नेपाली ब्रान्ड
अमेरिका पढ्न गएकी छेवाङ सादुतछाङ केही वर्षअघि नेपाल फर्किन्। धेरै समय बाहिरै बसेकाले उनलाई उतैको रहनसहनले छोइसकेको थियो। विशेषगरी खानपिनमा। चिनी भएका खानेकुरा त उनले खानै छाडेकी थिइन्।
नेपाल आएपछि अर्गानिक र चिनी नभएको जुस खोज्न उनी धेरै पसल र सुपरमार्केट चहारिन्। चित्तबुझ्दो कतै फेला परेन।
'यहाँ पाइने जुसमा चिनी छैन भनिए पनि हुन्थ्यो नै,' उनले सुनाइन्, 'मलाई चित्तै बुझेन। अरू कतिले यो समस्या भोगेका होलान् भन्ने लाग्यो।'
उनी कहिलेकाहीँ जुस खान मन लागे घरमै बनाउँदी रहिछन्। आमा र हजुरआमालाई पनि खुवाउँथिन्। उनले बनाएको जुस घरमा सबैलाई मनपर्थ्यो। २४ वर्षीया छेवाङलाई यसैबाट आइडिया आयो। आफ्नो हातमा जुस बनाउने सीप छ भने किन त्यसको उपयोग नगर्ने?
उनी आफ्नो र अरूको समस्या समाधान गर्नतर्फ लागिन् र कम्पनी खोल्ने योजना बनाइन्।
'म एकदमै हेल्थ कन्सिअस छु,' छेवाङले भनिन्, 'बजारमा चित्तबुझ्दो जुस कहीँ फेला नपरेपछि आफैं बनाउने सोच आयो।'
उनले यो योजना सानैदेखिका मिल्ने साथी सोनाम श्रेष्ठलाई सुनाइन्। स्वस्थ खान्कीका मामिलामा यी दुई बालसखाको रूचि उस्ताउस्तै छ।
छेवाङ सात वर्षको हुँदै भारत गएकी थिइन्, त्यहीँबाट अमेरिका। न्युरो साइन्स पढेकी छेवाङ र विदेशबाटै रसायनशास्त्र पढेका सोनामलाई जुस बनाउने योजनाले दुई वर्षअघि फेरि भेटायो।
छेवाङ र सोनाम आफ्नो योजनामा अघि बढे। छेवाङका आमा र हजुरआमाले पनि हौस्याए। कम्पनीको नाम पनि आमाले नै सुझाइदिइन्, 'नोचिनी'। अर्थात्, चिनी नभएको जुस।
काम भने नाम राख्न जति सहज थिएन।
जुसको स्वादका लागि उनीहरूले विभिन्न फलफूल-तरकारी परीक्षण गरे। लौका, बन्दा, काँक्रो, गाँजर, साग लगायतको मिश्रण र परीक्षणमा रसायनशास्त्रका विद्यार्थी सोनामको ज्ञान काम लाग्यो।
'फलफूल-तरकारी रसिलै हुन्छन्। हामीले सही मात्रामा कुन फल केसँग मिल्छ भनेर परीक्षण गर्यौं र त्यही हिसाबमा अघि बढ्यौं,' २४ वर्षीय सोनामले भने।
उनीहरूले सोचेजस्तो जुस बनाउन नयाँ विधि चाहिन्थ्यो। छेवाङका अनुसार नोचिनी जुसमा कुनै रसायन (प्रिजर्भेटिभ) र चिनी प्रयोग गरिएको छैन। यसलाई कोल्ड प्रेस–विधिमा तयार गरिने उनको दाबी छ।
कोल्ड–प्रेस विधिमा फलफूल-तरकारीलाई निश्चित र आवश्यक तापक्रममा राखेर बेस्सरी पेलेर जुस निकालिन्छ। यसरी निकालिएको जुसमा पोषण यथावत रहने हुँदा स्वास्थ्यका लागि फाइदाजनक हुने उनको भनाइ छ।
'यो प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो,' छेवाङले भनिन्, 'ब्लेन्डर वा मिक्सरबाट जुस निकाल्दा त्यसमा भएको पोषक तत्व नष्ट हुन्छ।'
