मुम्बईको त्यो कोठाबाट बर्सोवा समुद्री किनार यस्तरी देखिँदै थियो, मानौं त्यो झ्याल होइन– ज्यूँदोजाग्दो चलायमान पोस्टर हो।
हामी भर्खरै त्यो दृश्य हेर्दै सोफामा बसेका थियौं। उता पियानोसँगै गीत गुञ्जिन सुरू भइहाल्यो।
'सारी उम्र हम, मर मरके जी लिए
एक पल तो अब हमे, जिने दो जिने दो'
हामी अन्त होइन, यस्ता चर्चित संगीत निर्देशकको घरमा थियौं, जसले 'थ्री इडियट्स' फिल्मको यो र यस्ता सयौं गीत मुम्बई फिल्म उद्योगलाई दिएका छन्।
म कुरा गर्दैछु शान्तनु मोइत्राको, जो हाम्रा अघिल्तिर गाइरहेका थिए। शान्तनुलाई गितारमा साथ दिइरहेका थिए, हाम्रै न्ह्यू बज्राचार्य।
गाउँदा गाउँदै नोटेसनले 'हाइ पिच' समात्यो–
'गिभ मी सम सनसाइन, गिभ मी सम रेन
गिभ मी अनदर चान्स, आइ वान्ना ग्रो अप वन्स अगेन'
दुईपटक यो लाइन गाउनेबित्तिकै शान्तनु चिच्याए– 'इम्प्रोभाइज'
अर्थात्, अबका धुन गीतले बाँधिदिएका धागाहरू उधार्दै अघि बढ्नेवाला थियो।
यतिञ्जेल सारंगी समातेका प्रिन्स नेपाली, बाँसुरीमा उमेश पण्डित र ताल बाजामा शम्भु बानियाँले निकालेका आवाज पनि उही प्रवाहमा बग्न थालिसकेका थिए।
ताल र लयहरू कता-कता पुग्थे र फेरि घुमेर उही विन्दुमा आउँथे। बीच-बीचमा जुगलबन्दी पनि चल्दै गयो।
त्यस्तैमा फेरि गीतको तोकिएकै मानक समातेर शान्तनुले सुस्तरी गाए–
'बचपन तो गया, जवानी भी गई'
त्यसपछि असाध्यै धिमा गतिमा फुसफुसाउँदै थामिए-
'एक पल तो अब हमे जिने दो जिने दो'
धुन र आवाजहरू थामिएर चकमन्न भएको बैठक कोठाभित्र तालीको पर्रा छुट्यो। हात-हातमा च्यापिएका मझौला आकारको बियरका बोतल अनि हल्का पेयहरू आपसमा ठोक्किए।
म धेरैपटक मुम्बई पुगेको छु। त्यहाँका अग्ला घरदेखि झोपडपट्टीसम्म हराएको छु। तर, दक्षिण एसियाकै यो मायानगरी मेरो निम्ति यसअघि कहिल्यै यति खुलेको थिएन।
हामी आनी छोइङ ड्रोल्माका साथ भारत भ्रमणमा थियौं। उद्देश्य थियो, 'इकोनोमिक टाइम्स' ले नयाँ दिल्ली र मुम्बईमा आयोजना गरेको आनीको कन्सर्ट।
त्यसै क्रममा हाम्रो टोलीलाई आनीका घनिष्ट मित्र संगीतकार मोइत्राकहाँ दिवाभोजमा निम्त्याइएको थियो। संगीतको माहोलमा रमाउने मानिस शान्तनुको घर पुगेपछि चुर्लुम्मै डुब्छ भनेर आनीले पहिल्यै सुनाइसकेकी थिइन्।
त्यसैले होला, शान्तनु थामिने नाम लिइरहेका थिएनन्। उनी न्ह्यू बज्राचार्यका साथमा फेरि सुरु भइहाले–
'कैसी पहेली है ये, कैसी पहेली जिन्दगानी'
शरत्चन्द्र चट्टोपाध्यायको 'परिणिता' लाई झन्डै डेढ दशकअघि पर्दामा हेर्दै गर्दाको क्षण झल्झली सम्झना आयो। अझ पहिलेका सम्झना पनि आए। त्यो म अस्ट्रेलिया बस्दाको थियो। त्यो बेला सिड्नीका केही क्लबहरूले मत्याउने रातहरूमा 'मूला रूँ' देखाउने गर्थ्यो, जसलाई मैले केही वर्षपछि त्यसको जननी पेरिसमै खोज्ने असफल प्रयास गरेको थिएँ।
पर्दामै सही, हाम्रै भेगकी पुरानी नायिका रेखाको सौन्दर्यका साथ 'परिणिता' सिनेमामा मैले 'मूला रूँ' को स्वाद भेटेको थिएँ। त्यति बेला गीतको मोहनीले बाँधिँदा त्यसका संगीतकारसँग यो रूपमा कुनै दिन भेट होला भनेर मैले चिताएको पनि थिइनँ।
कोठामा शान्तनुको स्वरमा गुञ्जिएको 'मूला रूँ' लाई अझ मिठो बनाउने गरी 'हमिङ' मा साथ दिइरहेकी थिइन्, आनी।
'त्यो सिनेमामा यसरी मूला रूँ समेट्ने सोच तपाईंकै थियो कि निर्देशकको?'
