राजधानीका एक चिकित्सकले बुधबार ट्विटरमा राखेको सानो भिडिओ क्लिप अचम्मको थियो। असाध्यै संवेदनशील मानिने अस्पतालको आइसियुमा एकजना तन्नेरी मजाले बाँसुरी बजाइरहेका थिए। छेउमा अनेक पाइप र तारहरूले जेलिएको मनिटर। अनि, त्यतैतिरबाट आएका पाइपहरू शरीरभर जोडिएका एक वृद्ध बिरामी त्यो बाँसुरी धूनको आनन्द लिइरहेका देखिन्थे।
त्यो तीस सेकेन्डको अद्भूत भिडिओसँगै चिकित्सकले अंग्रेजीमा लेखेको ट्विटमा भनिएको थियो–
'हाम्रो नेपाल मेडिसिटीस्थित आइसियुमा चिन्ताजनक अवस्थाका बिरामीलाई उनका छोराले बाँसुरी बजाएर सुनाउँदै। बिरामी खुसी देखिए र हामी पनि खुसी भयौं। यसले कर्मचारीलगायत सबैबीच मिठो माहोल पैदा गरिदियो।'
हत्तपत्त आफन्तलाई छिर्नसमेत छेकबार लगाइने आइसियुमा यसरी सांगीतिक माहोल देखेपछि जिज्ञासू बन्दै बिहीबार सेतोपाटी टिम भैंसेपाटीस्थित अस्पताल पुग्यो। ट्विट गर्ने उनै चिकित्सक अर्थात् डा. दिप्तेश अर्याल भनिरहेका थिए, 'हिजोको प्रयोग असाध्यै सफल भयो। बिरामीमा आएको सुधारले गर्दा दुई दिनभित्रै हामी उहाँलाई आइसियुबाट बिदा गर्ने अवस्थामा पुगेका छौं।'
नौ दिनअघि केही बेरका लागि मुटुको धड्कनै बन्द भएका ती बिरामी यति चाँडै यो अवस्थामा पुग्छन् भनेर कसैले चिताएका थिएनन्। बिहीबार अस्पतालमै भेला भएका उनका तीन छोरा र तीन छोरी सबै एक स्वरले भनिरहेका थिए, 'हिजोदेखि बुवाको अवस्थामा एकदमै प्रगति भएको छ।'
ती सन्तानले ठीक नौ दिनअघि पिताको भयावह अवस्था पनि सुनाइरहेका थिए।
उनीहरूका पिता अर्थात् ७९ वर्षीय बिरामी रत्नलाल महर्जनले अघिल्लो साता मंगलबार श्वासप्रश्वासमा कठिनाइ भएको जनाउ दिएका थिए। आठ वर्षदेखि मिर्गौलाका बिरामी रत्नलाललाई तत्काल उनको उपचार चलिरहेको अस्पताल लगियो। त्यहाँ उनको रक्तसञ्चारमै समस्या देखिएको बताउँदै मुटु सम्बन्धि अस्पताल लैजाने सल्लाह दिइयो।
मिर्गौलाका बिरामीको नाजुक अवस्था देखेपछि मुटुको अस्पतालले फेरि मुटु र मिर्गौला दुवैको उपचार हुनसक्ने अर्को अस्पताल लैजान भन्यो।
पछिल्लो अस्पतालमा भने तत्कालै मिर्गौलाको डायलाइसिस प्रक्रिया सुरू गरियो। डायलाइसिस गर्दागर्दै रत्नलालको रक्तचाप अचानक एकदमै ओह्रालो लाग्यो।
'त्यति बेलै अस्पतालका कर्मचारीहरू यस्तो अन्तिम अवस्थाको बिरामीलाई किन अस्पताल ल्याएको भनेर प्रश्न गरिरहेका थिए,' रत्नलालका जेठा छोरा प्रेमसिंहले सुनाए, 'नभन्दै त्यति बेलै बुवाको मुटु अचानक बन्दै भइदियो।'
केही बेर मुटु रोकिएका रत्नलालको छातीमा चिकित्सकले थिच्न (सिपिआर)सुरू गरे। एकछिन थामिएको मुटु फेरि चल्न थाल्यो। रत्नलाल बौरिए।
त्यसपछि चिकित्सकहरूले उनलाई तत्काल भेन्टिलेटर उपलब्ध हुनसक्ने अर्को ठाउँ लैजान सुझाए। परिवारका सदस्यले उत्तिखेरै एम्बुलेन्सबाट मेडिसिटी ल्याइपुर्याए।
त्यो बुधबार बिहान करिब तीन बजेको समय थियो।
अस्पताल ल्याउनेबित्तिकै उनलाई भेन्टिलेटरमा राखियो। त्यो बुधबारदेखि यो बुधबारसम्म मेडिसिटीको आइसियुमा अनवरत उनको उपचार चल्यो।
'यसबीचमा हामी नियमित डायलाइसिस गरिरहेका छौं,' डा. दिप्तेश भनिरहेका थिए, 'त्यसैगरी मुटुको नशा अवरुद्ध भएकाले त्यसलाई एन्जियोग्राफी गरेर स्टेन्ट राखिसकेका छौं।'
त्यसपछि बिरामीको अवस्था क्रमशः सुधारोन्मुख भएको चिकित्सक बताउँछन्।
'सुधार हुँदै गर्दा पनि सुरूमा त कसैलाई नचिन्ने र असाध्यै थकित पनि देखिएको थियो,' डा. दिप्तेशले भने, 'मुटु बन्द भएका बेला मस्तिष्कमा अक्सिजन पनि कम पुगेकोले थोरै 'ब्रेन इन्जुरी' पनि भएको थियो।'
यस्तो अवस्थामा आफूहरूले क्रमिक रुपमा अपनाएको रणनीतिले असाध्यै राम्रो सुधार देखिएको उनले जानकारी दिए।
यसैबीच हिजो अपनाएको 'म्युजिक थेरापी'ले रत्नलालमा चमत्कार गरिदिएको डा. दिप्तेश बताउँछन्।
त्यो कसरी भएको थियो?