एक वर्षमा नोचिनीले आफ्नो बजार विस्तार गरिसकेको छ। सुरूआती चरणमा आर्थिकदेखि कामदारका विषयमा केही समस्या आइपरे पनि उनीहरूको आत्मविश्वास नडगमगाएको सोनाम बताउँछन्।
'हामीले जम्मा दश–पन्ध्र हजारमा व्यवसाय सुरू गरेका हौं। हामीसँग पैसा त्यति नै थियो,' सुरूआती दिन सम्झिँदै सोनामले भने, 'तर हाम्रो समान विचारका कारण व्यवहारिक सहजता भयो। अरू अप्ठ्यारा भए पनि गर्दै जाँदा रमाइलो भयो, बानी पनि।'
सोनाम र छेवाङका अनुसार नोचिनीले पहिलोपटक चार स्वादमा जुस निकालेको थियो। सुरू-सुरूमा प्लास्टिकको 'टेक–अवे' (बोकेर लैजान मिल्ने) ग्लासमा दिन्थे।
'पहिलोपटक हामीले तीस गिलास जति बेच्न राखेका थियौं,' छेवाङले भनिन्, 'धेरैजसो नेपालीले नै किने। यति धेरै नेपाली ग्राहक होलान् भनेर सोचेका थिएनौं। नेपालीहरू स्वास्थ्यलाई लिएर सचेत रहेछन्। यसले हाम्रो धारणा बदलियो र हौसला पनि दियो।'
अचेल नोचिनी भारतमा उत्पादन भएको पुनः प्रयोग हुने बोतलमा प्याकेजिङ हुन्छ।
छेवाङका अनुसार उनीहरू बोतल संकलन गर्छन् र डोको रिसाइकलमा पठाउँछन्। डोको रिसाइकल पुराना समान पुनः प्रयोग र प्रशोधन गर्ने कम्पनी हो, जहाँ छेवाङले छ महिना प्रशिक्षार्थीका रूपमा काम गरिसकेकी छन्।
२५० मिलिलिटरको नोचिनी जुस बोतललाई तीन सय रुपैयाँ पर्छ। हामीकहाँ यो महँगो लागे पनि गुणस्तरमा कुनै सम्झौता नगरेको उनीहरूको दाबी छ। यसलाई सस्तोमा कसरी बिक्री गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको उनीहरू बताउँछन्।
नोचिनीका जुस ग्रिन मसिन (केरा, बदाम र पालुंगोको मिश्रण), लेमोनेड (ऊखु, पुदिना र कागती), हाइड्रेटर (खरबुजा र चियाको बीऊ), विट इट (स्याउ र सखरखण्ड) लगायत स्वादमा पाइन्छन्। छेवाङका अनुसार यी सबैले राम्रो बजार पाइरहेको छ।
मौसमी फलफूल र तरकारीमा भर परेर बनाउनुपर्ने भएकाले केही दुःख भने हुन्छ।
हाल नोचिनी फिटसप, क्यूएफएक्स, सेल्स बेरी, जिमखाना, पम्परनिक्कल बेकरी लगायतमा पाइन्छ। यसलाई सामान्य पसलमा पनि राखेर सबैतिर पुर्याउने योजना बनाइरहेका छन् छेवाङ र सोनामले।
'आफूले पढेको ज्ञान प्रयोग गर्दै स्वस्थकर नोचिनी बजारमा ल्याउन सफल भएका छौं। व्यापार गर्न बिजनेस नै पढ्नुपर्छ भन्ने छैन, विश्वास हुनुपर्छ,' सोनामले भने, 'मन भए जे पनि गर्न सकिन्छ।'
स्वास्थ्यका लागि फाइदाजनक भए पनि नोचिनीको मुख्य चुनौती लामो समय राख्न नसक्नु हो। कोल्ड प्रेस विधिमा बनाइएकाले प्याकेजिङको २८ दिनभित्र मात्र खान मिल्छ।
'स्थिति चुनौतीपूर्ण छ। तर हार नमानी धैर्य भए सफलता मिल्छ,' उनीहरू भन्छन्।