गीत सकिनेबित्तिकै मैले शान्तनुलाई प्रश्न राखेँ।
'निर्देशकको,' उनले इमानदार उत्तर दिए, 'त्यो स्क्रिप्टमै थियो।'
'परिणिता' बाट मुम्बई फिल्म उद्योगमा प्रवेश गरेका शान्तनुले त्यसको दुई वर्षमै अमिताभ बच्चन अभिनित 'एकलव्य' को संगीत निर्देशन गरेका थिए।
'परिणिताको संगीतमा म असाध्यै लठ्ठिए पनि यसका संगीतकारबारे उति जिज्ञासु थिइनँ,' आनीले शान्तनुलाई भनिरहेकी थिइन्, 'मैले तपाईंको संगीत भनेर मनपराउन थालेको चाहिँ 'एकलव्य' का गीतहरूबाट हो।'
शान्तनुले तुरुन्तै जवाफ फर्काए, 'वी वर्क बिहाइन्ड द सिन, आनी (हामी नदेखिने ठाउँमा काम गर्ने मानिस हौं, आनी)।'
कोठामा हाँसो गुञ्जियो।
शान्तनुले अब नेपाली गीत सुन्ने इच्छा राखे।
'सकभर लोक पाराको गीत सुनौं है!' उनले प्रकार पनि प्रस्ट्याइदिए।
आनी गाउन तयार भइन्-
'चुलबुले चञ्चले ए मेरी मनचरी, चुप लागेर बस न ए एकछिन नचली'
गाउँदा-गाउँदै उनले गीतको आसय वर्णन गर्न खोजिन्। गुम्बामा छँदा सहज जीवनबीच पनि आफूहरूमा उत्पन्न हुने घमण्ड र त्यसलाई नियन्त्रण गर्ने प्रयासमा आधारित गीतको भाव उनले अर्थ्याइन्।
न्ह्यूको गितारमा बाँसुरीले साथ दिन थाल्यो। त्यहाँ सबैभन्दा मुटु निचोरिने गरी प्रिन्सले बजाएको सारंगीको आवाज अघि बढिरहेको थियो। सिंगो धुनमा नेपाली मौलिकताको विछट्टै स्वाद फैलिँदै गयो।
आनीको गायकी हाम्रो लागि परिचित छ। त्यसैमा लोक पाराको यो गीतले 'नयाँ आनी' लाई असाध्यै मिठा मोडहरूमा लगिरहेको पाइन्थ्यो। सायद त्यसैले, आँखा चिम्लेर सुनिरहेका शान्तनु पनि बारम्बार 'आह' भनेर प्रतिक्रिया जनाइरहेका थिए।
'वी मिस्ड मादल (यो गीतमा मादल बजाउन पाएको भए झनै रमाइलो हुन्थ्यो),' गीत सकिनेबित्तिकै आनीले भनिन्।
'आई ह्याभ बांगला मादल (मसँग बंगाली मादल छ),' शान्तनुले बीचैमा रोके र भने, 'आई नो एनोदर तबला (तबलाकै अर्को रूपबारे म जानकार छु)।'
शान्तनु 'अन दी विंग्स अफ म्यूजिक' पुस्तकका लेखक पनि हुन्। पुस्तकको प्रारम्भमै उनले आफ्नो परिचय खोलेका छन्।
भारतको विभाजनपछि तत्कालीन पूर्वी पाकिस्तान (अहिलेको बंगलादेश) बाट मोइत्रा परिवार बसाइँ सरेर उत्तर प्रदेश पुगेको थियो। सरोदवादक पिता र कत्थक नृत्यांगना आमाका सन्तान शान्तनु बनारसमा हुर्के। त्यहाँ उनको छिमेकमा उस्ताद अलाउद्दिन खानको बसोबास थियो।
'केटाकेटीमा म रोएँ भने मलाई खान साहबको घर लगिन्थ्यो, त्यहाँ उहाँको संगीत सुनेर बल्ल चुप लाग्थेँ रे,' उनले पुस्तकमा भनेका छन्, 'सायद त्यति बेलै मभित्र लयको माधुर्य प्रवेश गरेको थियो।'
