पुरानो बानेश्वर चोकबाट मैतीदेवीतर्फ ओरालो लाग्दै गर्दा परिचित अग्रजजस्तो चिनेको अनुहार देखेर कहिल्यै झुक्किनुभयो?
मेरो पुस्ताका धेरै मान्छे झुक्किएका थिए।
कतिपयले त ठिटौलो वयमा झसंग भएर तान्दातान्दैको चुरोट सडकमा मिल्काएका थिए, अनि 'ए... हत्तेरिका... यी त टिभीका दुर्गानाथ शर्मा पो हुन्' भन्दै फेरि अर्को चुरोट सल्काएका थिए।
यसरी एउटा सिंगो पुस्ताको मनमा आफन्त बनेर बसेका दुर्गानाथ शर्मा बुधबार यस संसारबाट विदा भए।
नेटफ्लिक्सको पुस्तालाई दुर्गानाथ शर्मा चिनाउनु सजिलो नहोला। तर, कुनै समय बुस्टर र एन्टेना नभई टेलिभिजन नचल्ने समयमा बाँकीको संसारसँग उनैले नेपाल र नेपालीलाई जोडिदिएका थिए, जुन सम्झना अब कसैले मेट्न सक्दैन।
जस्तो, निधनको खबर सुन्नेबित्तिकै ट्विटरमा एक तन्नेरी ईश्वर काफ्ले (इश) ले लेखे– 'बुत्रोस बुत्रोस घाली, इजरायल, प्यालेस्टाइन, गाजापट्टि, बोरिस एल्तसिन, बलेचिस्तान प्रान्त, चेचेन्या विद्रोही, स्लोभोदान मिलोसोभिच, बोस्निया हर्जगोभिना, जाफ्ना प्रायद्वीप, एलटिटिई। विश्व घटना अनि दुर्गानाथ शर्माले चिनाएका शब्दहरू। दुर्गानाथ शर्माप्रति हार्दिक श्रद्धाञ्जली।'
हाम्रो पुस्तालाई कुनै समयको संसार र संसारका चर्चित पात्रसँग जोडिदिएका शर्मा नेपाल टेलिभिजनका स्थापनाकालीन खम्बा थिए। हामीकहाँ टेलिभिजन स्थापनानिम्ति उनले गरेका संघर्षका बयान अहिले सम्झँदा पनि दन्त्यकथाजस्तै लाग्छ।
सन् १९७० दशक अन्त्यतिर नेपालमा टेलिभिजन सेट भित्रिएको अनुमान छ। यी सेट त्यस बेला भिडिओ हेर्न प्रयोग गरिन्थ्यो। त्यसयता काठमाडौंका गल्ली–गल्लीमा पैसा लिएर यस्ता सेटमा हिन्दी सिनेमा देखाइन्थ्यो।
त्यस्ता सेटमा टिभी निकै पछि मात्र चल्यो। त्यसको सुरूआत गरेका थिए, नीर शाहले।
शाहले सन् १९८३ ताका लाजिम्पाटस्थित सरदार भीमबहादुर पाँडेको घर भाडामा लिई केही तन्नेरी भर्ना गर्दै टेलिभिजन स्थापनाको तयारी थालेका थिए। तयारी चल्दै गर्दा एकातर्फ यसको आवश्यकतालाई लिएर लड्ने पंक्ति थियो भने अर्कातिर यो नयाँ प्रविधिले हाम्रो समाजलाई विकृतितर्फ लैजान्छ भनेर बुलन्द आवाज चर्केको थियो। कतिपय छापा माध्यमहरूले नै यो नयाँ प्रविधिको विरोध गरेको शर्मा सुनाउँथे।
यस्तो समय नीर शाहलाई समाचारका तर्फबाट भरथेग गरिदिने खम्बाका रूपमा शर्माले टेलिभिजनको यात्रा थालेका थिए।
२०२६ सालदेखि गोरखापत्र र २०३२ देखि रेडियो नेपालमा समाचार भन्दै आएका शर्माको अनुभवले नै त्यो अवस्था सिर्जना गरेको थियो।
यसरी नेपाल टेलिभिजनमा जोडिएका शर्मा समाचार भन्ने मुख्य व्यक्ति पनि थिए। तर, स्थापनाको केही वर्षमै नेपाल टेलिभिजनले थालेको विश्व घटनाले उनको 'ब्रान्ड' स्थापना गरिदियो।