आइसीयुका बिरामीलाई पनि सहयोग दिएर हिँडडुल गराउने नियमित प्रक्रिया बुधबार पनि चलाइएको थियो। त्यति बेलै आइसियु कक्ष बाहिर बसेका रत्नलालका एक छोराले बाँसुरी बजाउन थालेको डा. दिप्तेशले देखे। उनले तत्काल त्यो बाँसुरीको प्रतिक्रिया रत्नलालको अनुहारमा अध्ययन गरे।
छोराले बजाएको बाँसुरीले पिताको अनुहारको रङ नै बदलिएको देखियो। अनि लगत्तै बाँसुरी बजाउने छोरालाई आइसियु कक्षभित्रै बोलाएर बिरामी बुवाको सामुन्ने बजाउन लगाए।
यहाँनिर सुरू हुन्छ रत्नलालका बाँसुरी बजाउने छोराको कथा।
तीन छोरामध्ये सबैभन्दा कान्छा राम जापानका बासिन्दा हुन्। बुवाको अवस्थाबारे थाहा पाएपछि आफू दौडादौड काठमाडौं आइपुगेको उनले बताए।
१६ वर्षअघि राम मौरीपालनसम्बन्धी तालिमका निम्ति पहिलोपटक जापान पुगेका थिए।
एक महिनाको त्यो तालिम सकेपछि उनी फर्के। तर, जापानीले फेरि उनलाई निम्त्याए। मौरीपालनकै हिसाबले पछिल्लोपटक गएपछि भने आफ्नो स्थायी बसोबासको बन्दोबस्त उतै भएको उनी बताउँछन्।
'मलाई सानैदेखि बाँसुरीमा रूचि थियो,' उनले भने, 'नेपालमा छँदै पुल्चोकको कलानिधि संगीत विद्यालयमा जीवन आलेसँग तालिम पनि लिएको थिएँ।'
जापान पुगेका राम सुरूमा त सौखिन बाँसुरीवादककै रूपमा कहिलेकाहीँ बजाउँथे।
'निरन्तर अभ्यास गर्दै गएपछि अब भने म उता पनि व्यावसायिक बाँसुरीवादकका रूपमा परिचित हुँदैछु,' उनले सुनाए, 'अहिले त पाँच सयसम्म दर्शक अटाउने हल भाडामा लिएरै कन्सर्ट देखाउन थालिसकेँ।'
त्यसैगरी ओसाकाका रेस्टुरेन्ट र मन्दिरहरूबाहेक वृद्धाश्रममा पनि गएर बजाउँदा रहेछन्।
'वृद्धाश्रमका बुढापाकाहरूले बारम्बार बोलाइरहन्छन्,' रामले आफ्नो बाँसुरीको फट्को साटे, 'केटाकेटी पढ्ने स्कुलहरूमा बजाएर पनि राम्रै आम्दानी हुन्छ।'
जापानमा कमाएको पैसाले आफूले अहिले नेपालका दस जना अनाथ केटाकेटी पढाइरहेको जानकारी पनि उनले दिए।
'म बर्सेनि नेपाल आउँछु,' उनले थपे, 'यसरी आउँदा मुख्य उद्देश्य ती केटाकेटीको अवस्था बुझ्नु पनि हुन्छ।'
रामका अनुसार जापानमा सबै मान्छेको जीवन भागदौडमा चलेको छ। त्यसैले जो पनि प्रायः थकित देखिन्छन्।
'मलाई भने थकान भनेकै कहिल्यै थाहा भएन,' उनी त्यसको कारण पनि बताउँछन्, 'किनकि म बाँसुरी बजाइरहेको हुन्छु।'