यसरी संगीतमा लहसिएका शान्तनु अहिले बलिउडका व्यस्त संगीत निर्देशक छन्। हामीले असाध्यै मनपराएका थुप्रै सिनेमाका गीत उनकै सिर्जना हुन्।
उनी बलिउडले सिर्जनशीलतामा गतिरोध उत्पन्न गर्ने विचार राख्छन्।
भन्छन्, 'त्यसैले म मुम्बईबाट भाग्ने प्रयास गरिरहेको हुन्छु, विरानो ठाउँहरूमा मैले जीवनको फराकिलो अर्थ भेट्ने गरेको छु।'
शान्तनुले केही समयअघि हिमाली भेगमा सय दिनको यात्रा गरेपछि त्यसैको अनुभवमा एउटा संगीत सिर्जना गरेका थिए। त्योसमेत समेटेर उनले मुम्बईमा कन्सर्ट दिएका रहेछन्।
न्ह्यू र आनी मिलेर शान्तनुको त्यो गीत गुनगुनाउन थाले। शान्तनु पनि थामिन सकेनन्, पियानो बजाउन सुरू गरे।
पश्चिमा शास्त्रीयको प्रभावमा तयार पारिएको त्यस गीतको बीचैमा शान्तनुले राग तानेर पूर्वीय प्रभाव मिसाए। त्यो अझ मिठो सुनियो। त्यो गीतको शब्द दुर्गालाल श्रेष्ठको रहेछ।
'हाउ इज हि? (उहाँलाई कस्तो छ?)' शान्तनुले सोधे।
'हि इज गुड बट गेटिङ ओल्ड (सञ्चै हुनुहुन्छ तर बुढ्यौलीको प्रभाव बढ्दो छ),' आनीले जवाफ दिइन्।
'संग्स अफ हिमालय' नाम दिएर यो गीत मुम्बईको मञ्चमा दुईपटक प्रस्तुत भइसकेको छ। त्यहाँको 'नेसनल सेन्टर फर पफर्मिङ आर्टस्' मा। पछिल्लो वर्ष मुम्बईमै आयोजित 'प्याडी फिल्ड फेस्टिभल' मा पनि आफूहरूले सँगै प्रस्तुति दिएको आनीले थपिन्।
'त्यो हिमाल यात्रा चाहिँ कसरी गर्नुभएको थियो?'
'मसँग ट्रेलर छ। पख्नुस् ट्रेलरै हेरौं।'
उनले देखाए।
ट्रेलरमा हिमालका दृश्य, आनीको स्वर र शान्तनुका न्यारेसनहरू थिए। बीचमा उनका सांगीतिक सिर्जना पनि।
'संगीत मेरो जीवनको एउटा सानो हिस्सा मात्र हो,' उनी भन्दै थिए, 'खासमा म यात्री हुँ।'
यसैबीच न्ह्यूले प्रश्न तेर्स्याए, 'सिनेमाको काम कस्तो भइरहेको छ?'
शान्तनु जवाफ दिन थाले।
'राम्रै चलिरहेको छ। यो वर्ष तीनवटा सिनेमामा काम गर्दैछु। एउटा अमिताभ बच्चन र आयुष्मान खुरानासँग छ- 'गुलाबो'। दोश्रो विक्की कौशलसँग 'उधम सिंह'। यो वर्ष मेरो रिलिज हुने सिनेमा चाहिँ 'आधार' हो। अर्को 'हाथी' भन्ने पनि छ।'
त्यति बेलै शान्तनुको कोठामा झुन्डिएको 'फिल्मफेयर अवार्ड' तिर सबैको ध्यान गयो। उनले पहिलो फिल्म 'परिणिता' मै त्यो अवार्ड पाएका रहेछन्।
'यो भारतको ग्रामीजस्तो हो,' शान्तनुले भने, 'त्यहाँ मेरो निम्ति अर्को पनि उल्लेखनीय कुरा थियो।'
के?
