धनुषामा नदी उत्खननको विरोध गर्ने दिलिप कुमार महतोको हत्या गरेको आरोपमा क्रसर संचालक विपिन कुमार महतो पक्राउ परेका छन्।
विपिनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचौक नजिकबाट शनिवार विहान करिब १० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन्।
प्रहरीले शुक्रबार अनुसन्धानका लागि दिलिपका साथी रोशन यादव, टिपर चालक मुनिन्द्र महतोलाई पक्रिएको थियो।
शुक्रबार बिहान करिब ४ बजेको समयमा नदीमा भईरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिप भन्ने ओमप्रकाश महतोको टिपरले किचेर हत्या गरिएको थियो।
हत्या पछि परिवारजनले क्रसर सञ्चालक विपिन महतो सहित स्थानिय प्रशासन, वडाध्यक्ष लगायतको संलग्नतामा हत्या गरेको आरोप लगाइरहेका छन्।
यता शुक्रबार बिहानै दिलिपको हत्या गरिएतापनि मुचुल्का नउठाइ शवलाई प्रादेशिक अस्पाल पठाएको थियो। शवलाई अहिले सम्म पोस्टमार्टम भएको छैन।
परिवारजनले प्रहरीमा जाहेरी नदिएको कारण शवको पोस्टमार्टम नगरिएको प्रहरी निरीक्षक यादवले बताए।
यो पनि पढ्नुस्:
तीन दिनअघि क्रसर सञ्चालकबाट ज्यान मार्ने धम्की, आज टिपरले किचेर ‘हत्या’
‘हमर राजा बेटा कतए गेलै गे, गे हमर सोना बेटाके के आनि देतै (मेरो राजा छोरा कहाँ गयो, मेरो प्यारो छोरालाई कसले ल्याइ दिन्छ?)’ यो बिलाप हो शुक्रबार बिहान टिपेरले किचेर मारिएका २४ वर्षीय दिलीप महतोकी आमा चन्द्रकला देवीको।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका दिलीपको बिहान साथीसँग निस्किएको बेला टिपरले किचेर ‘हत्या’ गरिएपछि गाउँ नै शोकमा डुबेको छ।
औरही खोलामा क्रसर सञ्चालन गर्ने गाउँकै विपिनकुमार महतोले दिलीपका बुबा रामजीवन महतोलाई छोरालाई नसम्झाए टिपरले किचेर मारिदिने धम्की दिएका थिए। उनले धम्की दिएको तीन दिन नबित्दै आज बिहान उज्यालो नहुँदै टिपरले उनलाई साँच्चै किच्यो।
क्रसर सञ्चालक विपिन महतोले छोरालाई नसम्झाए मारिदिन्छु भन्ने धम्की दिएको बाबु रामजीवन महतोले बताए। धम्कीका बाबुजद दिलीपले आफ्नो खेत वरिपरि उत्खननको विरोध गर्न छोडेनन्।
आज बिहान पनि आफ्नो खेतछेउमा डोजरले बालुवा गिटी निकालिरहेको थाहा पाएपछि उनी विरोध गर्न क्रसर उद्योग भएको ठाउँमा पुगेका थिए। टिपरले किचेर उनको त्यही मृत्यु भयो।
‘विपिनले भने दिलिपको आग्रहलाई विरोधको रूपमा लिएर उनको हत्या गरिदिए,’ दिलीपकी जेठी दिदी कविता महतो कुशावाहाले भनिन्।
मिथिला नगरपालिकाभित्रका अधिकांश नदी एवं खोलामा अवैध उत्खनन् व्याप्त छ।
उत्खननविरूद्ध गाउँले र स्थानीयवासीले पटक-पटक स्थानीय सरकार र प्रहरी प्रशासनलाई गुहारेका छन्। तर कसैले पनि उनीहरूको आवाज सुन्दैन।
