घोराही उपमहानगरपालिकाले नगल्ने फोहोर खरिद गर्ने भएको छ। नगरको वातावरण तथा विपद् व्यवस्थापन समिति अन्तर्गतको सरसफाई स्वच्छता शाखाले नगल्ने फोहोरको वर्गीकरण गरेर खरिद गर्ने निर्णय गरेको छ।
उपमहानगरले कपडा र पुनः प्रयोगमा आउने प्लाष्टिकजन्य फोहोरलाई प्रतिकिलो ५ रुपैयाँ र पुनः प्रयोगमा नआउने वस्तुलाई प्रतिकिलो ३ रुपैयाँमा खरिद गर्न थालेको छ।
प्रत्येक वडाका टोल विकास संस्थालाई नगल्ने फोहोर निश्चित ठाउँमा संकलन गर्न आग्रह गरिएको छ। त्यसरी संकलित फोहर घोराही उपमहानगरले खरिद गरेर बिक्री गर्ने योजना बनाएको छ।
नगल्ने फोहोर खरिद गर्न घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
फोहोरबाट संकलित रकमलाई टोल विकास संस्थाले पूर्ण सरसफाइको कार्यक्रमअन्तर्गत साबुन, ब्रस, हारपिक खरिदमा लगाउने गरी नीति तय गरिएको छ।
उपमहानगरले प्लाष्टिकका झोलालाई निरूत्साहित गर्न, कागज र फाइबरका झोलालाई प्रोत्साहन गर्ने नीति अघि सारेको मेयर नरुलाल चौधरीले जानकारी दिए।
गल्ने फोहोरबाट प्राङ्गारिक मल तयार पारेर बेच्ने र ल्याण्डफिल साइडमा शून्य फोहोरको अवस्था ल्याउने योजना रहेको चौधरीले बताए।
सिसा तथा प्लाष्टिकजन्य बस्तुहरुलाई बाहिर बिक्री गर्ने र गल्ने फोहोरबाट ग्याससँगै मल उत्पादनको तयारी भइरहेको उनले बताए। घोराही १६ मा फोहरबाट वायोग्यास उत्पादन गर्नेगरी काम भइरहेको छ।