'त्यो अवार्ड मलाई जीनत अमानले दिएकी थिइन्।'
उनले यति भनेका मात्र के थिए, त्यो सम्पूर्ण प्रसंगै जीनततिर मोडियो।
'यौवन अवस्थामा त्यति मनपरेकी हिरोइन हुन् उनी। मेरो नाम घोषणा गरेपछि म पुरस्कार लिन जसै चढेँ, अचानक त्यहाँ जीनत अमानलाई उभिएको देखेँ। जीनतले पो मलाई पुरस्कार दिन लागेकी रहिछन्। अनि आनी थाहा छ? सामुन्ने उनलाई देख्नेबित्तिकै लगभग बेहोसैजस्तो भएँ। पूरै हराएँ।'
शान्तनुले यति भन्नेबित्तिकै कोठामा हाँसो फैलियो।
शान्तनु बोलिरहे।
'मलाई अवार्डको कुनै सम्झनै थिएन। म जीनतलाई मात्र देखिरहेको थिएँ। मेरो निम्ति त्यहाँ जीनतबाहेक अरू केही थिएन।'
हाँसो झनै चर्कियो।
शान्तनु अझ एक कदम अगाडि बढे।
'सी वाज मर्डरर। उनी ठाडै मारिदिने हिसाबकी सुन्दरी थिइन्।'
हामी सबै उनकी श्रीमतीतिर हेर्न थाल्यौं।
जवाफमा श्रीमती मोइत्राले हाँस्दै भनिन्, 'उनी वास्तवमै आफ्नो समयमा संसारकै ध्यान तानेकी सुन्दरी थिइन्।'
मलाई पनि खसखस लाग्यो। 'द ग्रेट ग्याम्बलर' सिनेमाको एउटा गीतले पारेको प्रभाव उल्लेख गरेँ। त्यो शब्द, धुन, भेनिसका जलमार्गहरू र जीनत।
तत्कालै शान्तनुले गितार ताने र गुनगुनाउन थालिहाले-
'दो लफ्जोँ कि है दिलकी कहानी
या है महोब्बत, या है जवानी'
यो गीतमा इटालीका नाविकले गुनगुनाएको स्वर न्ह्यूको आवाजमा झनै खुलिरहेको सुनिन्थ्यो।
'आज तिमीहरू भेटेर कति रमाइलो भयो,' शान्तनु भन्दै थिए, 'अर्कोपटक रातभर बस्ने गरी भेट्नुपर्छ। मकहाँ यतै आए पनि हुन्छ।'
शान्तनुले न्ह्यूलाई कामको सिलसिलामा मुम्बईका कुनै पनि संगीतकर्मी आवश्यक परे उपलब्ध गराइदिने जानकारी दिए।
कुराकानीले अनेक मोड समात्दै थियो। कतिपय अन्तरंग कुराकानी पनि हुँदै थिए। कुराकानीको केन्द्रमा फिल्मी दुनियाँका अत्यन्त चर्चित नामहरू आउँदै थियो।
यसैबीच न्ह्यूले गितार बजाउँदै मुकेशको पुरानो गीत गुनगुनाउन थाले-
'मेरी खयालोँ कि आँगनमे कोही सपनोँकी दिप जलाए...'
शान्तनु पनि गाउन थाले। आनी पनि गाउन थालिन्। कोठामा भएका सबै गाउन थाले।
शान्तनुले गाउँदा-गाउँदै बीचैमा बोले, 'यो गीतको मूल तपाईंहरू कसैले सुन्नुभएकै छैन होला, म गाएर सुनाउँछु है।'
सबै चुप लागे। शान्तनुले पियानो घन्काउँदै गाउन सुरू गरे–
'आमइ प्रोश्नो करे नील ध्रुवो तारा'
वास्तवमै हिन्दीमा पछि रूपान्तरण गरिएका र हामीले महान् ठानेका गीतहरू मूल स्वरूपमै अझ कति सम्पन्न रहेछन्! त्यति बेला फिल्ममा गाउने मुकेश होइन, बंगाली भाषाका मूल गायक हेमन्त कुमारकै आवाजको गहनता महशुस गराउँदै थिए शान्तनु।
यो त्यस्तै अनुभव थियो, जुन केही समयपहिले काठमाडौंकै 'पलेँटी' मा श्रोताहरूले गरेका थिए।
त्यस दिन हिन्दी फिल्म 'रुदाली' को चर्चित गीत 'दिल हुम हुम करे' लाई भूपेन हजारिकाकै आसामेली शिष्याले कालिकास्थानस्थित नेपालयको मञ्चमा 'बुकु हुम हुम करे' गाएर सुनाएकी थिइन्।
कहाँ अखमी भाषाको देशभक्ति भाव र कहाँ हिन्दी सिनेमा 'रुदाली' को प्रेमगीत!
