दाङको गढवामा ससुराको छुरा प्रहारबाट बुहारीको मृत्यु भएको छ।
जिल्लाको गढवा गाउँपालिका वडा नं. ४ रामनगर निवासी ६५ वर्षीय कुलमान कुँवरको छुरा प्रहारबाट २७ वर्षीया बुहारी वसन्ता कुँवरको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए।
बुधबार बेलुका साढे ८ बजेतिर सामान्य घरायसी विवादपछि ससुराले आफ्नी कान्छी बुहारीमाथि छुराले पेट, ढाड र छातीमा हानेर घाइते बनाएका थिए।
गम्भीर घाइते वसन्तालाई लमहीमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज लगिएकोमा साढे ११ बजे राति मृत्यु भएको डिएसपी खड्काले बताए।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं प्रहरी निरीक्षक भरत राठोरले हत्या आरोपी कुलमानलाई गएराति नै नियन्त्रणमा लिइसकेको जानकारी दिए।
‘ससुरा अलि उदण्ड रहेछन्, छोरा बुहारीमाथि यसअघि पनि पटक/पटक यातना दिने गरेको भन्ने खुलेको छ,’ राठोरले भने ‘हिजो बेलुका पनि नातिको कुरामा भएको सामान्य विवादमा छुराले एकाएक आक्रमण गरेको भन्ने खुल्न आएको छ।’
प्रहरी निरीक्षक राठोरका अनुसार कुलमानका जेठा छोरातर्फको १० वर्षीय नाति उनीसँगै सुत्ने गर्दथे। तर विगत दुई तीन दिनयता उनी हजुरबासँग सुत्न आउन छोडेका थिए।
नातिले हजुरबाको सिरानीमुनि छुरा देखेपछि सुत्न जान डराएका थिए। नाति आफूसँग सुत्न आउन छोडेपछि त्यसको दोष कुलमानले कान्छी बुहारी वसन्तामाथि खन्याए।
कान्छी बुहारीकै कारण नाति आफूसँग सुत्न आउन छोडेको भन्दै कुलमान झगडामा उत्रिए। बुहारी वसन्ताले आफूले बाबुलाई केही नभनेको बताइन्। त्यत्तिकैमा कुलमानले आफ्नो सिरानी मुनिको छुरा निकालेर बुहारीमाथि एकाएक आक्रमण गरेको खुल्न आएको प्रहरी निरीक्षक राठोरले जानकारी दिए ।
दाजुभाइ छुट्टिए पनि एउटै घरमा बस्दै आएका थिए। कुलमानले बुहारी वसन्तामाथि छुरा प्रहार गर्दा उनका पति संजय कुखुरालाई दान किन्न बजार गएका थिए।
कुलमानकी पत्नीको ६ महिना अगाडि नै निधन भएको थियो। उनले बुहारीमाथि कुदृष्टि समेत राख्ने गरेको प्रहरी निरीक्षक राठोरले बताए।