साइकलमा सरर हिँड्नेहरूलाई ललितपुर महानगरपालिकाको 'साइकल योजना' खुसीको खबर बन्न सक्छ। महानगरपालिकाले साइकल अड्याउन बिसौनी बनाएको छ।
बिसौनी नहुँदा कतिपटक घरमै साइकल थन्काउनु भएको होला। महानगरले साइकल प्रवर्द्धन गर्न र साइकल चालकको झमेला केही हदसम्म समाधान गर्न बिसौनी बनाएको हो।
ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार मंगलबजारमा बिसौनी बनिसकेको छ भने जावलाखेल, लगनखेल, बुंगमती लगायत ठाउँमा दोस्रो चरणको काम हुनेछ। उनका अनुसार महानगरपालिकालाई साइकलमैत्री बनाउने सोचले लेन र बिसौनी बनाउने काम भइरहेको छ।
लेन अहिले भइरहेका सडकमै बनाइनेछ। हाल कुपनडोलबाट पुलचोक र पुलचोकबाट ग्वार्को जाने बाटोमा लेन बनाउन सुरू भइसकेको छ।
'कुन–कुन क्षेत्रमा लेन र बिसौनी बनाउने भन्ने अझै छलफल भइरहेको छ,' प्रवक्ता महर्जनले भने, 'वडाले सिफारिस दिएपछि आवश्यक ठाउँमा काम हुन्छ। हाल तोकिएका ठाउँमा काम हुँदैछ।'
स्थानीय र बाहिरी साइकल चालक पर्यटकहरू बढिरहेका छन्। सोख र व्यायामका रुपमा साइकल चलाउने पनि छन्। उनीहरूले बिसौनीको समस्या भोगिरहेका हुन्छन्। बिसौनी मात्रै बन्दा पनि त्यो समस्या केही हदसम्म सुल्झिएको छ। पर्यटकको भिड बढी हुने क्षेत्रमा बिसौनी थप्दै लग्ने योजना महानगरको हो। साइकल लेनभन्दा बिसौनी पहिले बने पनि त्यसको प्रयोग बढिरहेको प्रवक्ता महर्जनले बताए।
काठमाडौंमा हजारौं साइकल चालक छन्। साइकल जथाभावी राख्दा चोरी हुने डर पनि हुन्छ। बिसौनी बनाएर त्यो समस्या कम गराउनु पनि महानगरको उद्धेश्य हो।
'नयाँ वडालाई साइकल र अपांगमैत्री बनाउने सोच छ,' महानगरको योजनाबारे प्रष्ट्याउँदै महर्जनले भने, 'साइकल वातावरणको लागि पनि एकदमै राम्रो हो।'
उनका अनुसार यो आर्थिक वर्षसम्ममा ललितपुरमा सय वटा साइकलका लागि स्ट्यान्ड बनाउने योजना महानगरको छ। लेन र बिसौनी बनेपछि साइकल चालक पनि बढ्ने सम्भावना हुन्छ।
ललितपुर साँस्कृतिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण भएकाले यो क्षेत्रमा साइकल बिसौनी र लेन बन्नु आवश्यक छ। त्यही कुरा मध्यनजर गर्दै भिडभाड र सम्पदा क्षेत्रलाई प्राथमिकतामा राखेर टेन्डरमा काम भइरहेको महर्जनले बताए।
'पहिलो चरणको काम कात्तिक मसान्तसम्म सक्नुपर्ने हो। ढिलाई भएकाले केही समय अझै लाग्छ होला,' उनले भने, 'पहिलो चरणको काम सकेलगत्तै दोस्रो चरणको काम सुरू हुनेछ।'
महानगरका अनुसार एउटा ठाउँमा बिसौनी बनाउँदा एक देखि डेढ लाख रूपैयाँ खर्चिन्छ। औसत एक ठाउँमा ४ देखि ५ वटा साइकल अटाउन सकिने उनले जानकारी दिए।