१४ वर्ष लामो गृहिणी जीवन बिताएर सुनिता मेस्तरनी २ वर्षअघि घरबाहिरको काममा निस्किइन्।
आफ्नो घरमा कुशल बुहारीको नाम कमाइसकेकी थिइन्। बिहे गरी आएको १४ वर्षमा उनले घरको काम गरिन्, व्यवस्थापन गरिन्, ४ जना छोरा र दुई जना छोरीलाई स्कुल जान सक्ने बनाइन्।
उनलाई अझै चित्त बुझिरहेको थिएन। उनी आफ्ना पतिलाई घरखर्च जुटाउन सहयोग गर्न चाहन्थिन्। उनको श्रीमान् सन्तोष जनकपुरधामकै निजी विद्यालयमा सरसफाइको काम गर्छन्, महिनाको १५ हजार रुपैयाँ कमाउँछन्।
‘श्रीमानको कमाइले परिवार धान्न एकदमै गाह्रो भइरहेको थियो,' उनले भनिन्, 'अब मैले पनि घरखर्चका लागि काम गर्नुपर्छ भन्ने लागिरहेको थियो।'
यस्तो सहयोग गर्न घरको चौखट नाघ्नै पर्थ्यो।
२०७४ सालको स्थानीय चुनाव त्यहीबेला आयो।
जनकपुर उपमहानगरपालिका- ३ बाट वडाध्यक्ष उठेका दीपेन्द्र साह एक दिन उनको घरमा आए।
भोटमात्र माग्न होइन, उनलाई चुनावमा दलित वडा सदस्य उठ भनेर आग्रह गरे।
सुनितालाई भने ढुंगा खोज्दा देउता मिलेझैं भयो।
अहिले उनी जनकपुरधाम उपमहानगरपालिका-३ की सदस्य हुन्।
दलित कोटाबाट उनले निर्वाचन जितिन्। उपमहानगरपालिकाकी कार्यपालिका सदस्य पनि हुन्।
'घर खर्च जोड्ने चिन्ता थियो अब आफ्नो वडाको काम गर्ने जिम्मा पनि भयो,' उनले भनिन्।
उनलाई वडा सदस्य बनाउन उनका पतिको कम योगदान छैन।
सुनिताले बाहिर काम गरोस् भन्ने उनी चाहन्थे। घरबाहिर हिँड्ने भएकाले उनलाई थाहा थियो राष्ट्रिय जनता पार्टी नेपालले वडा नम्बर ३ मा दलित महिला सदस्यको खोजी गरिरहेको छ।
आफ्नी पत्नी वडामा उठ्न सक्ने कुरा उनैले वडाअध्यक्षका उम्मेदवार दीपेन्द्र साहलाई भनेछन्।
'मेरो पतिको कुरा सुन्नेबित्तिकै दीपेन्द्र जी आफैं प्रस्ताव लिएर हाम्रो घरमै आउनुभयो,' सुनिताले भनिन्,'म त कामको खोजीमै थिएँ। नयाँ अनुभव पनि हुन्छ भनेर म तयार भएँ।'
यसरी उनी दलित महिला सदस्यका लागि चुनावमा होमिइन्।
'म चुनावमा उठेँ,प्रचारप्रसार गर्न मेरो पतिले दिनरात एक गरिदिएका थिए' उनले भनिन्।
तर सासूलाई भने बुहारी राजनीतिमा आएको उति साह्रो मन परेको थिएन। आफ्नी बुहारीले अरू घरका बुहारीझैं घर धन्दा धानोस् भन्ने उनको मनमा थियो होला।
उनको ‘नाराजी’ पनि धेरै दिन टिकेन। जुनदिन चुनावमा विजयी भएर फूलमालासहित सुनिता आइन् त्यो दिन उनका सासुका सारा गुनासा सकिए।
'मैले चुनाव जितेकोमा सबभन्दा बढी खुसी हुने सासू नै हुनुहुन्थ्यो,’ उनले भनिन्।
यसरी परिवारको साथले राजनीतिमा होमिएकी सुनिता सहजै समाजका काममा लाग्न सकेकी छन्।
उनी आफूलाई लागेका कुरा बोलिहाल्ने स्वभावकी छन्। कतै कार्यक्रममा जाँदा अचेल उनी बोल्न अघि सर्छिन्।
'सुरूमा त बोल्न एकदमै डर हुन्थ्यो म बोल्दा ठीक हुन्छ कि गल्ती हुन्छ, बुहारी छु बाहिर बोल्दा समाजले के भन्छ भन्ने हुन्थ्यो, अब चाहिँ त्यस्तो हुन्न। मञ्चमा गएर बोल्न पाएँ खुसी हुन्छु,' उनले भनिन्।
यो स्वभाव भने उनले आफ्नो आमाबाट पाएकी हुन्।
