धनुषामा मेमोरी कार्डका कारण भएको विवादलाई लिएर एक महिलाको घाँटी थिची हत्या भएको छ।
माघ १८ गते शनिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीया चिन्तामणी पासवानको घाँटी थिचेर हत्या गरिएको थियो। हत्या आरोपमा ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ वर्षीया सासु कुमला पासवान, ३० वर्षीय श्रीमान अनिल कुमार पासवान र २० वर्षीया नन्द पुनिता पासवानलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन मार्फत पक्राउ परेकालाई सार्वजनिक गरेको हो।
पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान आरोपमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए।
माघ १८ गते शनिबार चिन्तामणी र उनकै नन्द पुनिता पासवानबीच मेमोरी कार्डका विषयमा विवाद भएको थियो। विवादपछि चारै जना मिलेर चिन्तामणीको घाँटी थिचेर हत्या गरिएको प्रहरीको दावी छ।
अपराधलाई लुकाउनका लागि परिवारले झुण्डिएर उनले आत्महत्या प्रयास गरेको आरोप लगाएका थिए। शवलाई अटो रिक्सामा राखी उपचारका लागि भन्दै प्रादेशिक अस्पतालमा लगिएको र अस्पतालमै राखेर टोली फरार भएको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले खोजतलास गर्ने क्रममा आरोपी मध्येका कुमला पासवान र पुनिता पासवानलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित पेठिया बजारबाट आइतबार साँझ ५ बजे पक्राउ गरिएको थियो।
त्यस्तै राधाकृष्ण पासवान र अनिल कुमार पासवानलाई सोमबार बिहान ६ बजे धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बलहा टोलमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।