काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा थाइल्याण्डलाई आधार बनाएर उडेका विमानका यात्रु प्रहरीको उच्च निगरानीमा पर्छन्। थाइल्याण्डबाट आधार बनाएर काठमाडौं ओर्लेका यात्रुहरूले सुन तस्करी गर्ने गरेको थालेको मेसो थाहा पाएपछि त्यहाँबाट उडान भरेर आउने थाइ एयर र थाइ लायनका यात्रुमाथि प्रहरीले विशेष निगरानी राख्ने गरेको छ।
थाइ एयर र थाइ लायनका साथै दुबईबाट उडान भर्ने फ्लाइ दुबई, कतार, मलेसिया, थाइल्याण्ड र हङकङबाट आएको राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्सका यात्रुहरूमाथि पनि प्रहरीले निगरानी राख्ने गरेको छ।
ती स्थानबाट नेपालमा सुन ल्याउँदा एक तोलामा ४ देखि ६ हजारसम्म नाफा हुन्छ। अझ राजस्व पनि तिर्नु पर्दैन।
सोही कारण त्यहाँबाट नेपालमा सुन तस्करी भइरहेको प्रहरीले जनाएको छ।
विमानस्थलमा एसएसपीको कमाण्डमा अहिले विमानस्थल प्रहरीको युनिट छ भने अपराध महाशाखाको र राष्ट्रिय अनुसन्धानको टोली खटेको हुन्छ।
साथै, भन्सार कार्यालयका कर्मचारी पनि खटेकै हुन्छन्।
मंगलबार बिहान विमानस्थलमा फ्लाइ दुबईबाट काठमाडौं ओर्लेका भारतीय नागरिक सुनिल हरि रोह्ररा आधा किलो सुनसहित पक्राउ परे। विमानस्थलमा खटेका प्रहरीलाई सो विमानबाट आएका एक यात्रुले थोरै मात्रामा सुन तस्करी गरेको भन्ने सूचना थियो। तर यात्रुको नाम खुलेको थिएन। विमानस्थलमा ओर्लेपछि प्रहरीले एक दर्जनभन्दा बढीमाथि निगरानी राखेको थियो।
प्रहरी निगरानीमा रहेका यात्रुमा सुन भेटिएन।
प्रहरीले अब भने सुनिललाई नियन्त्रणमा लिएर खानतलासी गर्नुपर्ने निष्कर्ष निकाल्यो। विमानस्थलको सुरक्षा जाँच र भन्सार छलेर पार्किङसम्म आइपुगेका सुनिललाई अपराध महाशाखाबाट खटेको टोलीले नियन्त्रणमा लियो।
त्यसबेला टोलीले विमानस्थल प्रहरीको पनि सहायता लिएको थियो। सुनिलमाथि खानतलासी गर्यो। उनको लगेजमा सुन खोज्यो तै पनि भेटिएन। सूचना पाएर पनि सुन समात्न नसकिएपछि प्रहरीले नेपालमा भइरहेको सुन तस्करीको ट्रेण्ड पछ्यायो। सोही टोलीले फल्स बटममा, सुटकेशको ह्याङगरमा, मलद्वारमा लुकाएर ल्याएको सुन दर्जनौं पटक बरामद गरिसकेको छ।
सुन नभेटिपछि सुनिललाई छाड्ने तयारी गरिरहँदा मलद्वारमा सुन लुकाएर ल्याएको हुन सक्ने आंशका प्रहरीको थियो।
मातहतका प्रहरी र भन्सारसँग समन्वय गरेर सुनिललाई सिनामंगलको केएमसी लगियो। अस्पतालमा एक्सरे गर्दा सुनिलको मलद्वारमा २ वटा डल्लो देखियो।
सुनिललाई शौचालय लगियो। त्यसलाई निकालियो। निकाल्दा निलो प्लाष्टिकले बेरेको २ वटा डल्लोमा आधा किलो सुन भेटियो।
सुन पत्ता नलागोस् भनेर सुनिलले धुलो सुनमा केमिकल हालेर ल्याएको प्रहरीसमक्ष बताएका छन्। उनले नेपाल हुँदै भारतमा सुन तस्करी गर्ने गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपालको विमानस्थलमा लगेज जाँच गर्नेमात्र मेसिन छ।
यात्रुमाथि जाँच गर्ने एक्सरे मेसिन छैन।
‘नेपालमा यात्रु जाँच गर्ने एक्सरे विमानस्थलमा हुँदो हो त सुनिल जाँचकै क्रममा पक्राउ पर्दथे’, महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले भने । ‘जाँच मेसिन नहुँदा शंकाका भरमा अस्पताल लगेर सुन छ कि छैन हेर्नुपर्छ। विमानस्थलमा यात्रु जाँच गर्नका लागि प्रविधिमैत्री बनाउन सके अपराध रोकथाममा उल्लेखनिय उपलब्धि हासिल हुन सक्छ।’
जाँच मेसिन नभएकै कारण धेरै तस्करहरू छुट्ने गरेको प्रहरीको निष्कर्ष छ।
पक्राउ परेका सुनिललाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ।