले गाग्रीमा पानी बोकेर आइरहेको चित्रबाट उनले चित्रकलालाई आफ्नो क्षेत्र बनाए। अनि यसैमा उड्न थाले। चित्र बनाउनै मुस्ताङ, घान्द्रुक, धम्पुस, छोम्रोङ, सिक्लेस जस्ता हिमाली भेगको यात्रा गरे। अझ धेरै लोमान्थाङ र मुस्ताङका चित्र कोरे। उनका यात्राका चित्र अहिलेको प्रदर्शनीमा देख्न सकिन्छ।
सन् २०५२ सालतिर भोजपत्रमा चित्र कोरेको अनुभव सुनाउँदै उनी भन्छन्, 'त्यस बेला एक प्रशिक्षार्थीले भोजपत्रमा चित्र बनाउन भन्नुभयो। मैले प्रयोग गरेर हेरेँ, राम्रो चित्र बन्यो। यसको खुब चर्चा भएको थियो।'
स्वअध्ययनबाट स्नातक सकेका कायस्थले २०२८ सालबाट निरन्तर ३७ वर्ष पृथ्वीनारायण क्याम्पस, पोखराको प्रशासन विभागमा काम गरे। कलालाई पनि सँगै लगे। यहीबीच थुप्रै पुरस्कारबाट सम्मानित भए।
सानैबाट रङका निम्ति पैसा आफैं जुटाउने गरेको उनी बताउँछन्। खाजाको पैसा र अरु खर्च जम्मा गर्दै उनले रङ र क्यान्भास किनेको सुनाए।कायस्थलाई आफूले बनाएका कुनै चित्र पूर्ण लाग्दैन। उनका अनुसार जति गरे पनि पहिले कोरेका चित्रमा केही नयाँ हरेकपटक थप्न सकिन्छ।
'कलाकारको आँखामा कुनै पनि चित्र कहिल्यै पूरा हुँदैन,' उनले भने।
आफ्ना चित्र राम्रै बिक्री भए पनि कायस्थ चित्रकला क्षेत्रमा व्यापार–व्यवसाय नहेर्ने बताउँछन्।
'म बिक्रीको सोच राखेर बनाउदिनँ। चित्रकला मेरो सोख हो, मलाई खुसी मिल्छ,' चित्रकलासँग आत्मियता जोडिएको सुनाउँछन्, 'मेरो कला बिक्री भए पनि, नभए पनि राम्रै लाग्छ। भए ठिकै छ नभए आफैं राख्छु। यसैमा सन्तुष्टि छ।'
उनका अनुसार चित्रकलाले मान्छेको हेर्ने दृष्टिकोण परिवर्तन गराउँछ। चित्रकला बुझ्न सक्नेले जीवन बुझ्न सक्छ। लोमान्थाङको सन्दर्भ जोड्दै भन्छन्, 'मुस्ताङतिरका मेरा चित्र बुझेर आहा! भन्ने केही छन्। तर धेरैले के बनाउको होला, न रुख छ, न केही भन्छन्। यो नबुझेरै त हो।'
त्यसैले पनि होला उनी नेपाल बुझ्न र वास्तविक नेपाल हेर्न हिमालपारि जानुपर्ने बताउँछन्।
२०६४ सालमा 'द एडभेञ्चर अफ मोर्डन आर्ट' किताब प्रकाशन गरेका चित्रकार सबैलाई कला क्षेत्रमा लाग्न प्रोत्साहन गर्छन्। नयाँ चित्रकारलाई हौसला प्रदान गर्न ५० हजार रूपैयाँ नगदसहितको नवीन कलाश्री पुरस्कार प्रदान गर्ने भएका छन्।
समयको खासै ख्याल नगरी काममा लाग्ने कायस्थ आधारातमा उठेर पनि चित्र बनाउँछन् रे। ढल्किँदो उमेरको ख्याल राख्दै परिवारले 'अब चित्र नबनाउन' सुझाएकै हुन्। कायस्थको मन मान्दैन। भन्छन्- म यसै बस्न सक्दिनँ।