लेखक बुद्धिसागरले ठमेलका खम्बामा असरल्ल तार काटिएको देखेपछि ट्विटरमा लेखे, 'तारका गुजुल्टा नभएर होला, आज आकाश देखियो ठमेलमा।'
यी तारका गुजुल्टाले हाम्रो सहर साँच्चिकै कुरूप पारेको छ। कहीँ चुँडिएर लत्रिएका हुन्छन्, कहीँ मान्छे र सवारी अल्झिने गरी सडकमा छरिएका। सहरको सुन्दरता त नासियो नै, मान्छेको ज्यानमा पनि जोखिम।
कम्तिमा ठमेलले तारको बन्धनबाट आफूलाई मुक्त पार्ने प्रयास गरेको छ।
भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै काठमाडौं महानगर, नेपाल टेलिकम, विद्युत प्रधिकरण, महानगरीय प्रहरी कार्यालयको सल्लाहमा ठमेलको तार काट्ने निर्णय भएको हो।
'तार काटेपछि बजार छ्यांग देखिएको छ,' नियमित ठमेल चहार्ने लेखक बुद्धिसागरले मंगलबार साँझ सेतोपाटीसँग कुरा गर्दै भने, 'म हरेक दिनजसो ठमेल जान्छु। अहिले पनि यहीँ छु।'
'जताततै अल्झिएका तार, गुजुल्टा, आँखामा बिझाइरहेको थियो। त्यसमा पनि दसथरी चिजबिज अल्झिएर कुरूप देखिएको थियो। अहिले ठाउँ नै फेरियो,' उनले भने।
तार काटिएपछिको ठमेल। तस्बिरः समिक्षा अधिकारी/सेतोपाटीतार काटिएपछि ठमेलमा बिजुली, टेलिफोन, इन्टरनेटको समस्या भने सुरू भएको छ। यसले काममा बाधा भए पनि बजार सफा हुँदा स्थानीय र व्यापारी खुसी छन्।
स्थानीय सीताराम भण्डारी २५ वर्षदेखि ठमेलमा क्यामरा व्यापार गर्दै आएका छन्। दिन-प्रतिदिन कुरूप बन्दै गइरहेको बजारबाट अनावश्यक तार हटेपछि उनलाई धेरै वर्ष पहिलेको ठमेल ब्यूँतिएजस्तो लागेको छ।
'काठमाडौं महानगरले यसपटक साँच्चै राम्रो काम गरेको छ,' महानगरको यो काम प्रशंसा गर्दै भण्डारीले भने, 'मैले व्यापार सुरू गर्दा तारको गुजुल्टा, फ्लेक्स बोर्ड, ध्वजापताका केही थिएन। तार त हट्यो, अब फ्लेक्स र नचाहिने बोर्ड पनि हटाउन सके पहिलेजस्तै सुन्दर हुने थियो।'
यी तार कतिपय पर्यटकका खासखुसका विषय हुन्थे। चोरी औंलाले देखाउँदै माथि फर्केर अचम्म मान्थे- मुख्य बजारका यी तार उनीहरूलाई असुरक्षित र अचम्मलाग्दो हो।
भण्डारी थप्छन्, 'कतिपयले फोटो खिचेका छन्। ती फोटो कहाँ–कहाँ पुग्छ, कस्तो सन्देश पुर्याउँछ, हामीलाई के थाहा। बेलैमा सचेत भए राम्रो।'
उसो त हामी नेपालीले नै सामाजिक सञ्जालमा धेरैपटक यस्ता दृश्यमा गाली गर्दै फोटा राखेका छौं।
तार काट्नुअघि ठमेल। तस्बिरः नारायण महर्जन/सेतोपाटी
तार काटिएपछिको ठमेल। तस्बिरः नारायण महर्जन/सेतोपाटीमहानगरपालिकाले स्थानीय व्यापारीलाई बोर्ड र फ्लेक्स नराख्न मौखिक निर्देशन दिइसकेको छ। बाहिर सडकसम्म आइपुग्ने गरी राखिएका बोर्डले बजार सौन्दर्य बिगारेको व्यवसायीहरू नै स्वीकार्छन्।
स्थानीय नवीन महर्जन १५ वर्षदेखि ठमेलमा पस्मिना व्यवसाय गर्दै आएका छन्। उनको पसलको विज्ञापन अंकित फ्लेक्स सडकसम्म आइपुगेको छ। उनी आफूलाई पनि आफ्नो बोर्डले सडक ओगटेको मनपरेको छैन। तर सबैले राखिसकेपछि आफ्नो व्यवसाय ओझेल पर्छ कि भन्ने डर पनि छ।
फ्लेक्स राख्न नपाउने नियम लागू भए आफूले नराख्ने बताउँदै उनले भने, 'तारको गुजुल्टो मात्रै हटाउँदा यति सफा देखिएको छ। बोर्ड पनि हट्यो भने झन् राम्रो देखिन्छ। म पनि राख्दिनँ, अरूले पनि नराखून्।'
धमाधम तार काट्न थालेदेखि ठमेल इन्टरनेट र टेलिफोन कम्तिमा १५ दिन अवरुद्ध हुने बताइएको छ। एक साता बितिसक्यो। यससँगै इन्टरनेटमा आधारित व्यवसाय एक्जोटिक माउन्टेन ट्रेक सञ्चालक शंकर पाठक घाम तापेर बसेका छन्।
सहर सुन्दर हुँदा उनलाई खुसी लागेको छ तर व्यवसाय नै बन्द गरेर बस्नुपर्दा भने अलि दुःखी देखिए।
तार काटिएपछिको ठमेल। तस्बिरः नारायण महर्जन/सेतोपाटी'पहिल्यै हटाउनुपर्थ्यो, ढिलै भए पनि काम भयो, खुसी लागेको छ,' पाठकले तारिफसँगै गुनासो गरे, 'पूर्वाधार तयार गरेर काम गरेको भए सजिलो हुन्थ्यो। सेवाग्राही आएर फर्किएर जानुपरेको छ।'
यतिबेला धेरै पर्यटक क्रिसमस र नयाँ वर्षका लागि आफ्नो देश फर्किने तयारीमा छन्। नयाँ वर्षमा आएका पर्यटकलाई राम्रो व्यवस्थापन गर्नुपर्ने थियो। काम रोकिएको सुनाउँदै पाठकले भने, 'भ्रमण वर्षको सुरुआतमा यो राम्रो सन्देश होइन।'
अवरूद्ध सेवा चाँडै सञ्चालन होस् भन्ने मात्र आफूहरूको चाहना रहेको भन्दै अब आउने पर्यटकलाई ठमेलको सुन्दर दृश्य देखाउन पाउनेमा पाठक लगायतका पर्यटन व्यवसायी ढुक्क छन्।
लेखक बुद्धिसागरका शब्दमा भन्दा, 'वर्षौं कपाल नकाटेको, नकोरेको, दाह्री-जुँगा पालेको मान्छेजस्तो देखिने ठमेल एकाएक चट्ट कपाल, दाह्री-जुँगा मिलाएको ह्यान्डसम ठिटोजस्तो भएको छ।'
तार काटिएपछिको ठमेल। तस्बिरः नारायण महर्जन/सेतोपाटी