धनुषामा शुक्रबार राती भएको बम विस्फोटमा घाइते बनेका प्रहरी निरीक्षक अमिर कुमार दाहालको उपचारका क्रममा निधन भएको छ।
शुक्रबार मध्यराती धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका अन्दाजी २४ वर्षका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो भने निरीक्षक दाहालसहित ४ घाइते भएका थिए।
प्रहरी निरीक्षक दाहालको बिहान पौनौ सात बजेतीर निधन भएको धनुषा प्रहरीका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका हुन्।
घटनामा दाहालसँगै प्रहरी जवान रिजन महतोसहित मृतक राजेश्वरका अर्का छोरा प्रकाश साह र छोरी अञ्जली साह गम्भीर घाइते भएका थिए।
घाइते उनीहरूको जनकपुरमा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो।
साहको घरबाहिर पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएको प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको टोलीले उपस्थित भीड हटाउदै गर्दा विष्फोट भएको बताइएको छ।
यो पनि पढ्नुहोस्ः