आफ्नो पुस्तक 'अन दी विंग्स अफ म्यूजिक' मा शान्तनुले आफ्नो प्रेरणाका श्रोत भूपेनबारे बेग्लै अध्याय राखेका छन्। मुम्बईमा संघर्षकै बेला शान्तनुले एकदिन हजारिकालाई अचानक भेटेका थिए। लगत्तै हजारिकाले स्टुडियोभन्दा पर कुनै सडक किनारा लगेर शान्तनुलाई सबैभन्दा मनपर्ने आफ्नो 'ओ गंगा' सुनाइदिएका रहेछन्।
त्यस्तै, 'परिणिता' हेरेपछि दंग परेका हजारिकाले एउटा अवार्ड समारोहमा शान्तनुलाई त्यस सिनेमाको 'पिया बोले' गीत गाएरै सुनाएको प्रसंग पुस्तकमा उल्लेखत छ। हजारिकाको अन्तिम रेकर्ड गरिएको गीत पनि शान्तनुकै रहेछ।
त्यस दिन शान्तनुको घरमा खाना खाएर हामीलाई दिउँसोको जहाज समात्नु थियो। त्यो माहोल छाड्न कसैलाई मन लागिरहेको थिएन।
'आजको फ्लाइट चेन्ज गर्न मिल्दैन?' न्ह्यूले सोधे।
जवाफमा आनी जोडजोडले हाँस्न थालिन्।
शान्तनुलाई भने भारतको सांगीतिक क्षेत्रका रोचक प्रसंगहरू सुनाउने छटपटी अझै बाँकी थियो। प्रसंग उही 'कहीँ दूर जब दिन ढल जाए' गीतको रहेछ।
'एउटा कुरा थाहा छ न्ह्यू?' उनले भने, 'संगीतकार सलिल चौधरीले हेमन्त कुमारको ओरिजिनल गीतलाई 'आनन्द' सिनेमामा मुकेशको स्वर प्रयोग गरेपछि हेमन्त र सलिलबीच फाइट नै परेको थियो।'
त्यति बेलै मुम्बई फिल्म उद्योगसँगको मनको मैलो पनि शान्तनुले पखाले।
'आज एउटा कुरा म भन्छु। यो देशमा बलिउड चाहिनेभन्दा बढी नै हाबी भएको छ। यथार्थ पनि कस्तो छ भने, म बलिउडका लागि केही गर्न चाहन्छु भने चुट्की भरमा दुनियाँभरका प्रायोजक भेट्छु। गैरफिल्मी काम गर्छु भन्यो भने न प्रायोजक पाइन्छ न श्रोता भेटिन्छ। यो ठूलो समस्या हो। यसले नै सिर्जनशीलतामा अवरोध खडा गरिरहेको छ। मेरो अठोट छ, म यो बलिउड मात्र ताकेर बस्दिनँ। हेर्दै गर, म सम्झौता गर्नेवाला छैन।'
शान्तनु भावुक बन्दै गएको देखेपछि न्ह्यू बीचैमा बोल्न अघि सरे।
'तिमीहरूलाई थाहा छ, शान्तनुको सबभन्दा राम्रो गीत कुन हो?' न्ह्यूले हाँस्दै सुनाए, 'बोले मेरे लिप्स, आई लभ अंकल चिप्स।'
कोठामा भएका सबै हाँस्न थाले।
शान्तनुको सांगीतिक करिअरको प्रारम्भिक सिर्जना रहेछ त्यो।
त्यति बेलै श्रीमती मोइत्राले खाना तयार भएको सूचना दिइन्। हामी टेबलतर्फ बढ्यौं।
सबै तस्बिर र भिडिओ: गिरीश गिरी/सेतोपाटी