सरकारले छाउपडी उन्मूलन कानुन कार्यान्वयनको दबाब दिएसँगै पश्चिम नेपालमा धमाधम छाउगोठ भत्काइँदैछ। यो काममा प्रहरीको मुख्य सक्रियता छ।
यही क्रममा गत शनिबार अछामको बन्नीगढी जयगढ गाउँपालिकाको लामागाउँमा पनि छाउगोठ भत्काउने टोली पुगेको थियो। वडाअध्यक्ष, महिलाहरू र अन्य सदस्यसहित तीन जना प्रहरी छाउगोठ भत्काउन पुगेका थिए।
जसै उनीहरूले गोठ भत्काए, उक्त गोठ 'धनी' महिलाले एक जना प्रहरी हवल्दारलाई नै आक्रमण गरिन्। अछाम प्रहरी प्रमुख दीपक भारतीका अनुसार प्रहवल्दार धनबहादुर कैलाललाई गोठ भत्काएको आरोपमा भैंसी बाँध्ने किलाले प्रहार गरिएको थियो।
'छाउगोठ भत्काउँदा देवता लाग्ने भनेर ती महिलाले प्रहरीमाथि प्रहार गरेकी थिइन्,' प्रमुख भारतीले घटनाबारे सेतोपाटीलाई भने, 'स्थानीयको मनमा देवताप्रति रहेको डरको कारण चलिआएको रितको बचाउमा ती महिला आक्रमक भएकी हुन सक्छिन्।'
हवल्दारलाई कुट्न महिलालाई जिल्ला प्रहरीले नियन्त्रणमा लिइसकेको र सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको पनि प्रहरी प्रमुख भारतीले बताए।
उक्त दिन तीन प्रहरी, वडा अध्यक्ष, आमा समूहका ४५ जना महिला र युवा क्लबका सदस्य घुम्दै छाउगोठ भत्काउँदै हिँडेका थिए। प्रमुख भारतीका अनुसार छाउगोठ भत्काउने अभियान पनि स्थानीयसँगको सल्लाह र सहमतिमै सुरू गरिएको थियो।
समूह ठूलो भए पनि आफ्नो घरको गोठ भत्काएपछि रिसाएकी महिलाले हवल्दार धनबहादुर कैलाललाई आक्रमण गरिन्। पीडित हवल्दार कैलालका अनुसार गोठ भत्काउनुअघि केही मिनेट उनी आफैंले ती महिलालाई छाउगोठ अभियानबारे सम्झाइ-बुझाइ गरेका थिए।
'गोठ भत्काउने कुरामा ती महिला हामीसँग विवाद गरिरहेकी थिइन्,' हवल्दार कैलालले सेतोपाटीसँगको फोनवार्तामा भने, 'सुरूमा मैले नै उनलाई सम्झाइरहेको थिएँ। तर जब फोन आएर म मोबाइलमा व्यस्त भएँ, पछाडिबाट ती महिलाले भैंसी बाँध्ने किलाले हानेर आक्रमण गरिन्।'
कैलालका अनुसार महिलाले उनलाई टाउकोमा हान्ने प्रयास गरेकी थिइन्। तर सुइँको पाएर हत्तपत्त छलिएपछि ढाडमा लागेको उनी बताउँछन्। आफ्नो उपचारपछि औषधि लिइरहेको पनि उनले बताए।
छाउगोठ भत्काउने अभियानअन्तर्गत डेढ महिनामा अछाममा मात्रै चार हजार गोठ भत्काइएका अछामका प्रहरी प्रमुख भारती बताउँछन्।अभियानमा असहयोग पुर्याए वा छाउगोठभित्र बसेको पाइए, कारबाही गरिने उनको भनाइ छ।
छाउगोठ उन्मूलन सफल बनाउने अभियानको सरहानासँगै आलोचना पनि भइरहेको छ। स्थानीयलाई छाउगोठ कुचलनको समस्या राम्ररी नबुझाई धमाधम गोठ भत्काउँदा धेरै ठाउँमा समस्या पनि आएको छ।
गोठ भत्केपछि महिनावारी भएका महिला डोको, खुला आकाशमुनि, वा ओडारमा बसेका तस्बिर सार्वजनिक भइरहेका छन्।
अभियन्ताहरू मान्छेको दिमागबाटै 'छाउको हाउ' हटाउनुपर्नेमा जोड दिइरहेका छन्।
यसबारे सरकार, जनप्रतिनिधि, अभियन्ता, प्रहरी र स्थानीयबीच राम्रो सञ्चार र छलफलर हुन जरूरी छ।
'पाप'को डरमा मान्छेलाई आक्रमण नै गर्ने मानसिकता जबसम्म फेरिन्न, तबसम्म समस्याको जरो उखेलिँदैन।