‘यस्तो कुरा गर्नेलाई उल्टै क्रसर सञ्चालकले ज्यान मार्ने धम्की दिन्छन्,’ स्थानीय रजनीशकुमार महतोले भने।
रजनीशले पनि दिलीपसँगै अवैध उत्खननविरूद्ध आवाज उठाउँदै आइरहेका छन्। उनले आफूलाई समेत यही विषयलाई लिएर धम्की आइरहेको बताए।
‘दाइ समाजमा रहेका बेथितिविरूद्ध आवाज उठाउँदै आएकाले क्रसर उद्योगीका लागि आँखाको कसिंगर बनिसकेका थिए,’ दिलीपकी बहिनी लक्ष्मीकुमारी महतोले भनिन्।
लक्ष्मीले दाइलाई कुटपिट गरेर हत्या गरिएको र पछि टिपरले किचेको दाबी गरिन्।
शव उठाउनुअघि मुचुल्का नगरिएको परिवारको आरोप
साथी रोशन यादवले अवैध उत्खनन् गरिरहेको खबर गरेपछि शुक्रबार बिहान दिलीप उनीसँगै उत्खनन् भइरहेको स्थल पुगेका थिए। उनी घरबाट निस्कँदा बिहानको ४ बजेको थियो। दिलीप घरबाट निस्किएको केहीबेर नबित्दै उनको हत्याको खबर फैलियो।
लगत्तै बहिनी लक्ष्मी महतो, बुवा रामजीवन महतो, वडाध्यक्ष श्यामबाबु यादवलगायत स्थानीयवासी घटनास्थलमा पुगे। केहीबेरमा प्रहरी शव उठाउन आइपुग्यो।
वडाध्यक्ष श्यामबावु महतोको सहमतिपश्चात दिलीपको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पुर्याइयो।
दिलीपको शव उठाइए पनि परिवारका सदस्यले आफूहरूको सहमति तथा मुचुल्काबिना नै शव घटनास्थलबाट लगिएको आरोप लगाएका छन्।
वडाध्यक्ष श्यामबाबु यादवले मुचुल्काबिना नै शव उठाइएको स्वीकारेका छन्।
‘घटनास्थल पुगेलगत्तै शवलाई आफ्नै तौलियाले ढाकेको र गाउँको एक होनहार युवा गुमाएपछि मेरो दिमागले काम गर्न सकेन र शव उठाउन दिएको हुँ,’ यादवले भने।
मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले भने घटनाबारे प्रतिक्रिया माग्दा रूखो जवाफ फर्काए।
‘घरको भान्सामा के खाना पाकिरहेको छ भन्ने कुरो घरका सदस्यलाई थाहा हुँदैन भने नगरमा के भइरहेको छ भन्ने कुरो मलाई कसरी थाहा हुन्छ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले घटनालाई गम्भीरतापूर्वक लिएको र अनुसन्धान जारी रहेको बताए।
प्रहरीले भने मुचुल्का गरेरै शव उठाएको दाबी गरेको छ।
‘दिलीपलाई टिपरले किचेको देखिन्छ। शव पोस्टमार्टम गर्न अस्पताल पठाइएको छ,’ बस्नेतले भने।
प्रहरीले टिपर चालक महोत्तरी वर्दिवास-९ का मुनिन्द्र महतोलाई पक्राउ गरिसकेको छ।
बस्नेतले महतोसँग घटनाबारे अनुसन्धान गरिरहेको बताए।
खेतीपाती गरेर घरपरिवार चलाएर जोगाएको पैसाले रामजीवन छोरालाई इन्जिनियरिङ पढाइरहेको थिए।
‘सहारा हुन्छ सोचेको थिएँ, बुढेसकालमा बेसहारा बनाएर गयो’, रामजीवनले भक्कानिँदै भने।
दिलीप केही दिनअघिमात्र भारतको भोपालबाट मेकानिकल इन्जिनियरिङको परीक्षा सकाएर गाउँ आएका थिए।