त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान गर्ने भवनको शौचालयबाट दुई जना भारतीय नागरिक पक्राउ परे।
दुबईबाट काठमाडौं ओर्लिएका कासिव मोहम्मद र नयाँ दिल्ली हुँदै काठमाडौं आएका मुस्राफिन मोहम्मदलाई विमानस्थलमा खटेको महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लियो। उनीहरूको साथबाट प्रहरीले ४ वटा बेसारको प्याकेटजस्तो देखिने वस्तु बरामद गर्यो।
हेर्दा बेसारको प्याकेट देखिने त्यो वस्तु जाँच गर्दा सुन भन्ने पत्ता लाग्यो।
उनीहरूले ४ वटा प्याकेटमा १ किलो गालेको सुन हालेर ल्याएका थिए।
दुबईबाट आएका कासिवले दिल्लीबाट आएका मुस्राफिनलाई शौचालयमा गएर सुन दिएका थिए।
मुस्राफिन सुन लिनका लागि दिल्लीबाट बिहीबार नै काठमाडौं आएको खुल्न आएको छ।
पक्राउ परेका कासिवले आफूले अन्डरवेयरभित्र धुलो सुन लुकाएर ल्याएको प्रहरीसमक्ष बताएका छन्।
सुन लिएर आएका कासिवलाई जाँच गर्ने मेसिनले समेत उनीसँग सुन रहेको छ भनि संकेत गरेको थिएन।
यो घटनासँगै विमानस्थलबाट नयाँ ढंगबाट सुन तस्करी भइरहेको खुल्न आएको छ।
यसअघि स्याम्पुको बोत्तल, मलद्वारमा हालेर, फल्स बटम बनाएर सुन तस्करी हुँदै आएको थियो।
‘बेसारको धुलो जस्तो बनाएर सुन तस्करी गर्ने गरेको भेटियो’, महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘तस्करले नयाँ नयाँ जुक्ति लगाएर तस्करी गरे पनि हाम्रो विमानस्थलमा खटेको टोलीले नियन्त्रणमा लिने काम गरिरहेको छ।’
आधा किलो सुनसहित प्रहरीले गत सोमबार एक जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो।
नेपालमा अहिले दुबई, थाइल्याण्ड, चीन र हङकङ लगायतका देशहरूबाट सुन तस्करी हुने गरेको छ।
नेपालमा तस्करी गरेर ल्याइएको सुन भारत पुग्ने गरेको प्रहरीको निश्कर्ष छ।