यसरी जापानमा बाँसुरी बजाएरै आफ्नो र अर्काको पनि थकान शान्त पारिरहेका रामलाई घरबाट फोन गरेर पिताको अवस्थाबारे बताइएपछि सबथोक छाडेर नेपाल कुदेका रहेछन्। पिताको हेरचाह गरिरहेकै बेला नेपालमै पनि उनलाई एउटा रेकर्डिङको प्रस्ताव आएको छ।
'बुधबार नै रेकर्डिङ भएकाले म बाँसुरीको झोला बोकेरै अस्पताल आएको थिएँ,' रामले सुनाए, 'आइसियु कक्षबाहिर पर्खिरहेकै बेला बाँसुरी निकालेर हल्का अभ्यास गर्न खोजिरहेको थिएँ। डाक्टरले मलाई भित्र आइसियुमै आएर बुवाका सामुन्ने बजाउन लगाउनुभएको थियो।'
डाक्टरको कुरा सुनेर सुरूमा त रामलाई अचम्म लागेछ। तर, आफ्ना बुवाका सामुन्ने बजाउन पाउने भएपछि दंग पर्दै भित्र पसेछन्।
'झन्डै सात-आठवटै पिस बजाएर सुनाएँ,' उनले भने, 'रागमा आधारित एउटा लामो धून पनि थियो।'
डा. दिप्तेशले ढुक्कै बजाए हुन्छ भनेर संकेत दिएपछि रामले त्यसरी धेरै बेरसम्मै बिरामी पितालाई बाँसुरी धून सुनाएका थिए।
'जापानको वृद्धाश्रममा मैले बजाउँदा त्यहाँका बुढापाकाले आनन्दित महशुस गरेको देखेको थिएँ,' उनले थपे, 'मेरो बुवालाई पनि मैले बजाएको आवाजले पक्कै सन्चो हुनेछ भन्ने भावना बोकेरै बजाउँदै गएँ।'
नभन्दै हिजोको त्यो घटनापछि बुवाको शरीरमा देखिएका सकारात्मक परिवर्तनबाट आफ्नो बाँसुरीको आवाज उपचारमा पनि काम लाग्नेरहेछ भनेर दंग परेका उनी बताइरहेका थिए।
'बुवाको अवस्था अब सामान्य भएको देखेपछि ढुक्क भएको छु,' उनले थप जानकारी दिए, 'शुक्रबार जापान फर्कने तय गरिसकेँ।'
यो सम्वाद चलुन्जेल अस्पतालमा रत्नलालकी छोरी रुक्मिणी पनि साथै थिइन्।
'बुवा पहिलेदेखि नै गीत-संगीत भनेपछि हुरूक्कै हुने,' उनले भनिन्, 'सिकिस्त भएर अस्पतालको बेडमा सुत्दा पनि गाएर छेउछाउका बिरामीलाई रमाइलो पारिदिनुहुन्थ्यो।'
यसपटक पनि बेलाबेलामा बुवालाई धेरै अप्ठ्यारो पर्दा आफैंले मोबाइलबाट गीतहरू सुनाउँदै आएको जानकारी रुक्मिणीले दिइन्। त्यस्तो बेलामा बाले सन्चो महशुस गरेको उनको अनुभव थियो।
बिहीबार फेरि पनि रामले आइसियुमै आफ्ना बुवा, चिकित्सक एवम् सञ्चारकर्मीका सामुन्ने एकछिनसम्मै बाँसुरी धून सुनाए।
के यसरी संगीतले आइसियुमा रहेका बिरामीमा सुधार सम्भव हुन्छ?