शर्माले यस पंक्तिकारलाई जनाएअनुसार त्यसको पृष्ठभूमि कुनै दूतावासबाट प्राप्त भिडिओबाट सुरू भएको थियो।
जर्मन दूतावासमा कार्यरत टंकलाल श्रेष्ठ एउटा अंग्रेजी पत्रिकाका सम्पादक पनि थिए। त्यति बेलै उक्त मुलुकको समाचार एजेन्सीले श्रेष्ठलाई एउटा क्यासेट पठाइदिएको थियो। त्यो क्यासेटमा समेटिएका सामग्री के गर्न सकिन्छ भन्ने टंकले बुझेनन्। उनले शर्मालाई पठाइदिए।
नेपाल टेलिभिजनले भारतको 'दूरदर्शन' मा प्रसारित विदेशका समाचार नेपालीमा अनुवाद गरेर प्रसारण गर्थ्यो। त्यसैगरी कतिपय सामग्री 'एसिया भिजन' बाट पनि प्राप्त हुन्थ्यो।
यस्तोमा टंकलालले पठाएको क्यासेटमा तत्कालीन विश्व परिस्थिति अझ राम्रोसँग बुझ्न सकिने गरी 'शीतयुद्धकालीन अवस्थाहरू' वर्णन गरिएका दृश्य र जानकारीसमेत थिए। सेना, हतियार, युद्ध, खेलकुद, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयका छोटा–छोटा सामग्री पनि त्यसैमा भेटिन्थे।
शर्मालाई त्यो क्यासेट निकै ज्ञानवर्द्धक र जानकारीमूलक लाग्यो। त्यसमा प्रत्येक साता विश्वमा भएका मुख्य घटनाको छोटो-छोटो विवरण समावेश थियो।
त्यो बेला नेपाल टेलिभिजनले देखाउने नियमित समाचारमा 'इजरायलले प्यालेस्टाइनमाथि आक्रमण गर्यो', 'यति जना मरे' र 'यति जना घाइते भए' भन्ने विवरण मात्र हुन्थे। जबकि यी दुई देश किन युद्ध गरिरहेका छन्? कारण के हो? पृष्ठभूमि के हो? यस्ता विवरण राखेर स्रोता-दर्शकलाई जानकारी दियो भने अवश्य पनि जानकारीमूलक हुन्छ भन्ने शर्मालाई लाग्यो।
त्यसपछि उनले हप्ताभरका विश्वका मुख्य घटनाक्रम जम्मा गर्ने र त्यसलाई विवरणमूलक बनाएर प्रसारण गर्ने योजना थाले। कार्यक्रमको नाम पनि विषयवस्तुसँग मिल्ने गरी 'विश्व घटना' राखे।
उनी आफैं समाचार निर्देशक भएकाले कार्यक्रम बनाउन स्वतन्त्र थिए। राम्रो कार्यक्रमको अभाव बेहोरिरहेको टेलिभिजनले यस्तो कार्यक्रम स्वीकृत नगर्ने कुरै थिएन। यस्तो अवस्थामा आफूले जर्मन दूतावासको त्यही क्यासेटबाट प्राप्त अवधारणाअनुसार यो कार्यक्रम सुरू गरेको जानकारी दिएका थिए।
शर्माका अनुसार पछि-पछि उनको कार्यक्रमका लागि जापान, बेलायत, अमेरिका, इजरायल लगायतका दूतावासमार्फत् पनि श्रव्य-दृश्य र जानकारीहरू प्राप्त हुन थालेका थिए।
'सबैतिरबाट सामग्री ल्याएर अचार जस्तो बनाउँदै प्रस्तुत गर्दा त्यो कार्यक्रम छिट्टै लोकप्रिय पनि भयो,' शर्मा भन्थे, 'आजभोलि पनि कहिलेकाहीँ म ट्याक्सीबाट कतै जाँदा ट्याक्सी चालकले 'तपाईं दुर्गानाथ शर्मा होइन, तपाईंको त्यो विश्व घटना कार्यक्रम अहिले कता गयो? भनेर सोध्छन्।'
शर्मालाई पछिल्लो समय विदेशतिर जाँदा पनि त्यताका नेपालीले 'विश्व घटना' बारे नै सोध्थे। प्रत्येक बिहीबार प्रसारण हुने 'विश्व घटना' कार्यक्रम शर्माले आफू अवकाश लिउन्जेल अर्थात् २०६१ सालसम्मै चलाए।
