जाडोको मौसम आएलगत्तै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा रोगीहरुको चाप ह्वात्तै बढ्ने गर्थ्यो। आँखाको शल्यक्रिया पनि हुने भएकाले जानकी आँखा अस्पतालमा बिरामी पुगेपछि अन्यत्र जानुपर्ने बाध्यता रहँदैनथ्यो।
तर अहिले अवस्था फेरिएको छ। अस्पतालका यन्त्र, भौतिक संरचना मात्रै धरासायी भएका छैनन्, जनशक्तिको समेत अभाव खड्किएको छ। अस्पताललाई प्रभावकारी बनाउनुपर्ने भन्दै अस्पताल परिसर बाहिर रहेका चश्मा तथा औषधि व्यवसायीहरू सुधार संघर्ष समिति गठन गरेर आन्दोलित समेत भएका छन्। संघर्ष समितिले एक पत्रकार सम्मेलन गरी अस्पतालमा निर्देशक नभएकै कारण दिन प्रतिदिन अस्पताल धरासायी हुँदै गइरहेको आरोप लगाएको छ।
समितिका अध्यक्ष श्यामसुन्दर झाले मेडिकल डाइरेक्टर एमडी हुनुपर्ने प्रावधान रहे पनि डिप्लोमाको मात्रै योग्यता रहेका हेमशंकर झालाई सोर्सका आधारमा वर्षौंदेखि जिम्मा दिइँदै आएको आरोप लगाए।
संघर्ष समितिका उपाध्यक्ष मनोज कुमार शर्माले मेडिकल डाइरेक्टर झा अवकाश प्राप्त गरिसके पनि विगत ५ वर्षदेखि पटक पटक समय थप गराउँदै आएको आरोप लगाए। उनले भने ‘झाको एक त योग्यता पुग्दैन, अर्कोतर्फ अवकाश प्राप्त गरेपनि ५ पटकसम्म कन्ट्रयाक्ट थप भइसक्यो।’
शर्माले उनको कन्ट्रयाक्ट गत डिसेम्बर १९ मा समाप्त भसकेको र फेरि दोहोरिनका लागि पैरवी गरिरहेको आरोप लगाए।
यही व्यवस्थापनका कारण अस्पतालको अवस्था धरासायी हुँदै गएको उनको आरोप छ। झालाई यस सम्बन्धमा ज्ञापनपत्र बुझाउन जाँदा आफ्नो कन्ट्रयाक्ट सकिएको भन्दै बुझ्न नमानेको उनले बताए।
मेडिकल डाइरेक्टर झाले आफूमाथि संघर्ष समितिले लगाएको सम्पूर्ण आरोप निराधार रहेको दाबी गरे। उनले आफू मेडिकल डाइरेक्टर बन्नका लागि पैरवी नगरेको बरु व्यवस्थापन समितिले नै पटक पटक आफूलाई आग्रह गरेको दाबी गरे।
अस्पतालभित्रै बिरामी ठगिँदै
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित यस अस्पतालमा उपलब्ध सहज एवं सरल शल्यक्रियाका लागि आँखाका रोगीहरू त्यहाँ पुग्ने गर्छन्। तर देश विदेशमा नाम कमाएको जानकी आँखा अस्पताल आन्तरिक किचलोका कारण बदनामी भइरहेको भन्दै संघर्ष समितिका अध्यक्ष झाले चिन्ता व्यक्त गरे।
बिरामीहरू अस्पतालभित्र ठगिँदै आएकोले बिरामीहरूको चाप घट्दै गइरहेको उनले बताए।
तर अस्पताल प्रशासनले बिरामी जाँच गराउनका लागि आउनेहरूको क्रम नघटेको दाबी गर्छ। जानकी आँखा अस्पतालका कायम मुकायम प्रशासकीय अधिकृत दीपेन्द्र कुमार सिंहले अस्पतालमा दैनिक ५ सयदेखि ६ सयसम्म बिरामीहरूले सेवा लिँदै आएको जानकारी दिए।
उनका अनुसार अस्पतालमा दैनिक ४ सय देखि ५ सयसम्म बिरामीले ओपिडी सेवा लिँदै आएका छन् भने ४० देखि ५० जनासम्म बिरामीले सर्जरी सेवा लिँदै आएका छन्।
सिंहले बिरामीबाट अस्पतालले दैनिक ३ लाखसम्मको आम्दानी गर्दै आएको जानकारी गराए।
जानकी आँखा अस्पतालमा ८० प्रतिशत नेपाली बिरामी जाँच गराउँछन् त्यसका साथै २० प्रतिशत भारतीय बिरामी आउने गरेका छन्।
यता संघर्ष समितिका उपाध्यक्ष शर्माले अस्पताल प्रशासनले जाँच गर्ने बिरामीलाई फलानो औषधि वा चस्मा फलानो पसलमै किन्नका लागि दबाब दिँदै आएको र सेवाग्राही चर्को मूल्य तिर्न बाध्य भएको बताए। औषधि समेत कमसल हुने गरेको उनको आरोप छ।
सन् १९८२ मा स्थापना भएको यस अस्पतालमा अहिलेसम्ममा २१ लाख ७४ हजार ६ सय ५ बिरामीले सेवा लिइसकेका छन्। जसमध्ये २० लाख ३ हजार १ सय ६८ जनाले ओपिडी र १ लाख ७१ हजार ४ सय ३७ जनाले शल्यक्रिया गराएका छन्।
सन् २०१७ मा १ लाख १३ हजार ३ सय २३ जना, सन २०१८ मा १ लाख २२ हजार ३ सय ९७ र सन् २०१९ मा १ लाख १४ हजार ४ सय ८० जनाले सेवा लिएको अस्पतालको तथ्यांक छ।
अस्पतालका चिकित्सक सीमापारी उपचार सेवा दिँदै
जनकपुरधामको आँखा अस्पतालमा उपचार गराउनेहरूमा भारतीयको संख्या समेत बाक्लो हुन्थ्यो। अस्पतालकै चिकित्सकले सीमापारि क्लिनिक सञ्चालनमा ल्याएपछि भारतीय बिरामी यहाँ आउन छोडेको संघर्ष समितिले दाबी गरेको छ।
संघर्ष समितिका अध्यक्ष श्यामसुन्दर झाका अनुसार चिकित्सकहरू प्रदीप यादव, ज्ञानेन्द्र विमल, अरुण सिंह, रुदल प्रसाद साह र बृजकिशोर राउतले सीमापारि नाकामा क्लिनिक सञ्चालन गर्दै आइरहेका छन्। निजी क्लिनिकमा समेत उनीहरूले आँखा अस्पतालकै लेटरप्याडको प्रयोग गर्दै आइरहेको उनको आरोप छ।
मेडिकल डाइरेक्टर झाले यो आरोपलाई स्वीकार गर्छन्। यस विषयमा चाँडै नै छलफल गर्ने उनले प्रतिवद्धता जनाए।