महोत्तरीको बर्दिवास नगरपालिकास्थित लक्ष्मी नारायण माविका आधा दर्जन शिक्षकहरू एक वर्षदेखि तलब भत्ता नपाउँदा बिचल्लीमा परेका छन्।
उनीहरूले एक वर्षदेखि तलब भत्ता पाएका छैनन्। बर्दिवास नगरपालिकाले आफूले गरेको सरूवाको निर्णय कार्यान्वयन नगरेको झोंकमा उनीहरूलाई तलब नदिई राखेको छ।
नगरपालिकाले वडा नम्बर ११ मा रहेको लक्ष्मी नारायण विद्यालयको शिक्षक दरबन्दी मिलानका लागि भन्दै गत माघ २७ गते सरूवा गरेको थियो । जुन सरूवालाई नकार्दै त्यहाँका १६ जना शिक्षकहरूले महोत्तरीस्थित जिल्ला शिक्षा समन्वय इकाईलाई गुहारे। २०७५ फागुन १५ गते जिल्ला समन्वय इकाईले सरूवा निर्णय बदर गरिदियो।
तत्काल अध्यापन गरिरहेकै स्थानमा काजमा खटाउनका लागि समन्वय समितिले नगरपालिकालाई भने पनि नगरपालिकाले उक्त निर्णयलाई नमानी सरूवा भएकै स्थानमा गएर तलब बुझ्न भन्दै आएको छ।
शिक्षक शिरोमणि ढकालले भने ‘पछि हामीले सर्वोच्च अदालतमा समेत मुद्दा दर्ता गरायौं, अदालतले समेत हाम्रै पक्षमा आदेश गरिसकेको छ तर नगरपालिकाले भने अदालतको आदेश अवहेलना गर्दै आएको छ।’
सर्वोच्च अदालतले गत फागुन २३ गते उनीहरूको सरुवा कार्यान्वयन नगर्न र यथास्थानमै काम गर्न दिन आदेश गरेको थियो।
यता बर्दिवास नगरपालिकाका प्रमुख बिदुर कुमार कार्की नगरपालिकाले एसटिआरको आधारमा जुन विद्यालयमा शिक्षकहरूको आवश्यक्ता छ त्यहाँ शिक्षकहरूको दरबन्दी मिलान गर्ने निर्णय गरिएको दाबी गर्छन्।
उनी भन्छन् ‘हिजो जिल्ला शिक्षा कार्यालयलाई आफू अनुसार चलाउन खोज्ने प्रवृत्तिका शिक्षकहरू दरबन्दी मिलान गरिएको स्थानमा जान मानेका छैनन्।’
संविधानले स्थानीय तहलाई दिएको शिक्षासम्बन्धी अधिकार प्रयोग गरेरै आफूहरूले शिक्षक सरुवा गरेको नगरप्रमुख कार्कीको दाबी छ।
उनले भने ‘ यो कुनै आग्रह पूर्वाग्रह ढंगले गरिएको सरूवा होइन।’
तत्काल काजमा खट्न निवदेन दिएका शिक्षकहरूको हकमा आफूहरूले नगरपालिकालाई पटक/पटक आग्रह गरे पनि नगरपालिकाले अटेर गरेको शिक्षा समन्वय ईकाईका प्रमुख शत्रुधन यादवले बताए।
‘हामीले तत्कालका लागि काजमा खट्न माग गरेका शिक्षकहरूको सरुवा नगर्न आग्रह गर्यौं, पटक पटक ज्ञापनपत्र बुझायौं, तर कुनै प्रकारको सुनुवाइ भएन पछि हामीले भन्न छोड्यौं, अदालतकै आदेश नमान्ने नगरपालिकालाई हामीले के भन्न सक्छौं र?’ उनले सेतोपाटीसँग भने।
तलब भत्ता नपाउने शिक्षकहरूमा शिरोमणि ढकाल, वेदबहादुर दाहाल, कुमार बहादुर कटुवाल, योगानन्द झा, रामजीवन महतो, रामकुमार महतो रहेका छन्।