नेपाल टेलिभिजनबाट अवकाशपछि शर्माले निजी टेलिभिजनमा काम गरे। त्यता कार्यरत रहँदा फेरि 'विश्व घटना' चलाउने प्रस्ताव आएको थियो। तर, इन्टरनेटबाट सित्तैमा उपलब्ध हुने 'फुटेज' को माध्यमबाट आफूले कार्यक्रम चलाउन नचाहेको र विश्वका ठूला एजेन्सीबाट विधिवत् अनुमति लिएर चलाउने प्रस्ताव सञ्चालकले नमानेको उनले पंक्तिकारलाई बताएका थिए।
इलाम बरबोटेका शिक्षासेवी प्रजापती उपाध्याय र टीकादेवी शर्माका सन्तान दुर्गानाथको जन्म २००४ साल जेठमा भएको थियो। पछि यो परिवार इलामकै फिक्कल सर्यो।
प्रजापतीकै जेठी श्रीमतीबाट भएका दुई छोरा अर्थात् दुर्गानाथ शर्माका दाइहरू तारानाथ शर्मा र लक्ष्मीनाथ शर्मा क्रमशः साहित्य र चलचित्र क्षेत्रमा परिचित नाम हुन्। दुवै आमाका गरेर उनीहरू एघार सन्तान थिए।
शर्माले प्रारम्भिक शिक्षा फिक्कलमै गरेका थिए। त्यो स्कुलको स्थापना राणाकालमा उनकै पिताको पहलमा भएको थियो। त्यसपछि उनी माध्यमिक तह पढ्न इलामकै करफोक पठाइए। कुनै समय इन्द्रबहादुर राईसमेत हेडमास्टर रहेका करफोकमा उनी पढ्दा नारायणबहादुर सिंह हेडमास्टर थिए।
आफू पढेको स्कुलका हेडमास्टर नारायणबहादुर सिंह कालान्तरमा गोरखापत्रका प्रधानसम्पादक भएपछि यी गुरुचेला वर्षौंसम्म सहकर्मी भएर पनि काम गरे।
शर्माले गाउँबाटै एसएलसी गरेपछि दाजु लक्ष्मीनाथका साथ लागेर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आएका थिए। त्यो समय अर्थात् २०२२ सालतिर इलामदेखि काठमाडौं आइपुग्न दार्जिलिङ, सिलिगुढी, रक्सौल हुँदै वीरगन्ज पसेर काठमाडौं आउनुपरेको अनुभव शर्मा असाध्यै रोचक पाराले सुनाउँथे।
उनीहरू काठमाडौं आइपुग्दा जेठा दाजु तारानाथ त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्थे। राजा महेन्द्रले लेखेको किताबको समीक्षा गरेकै कारण तारानाथलाई हिरासतमा समेत राखिएको अवस्था थियो।
यस्तै परिस्थितिबीच दुर्गानाथलाई त्रिचन्द्र कलेजमा विज्ञान संकायमा भर्ना गरियो। उनले विज्ञान पढाइ छाडे। राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरे र एउटा विज्ञापन एजेन्सीमा काम गर्न थाले।
२०२६ सालमा उनको गोरखापत्र प्रवेश पनि विज्ञापन शाखाबाटै भएको थियो।
गोरखापत्रमा रहँदाका असंख्य रोचक घटना शर्मा सुनाउँथे।
उनी गोरखापत्रको सम्पादकीय विभागमा काम गरिरहेकै बेला फोटोपत्रकार गोपाल चित्रकार थिए। गोरखापत्रले स्विडेनबाट 'ह्याजलब्लेड' नामको अत्यन्त चर्चित र महँगो क्यामरा मगाएको थियो। त्यो क्यामरा आउनेबित्तिकै उनीहरू सबभन्दा पहिले प्रधानमन्त्रीको तस्बिर खिच्न बालुवाटार पुगे।
तत्कालीन प्रधानमन्त्री तुलसी गिरीलाई त्यो क्यामरा मनपर्यो। गिरीले 'यो क्यामरा अलिदिन मलाई नै छाडेर जानू' भनेका थिए।