'हुन्छ,' छेउमै उभिएका अस्पतालको आइसियु विभागका संयोजक डा. दिप्तेश भन्न थाले, 'औषधिले गर्ने उपचारभन्दा पनि बढी प्रभावकारी हुन्छ।'
एनेस्थेसियामा एमडी गरेर 'क्रिटिकल केयर'मा क्यानाडाबाट विशेषज्ञता हासिल गरेका दिप्तेशका अनुसार हामीकहाँ अहिले पनि परम्परागत हिसाबकै उपचार केन्द्रित गरिएकाले अन्यत्र भइरहेका नयाँ प्रयोगमा ध्यानै दिइएको छैन।
'बिरामीको उपचार गर्दा क्याप्सुल, इन्जेक्सन र मेसिन नै सबैथोक हुन् भनेजस्तो गरिन्छ,' उनले भने, 'जबकी उपचारका लागि यी साधनको काम केवल एकतिहाइ मात्र हुन्छ।'
डा. दिप्तेशका अनुसार दुई-तिहाई उपचारको भाग त बिरामीको खुराक, मानसिक स्वास्थ्य, मनोबल, परामर्श, दैनिकीको निरन्तरता, परिवारको संलग्नतामा खोजिने समाधान जस्ता कुरामा लुकेको हुन्छ।
'औषधि र स्वास्थ्य सेवाका प्रविधिले मात्र बिरामीमा ठोस सुधार आउन सक्दैन,' उनी भन्दै थिए, 'अझ एकपटक आइसियुमा बसिसकेको बिरामीलाई पोस्ट आइसियु ट्रमा जस्ता कुराले सामान्य जीवनयापनमा जान महिनौं वा वर्षसम्म पनि लगाइदिन्छ।'
उनका अनुसार औषधिले समाधान गर्न नसकिने यस्ता समस्याको उपचार पनि बुधबार जस्तो छोराले बाँसुरी बजाएर निकालेको आवाजहरूमा सम्भव भइदिन्छ।
'ह्युमनाइजेसन'का यी प्रभाव औषधिभन्दा धेरै प्रभावकारी भनेर स्वास्थ्य विज्ञानले नै स्वीकार गरिसकेको उनले बताए।
'यी प्रमाणित भइसकेका कुरा हुन्,' उनी भन्छन्, 'त्यति मात्र होइन, उत्तर अमेरिकी र युरोपेली मुलुकमा त उपचारको अभिन्न हिस्साका रूपमा ब्यापक प्रयोगमै आइरहेको छ।'
बिरामीले सामान्य अवस्थामा हुँदा के गर्थ्यो? किताब पढ्थ्यो वा गीत सुन्थ्यो कि? भजन गाउँथ्यो कि? यी सबै ध्यानमा नराखेर केवल औषधि मात्रले उपचार सम्भव नहुने उनी बताउँछन्।
डा. दिप्तेशले यो सुनाइरहँदा मेरो दिमागमा हिन्दी फिल्म 'मुन्नाभाइ एमबिबिएस'का दृश्य घुम्न थाले। त्यसमा एकजना वृद्ध पात्र क्यारमबोर्डका सौखिन हुन्छन्। अस्पतालमा औषधिले उपचार गर्न नसकिरहेको उनलाई अभिनेता सञ्जय दत्तले क्यारमबोर्ड खेल्न लगाएर सक्रिय बनाइदिन्छन्।
'हो, एकदमै सही उदाहरण,' फिल्मको उल्लेख गर्दागर्दै बीचैमा डा. दिप्तेशले भने, 'त्यो स्वास्थ्य विज्ञानले प्रमाणित गरिसकेको कुरा नै त्यो फिल्मको कथामा हालिएको हो।'
आइसियुमा ल्याइएका बिरामी विशेषगरी बुढेसकालमा परिवारबाट अलग्याएर ल्याइएका हुन्छन्। उनीहरूले यो अस्पताल हो, आइसियु हो भन्ने बुझिरहेका हुँदैनन्। उनीहरूलाई त शरीरको अवस्थामाथि झन् मानसिक पीडा थप्ने काम गरिन्छ। त्यस्ता बिरामीलाई डर लाग्ने, निद्रा नलाग्ने, छटपटी हुने कुराले सताउन थाल्छ। त्यस्ता बुढापाकालाई अस्पताल ल्याएकै बेलादेखि समस्या देखिन थाल्छ।
यस्तो अवस्थामा बिरामीलाई 'डेलिरियम' भइदियो भने चिकित्सकले जतिसुकै राम्रो उपचार गरे पनि बाँच्ने सम्भावनै खस्किने डा. दिप्तेश सुनाउँछन्। उनका अनुसार 'डेलिरियम'ले बिरामीको बाँच्ने वा मर्ने सम्भावना दस गुणा प्रभाव पारिदिन सक्छ।
त्यस्तो खतरनाक अवस्था आउन नदिन स-साना कुरामा चनाखो भएर ध्यान दिइनुपर्ने उनी बताउँछन्।
'आइसियुमा राखिसकेको बिरामीलाई फेरि सामान्य अवस्थामा घर जान सक्नेगरी मानसिक तवरले तयार पार्न अत्यावश्यक छ,' उनले थपे, 'त्यसैले नयाँ हिसाबले सोच्न जरूरी ठानिएको हो।'
मिर्गौलाका रोगी भएकाले डायलाइसिस बाँचुञ्जेल गरिरहनुपर्ने भए पनि बाँकी कुरामा अब रत्नलाल सामान्य अवस्था लिएरै घर फर्किने डा. दिप्तेशले बताए।