सुनिताको जन्मभूमि भने भारत हो। उनकी आमा पनि राजनीति गर्थिन्। पञ्चायतको सदस्य थिइन्।
राजनीतिमा सबभन्दा ठूलो कुरा नै आफूलाई लागेको बोल्नु हो अनि आफूले बोलेको कुरा पुर्याउनु।
अहिले सुनिता नेता बन्ने सपना बुन्दै छिन्। घर चलाउन सक्नेले देश चलाउन सक्छन भन्ने कुरा विस्तारै उनलाई लाग्न थालेको छ।
उनले अब आफू कोही भन्दा कम छैन भन्ने जानिसकिन्। तर समाजले भने हेलाहोचो गर्न छोडेको छैन।
दलित भनेर गरिने हेलाहोचो र छुवाछूतले भने उनको मन दुख्छ।
'दलित जतिसुकै ठूलो ओहोदामा पुगे पनि आखिरमा उनीहरूसँग छुवाछूतको व्यवहार भइ नै हाल्ने रहेछ,' सुनिताको गुनासो छ।
भाषण गर्ने बेला कसैले पनि छुवाछूत, भेद्भाव गर्नुहुन्छ भन्न सक्दैनन्। जब मञ्चबाट ओर्लिन्छन् धेरैले आफ्नो भाषण समेत बिर्सिएको उनले अनुभव गरेकी छन्।
त्यसो त उनले आफ्नो वडा कार्यालयमै पनि छुवाछूतको अनुभव नगरेकी होइनन्।
'उपमहानगर वा वडा कार्यालयमै बैठक हुँदा म समेत पुग्ने गर्छु, प्यास लागेर कुनै बोतलबाट मैले पानी खाँए वा झुक्किएर बोतल मैले छोएँ भने कसैले पनि फेरि त्यो बोतल उठाएर पानी खानुहुन्न,' उनले भनिन्।
तर उनले किन मैले छोएको बोतलको पानी नखानुभएको भन्न सकेकी छैनन् अझसम्म।
उनको मन त्यसैले खिन्न हुन्छ।
'छुवाछूतको व्यवहार र यस्ता सोच देखेर भित्रैदेखि पोल्छ मलाई,’ उनले भनिन्।
जति दु:ख पाए पनि उनको सपना छ,जुन समुदायबाट चुनाव उठेर जितेकी थिइन् त्यो समुदायको खुसीको लागि लड्ने।
दलितका लागि वडा र उपमहानगरमा कस्ता कस्ता बजेट र अवसर आएका छन् भन्ने कुरामा उनी निकै सचेत छिन्।
'म सचेत छु तर त्यो बजेट सम्बन्धित ठाउँसम्म अझै पुग्न सकेको छैन यही त छ समस्या,' उनले भनिन्, 'म आफ्नो ठाउँबाट सकेको गर्दैछु।'
दलितका लागि अवसरहरू धेरै आउँछन्। जानकारीको अभाव र शिक्षाको कमीका कारण ती सुविधा र अवसरबाट भने वञ्चित छन्।
'मैले मेरो वडामा भने दलित महिलाहरूलाई वडामा कस्ता कस्ता अवसर पाइन्छ भन्ने बारे जानकारी गराइरहन्छु ताकि उनीहरू म हुँदाहुँदै अवसरबाट वञ्चित हुन नपरोस्,’ उनले भनिन्।
उनले आफ्नो वडामा एउटा भवन निर्माण गराउन सफल भएकी रहिछन्। त्यहाँ दलितहरूले आफ्ना विभिन्न कार्यक्रमका लागि उपस्थित हुन सकून् भन्ने उनको चाहना रहेछ।
'दलित विद्यार्थीहरूका लागि निःशुल्क ट्युसनको व्यवस्था गरिदिनका लागि पहल गर्दैछु,’ उनले भनिन्।
घरको चौखट नाघेर निस्किए पनि उनले घुम्टो भने अझै छोडेकी छैनन्। उनलाई यो मिथिलाको संस्कृति हो भन्ने लाग्छ। तर आफ्नो समुदायको लागि घुम्टोबाटै उनी बोल्ने गर्छिन्।
सुनितालाई उनका वडावासीले ‘स्मार्ट बुहारी’ भन्दा रहेछन्।
भारतको बिहारबाट मेट्रिक पास गरेकी सुनिताको आफ्नो देश अब नेपाल नै हो। यहीँको समाजलाई उनले जति सक्दो बदल्ने छिन्।
सदस्यले पाउने बैठक भत्ता लगायतका सुविधा उनलाई हुन्छन्। अहिले पनि मासिक २५ हजार जति उनको भत्ता आउँछ। छोराछोरी पढाउन त्यतिले पुग्छ। घर पतिले नै चलाउँछन्।