पञ्चायत कालमा गोरखापत्रका जागिरेलाई प्रधानमन्त्रीले भनेपछि अन्यथा हुनै सक्थेन। उनीहरू क्यामरा प्रधानमन्त्री निवासमै छाडेर फर्किए। यसै क्रममा रेडियोमा समाचार भन्ने शर्मा एकाबिहानै सिंहदरबार पुग्नेबित्तिकै प्रधानमन्त्री गिरीको राजीनामाको समाचार देखेपछि क्यामरा सम्झेर आत्तिएका थिए।
यस्तो सकस झेलेका घटना शर्मा रोचक पाराले सुनाउँथे।
शर्माले नै २०३० सालमा सिंहदरबार जल्दा गोरखापत्रको निम्ति रिपोर्टिङ गरेका थिए।
'त्यति बेला मैले नै रिपोर्टिङ गरेको भए पनि त्यो आगलागीको वास्तविक कारण पत्ता लगाउन सकिएको थिएन,' यस पंक्तिकारलाई शर्माले भनेका थिए, 'उबेला पत्रकारहरू व्यवस्थाको बन्धनमा भएकाले दिइएको जानकारीभन्दा अघि बढेर सोधखोज गर्ने सुविधा थिएन।'
चाहे बेलायतकी महारानीको भ्रमण बेला 'उहाँलाई रातो गुलाब मनपर्छ' भनेर लेख्दा त्यो बेलाको लेटर प्रेसले एउटा अन्तिम अक्षर नखोल्दा अश्लिल अर्थ लागेर गोरखापत्रमा मच्चिएको आतंक होस् वा भारतका राष्ट्रपति जाकीर हुसैन आउँदा 'लेटर डा. जाकीर हुसैन सेड' भनेर लेखिनुपर्ने ठाउँमा 'लेटर' बाट पछाडिको 'आर' छुट्दा (स्वर्गीय अर्थ लाग्ने गरी) राइजिङ नेपालमा गएको भुइँचालो। यस्ता सन्दर्भ शर्मा वर्णन गरिरहन्थे।
ज्युँदै भारतीय राष्ट्रपतिलाई 'स्वर्गीय' बनाइदिएबापत् जागिर गुमाएका पत्रकारलाई पछि उनै भारतीय राष्ट्रपतिले 'क्षमा गरिदिनू' भनेपछि राइजिङ नेपालबाट कारबाही फिर्ता भएको शर्माले सुनाएका थिए।
कालान्तरमा नेपाल टेलिभिजन स्थापना हुने भएपछि यिनै शर्मा गोरखापत्रबाट काज पठाएर उता खटिएका थिए। टेलिभिजनको काज सकिएपछि 'अब त फर्किनुपर्ला' भनेर सोच्दै गर्दा नीर शाहले फर्कन नदिएको शर्मा सुनाउँथे।
पहिले रेडियो नेपालमा हुँदा पनि शर्मासँग जोडिएका धेरै रोचक प्रसंग थिए।
एकताका उनको कामै बिहान सबेरैको समाचार भन्ने थियो। राजधानीमा उज्यालो नहुँदै लगातार झरीले गर्दा बाहिर निस्कन सास्ती थियो। जसोतसो छाता ओढ्दै शर्मा रेडियो नेपाल पुगे।
भिज्दै पुगेपछि रेडियो नेपालमा समाचार भन्न बसिरहेका शर्माको हातमा लेखिएको समाचारमा भनिएको थियो– 'मौसम तथा जलवायु विज्ञान विभागका अनुसार आज काठमाडौं उपत्यकाको मौसम सफा रहनेछ।'
शर्मा चकित परे। कत्रो मुश्किलले छाता ओढेर समाचार भन्न आइपुगेको मान्छेका निम्ति यो ठूलो 'जोक' बनिदियो। उता, रेडियोमा तत्काल कागजमा लेखिएको कुरा पढेर सुनाउनै पर्ने सकस।
यस्तोमा शर्माले 'मौसम तथा जलवायु विज्ञान विभागका अनुसार आज काठमाडौं उपत्यकाको मौसम सफा रहनेछ भनिए पनि यति बेला काठमाडौंमा पानी परिरहेको छ' भनिदिएछन्।
तत्काल लिइएको यो निर्णयले नै समाचारवाचक शर्माभित्रको 'पत्रकार' पहिचान गराएको थियो। त्यसैले नै जीवनको अन्तिम कालसम्मै उनी कुनै न कुनै रूपमा कलमजीवि रहे।
नेपाल टेलिभिजनमा अत्यन्त चर्चित रहेकै बेला एकपटक शर्मालाई विज्ञापनमा काम गर्ने अवसर मिलेको थियो। त्यो थियो एउटा बिस्कुटको विज्ञापन। विज्ञापनअनुसार समाचार भन्दाभन्दै बत्ती जान्छ र शर्मा बिस्कुट खान थाल्छन्। झ्याप्प बत्ती आइसक्दा पनि शर्मा बिस्कुट चपाइरहेकै हुन्छन् र तत्काल अर्की समाचारवाचिका रमा सिंहले शर्मालाई झस्काउँछिन्।
त्यो विज्ञापन त्यति बेला असाध्यै चर्चित थियो।
त्यही ताका एकदिन शर्माको भेट तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहसँग भयो। सिंहले 'तपाईंको व्यक्तित्वलाई त्यस्तो विज्ञापनले शोभा दिएन कि?' भनेर सोधे।
शर्मालाई ग्लानी महशुस भयो।
'मैले तत्कालै त्यो विज्ञापन हटाउन लगाएँ,' शर्माले भनेका थिए, 'त्यसपछि कहिल्यै विज्ञापनमा काम गरिनँ।'
चन्द्रलाल झा, मदनमणि दीक्षित, मणिराज उपाध्याय र मणिराज शर्मालाई उनी आफ्नो पत्रकारिताका गुरु मान्थे।
गोरखापत्रमा काम गर्दा ताकै शर्माले नयाँदिल्लीस्थित 'इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन' मा एकवर्षे तालिमको अवसर पाएका थिए। त्यो तालिम सकिएपछि सहभागीहरूलाई भारतीय प्रधानमन्त्रीसँग भेट गराउने चलन थियो। शर्माको समूहले पनि त्यो अवसर पायो।
उनीहरू त्यहाँ पुगेर आ–आफ्नो सिटमा बसेको केही समयमा प्रधानमन्त्री इन्दिरा गान्धी आइन्। सबैले एक-एक प्रश्न सोध्न सक्ने र यो क्रम एकपल्ट फेरि दोहोरिन सक्छ भन्ने जानकारी दिइयो।
'हाम्रा राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव राखेका छन्, यो कुरा सम्माननीय प्रधानमन्त्रीलाई अवगत नै छ। तर, हाम्रा अरू छिमेकीले यो प्रस्तावको समर्थन गरिसक्दा पनि नजिकको छिमेकी भारतले अहिलेसम्म समर्थन गरेको छैन, किन होला?' शर्माले सोधेछन्।
प्रश्न सुन्नेबित्तिकै गान्धीले अँध्यारो अनुहार लगाएको शर्माले सुनाएका थिए।
'नेपाललाई कुन देशबाट डर छ र शान्ति क्षेत्र चाहियो?' गान्धीले जवाफमा भनिछन्।
त्यसपछि शर्माले फेरि बोल्न मात्र के खोजेका थिए गान्धीले 'नेक्स्ट' भनेर अर्का सहभागीतर्फ औंला बढाइन्। यो घटना शर्मा बारम्बार सुनाउँथे।
२०१५ सालको चुनावमा इलामका कांग्रेस उम्मेदवार कृष्णबहादुर भट्टराईलाई जिताउन कविता भन्दै हिँडेका कारण 'बच्चु कांग्रेस' नाम कमाएका दुर्गानाथले कालान्तरमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक प्रणालीसँगै विकास भएका विकृतिप्रति निरन्तर असन्तुष्टि प्रकट गर्दै आएका थिए।
दुर्गानाथ शर्माको अवसानसँगै नेपालको टेलिभिजन पत्रकारिताका जटिल प्रारम्भिक दिनहरूको अनुभव सुनाउन सक्ने एवं रेडियो र छापामा समेत काम गरेका पुराना पत्रकारको अन्त्य भएको छ।