पुनर्निर्माण निम्ति गत असारमा शिलान्यास भएको काठमाडौं, कमलपोखरी अहिले लथालिंग र भद्रगोल देखिन्छ। मेयर विद्यासुन्दर शाक्य, उप–मेयर हरिप्रभा श्रेष्ठ र वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले असारमै शिलान्यास गरे पनि काम भदौमा मात्र सुरू भएको स्थानीय बताउँछन्।
'हाम्रो काठमाडौं, आफैं बनाऔं' नाराका साथ महानगरपालिकाले सहरी विकास आयोजनाको साझेदारीमा कमलपोखरी पुनर्निर्माण थालेको हो। एक वर्षमा सबै काम सक्काउने योजना बनाएको काठमाडौं महानगरले आधा समय बितिसक्दा पनि उल्लेख्य काम गर्न नसकेको स्थानीयको भनाइ छ। महानगरको योजना अनुसार २०७७, असार १५ सम्म सबै काम सकिनुपर्ने हो।
'काम हुँदैछ। असार मसान्तसम्म सक्ने हाम्रो योजना हो,' काठमाडौं वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले सेतोपाटीसँग भने, 'पोखरीको मात्र काम होइन, यसको परिसरमा पार्क नै बनाउने हो। कमलपोखरीको परिसर नमूनाका रूपमा स्थापना हुनेछ।'
महानगरका अनुसार ३५ रोपनी हाराहारी कमलपोखरीको जग्गा समेटेर पार्क बनाइने भएको हो। यही परिसरमा हाल राधेराधेको भवन (सत्संग केन्द्र) र कमलपोखरी प्रहरी चौकी समेत अटाएको छ। यी सबै पुनर्निर्माण क्रममा हटाइने कमलपोखरी पुनर्निर्माणमा संलग्न इन्जिनियर प्रेमबहादुर श्रेष्ठले बताए।
कमलपोखरी परिसरमा स्वास्थ्यलाई मध्यनजर गर्दै सर्वसाधारणका लागि खुल्ला व्यायाम क्षेत्रका साथै ब्याडमिन्टन र बास्केटबल कोर्ट रहने वडाध्यक्ष भरतलालले बताए। त्यस्तै केटाकेटी खेल्ने ठाउँ र उपकरण हुनेछन्। साँझपख पनि पार्कमा चहलपहल कायम होस् भनेर वरिपरि बिजुली जडान गरिनेछ।
पोखरी परिसर घुम्न आउनेका लागि सवारी पार्किङ व्यवस्था छैन।
'खुला ठाउँ भनेपछि प्रायः बिहान र बेलुका मान्छे व्यायामका लागि आउने हो। मर्निङ र इभ्निङ वाकमा आउनेले सवारी ल्याउँदैनन् पनि,' वडाध्यक्ष भरतलालले प्रस्ट्याए, 'अरू आगन्तुकका लागि पछि अपरिहार्य भए थप छलफल गर्नेछौं।'
महानगरले तयार पारेको डिजाइनअनुसार पोखरी वरिपरि ढुंगाको सिँढी बन्नेछ। पार्कको सम्पूर्ण भागमा ठूला आकारका ढुंगा छापिनेछन्। पार्क परिसर र त्यहाँका शौचालय अपांगतामैत्री हुने पनि वडाध्यक्ष भरतलालले जानकारी दिए।
यसका साथै पोखरी बीच भागमा पानीको फोहोरा निर्माण गरिनेछ। इन्जिनियर प्रेमबहादुरका अनुसार यसले पोखरीमा थप सुन्दरता प्रदान गर्न सक्छ।
'पानी फोहोराले पोखरी आकर्षक बनाउँछ भन्ने हिसाबले योजना बनाएका हौं,' उनले भने, 'सुन्दरता र अरू कुरामा आँच आउने भएछ भने, पछि नराख्न पनि सकिन्छ।'
पोखरी बीच भागसम्म जान मिल्ने सानो पुल पनि बनाउने योजना छ, रानीपोखरीको जस्तै। यी बाहेक पोखरीका कुनाकुनामा यो पोखरीको विशेषता झल्काउने गरी कमलका फूल सहितको सानो पोखरी पनि बन्ने उनले जानकारी दिए।
पोखरीको उत्तर-पूर्वतर्फमा ढुंगेधारा बनाइनेछ। त्यस्तै पूर्वतर्फबाट मुख्य प्रवेशद्वार सहित समग्रमा पोखरी परिसर पस्ने तीन वटा द्वार हुनेछन्।
नौ करोड ४७ लाख रूपैयाँ बजेटमा सबै काम भ्याइने कमलपोखरी पुनर्निर्माणको ठेक्का जय धनन्जय-कँडेल निर्माण सेवालाई छ।
काममा ढिलासुस्ती हुने मुख्य कारण सामान अभाव भएको इन्जिनियर प्रेमबहादुर बताउँछन्। उनका अनुसार यहाँ छापिने प्रकारका ढुंगा फेला परिसकेको छैन। भनेजस्तो र भनेजति ढुंगा नपाउँदा काम सुस्त भएको हो।
योबाहेक शौचालयको काम हुँदैछ भने पोखरी छेउमा हुने बगैंचाका लागि ठाउँ बन्दैछ। पोखरीसम्म पुग्न सक्ने वरिपरि सिँढीको काम हुँदैछ। त्यस्तै स–साना ढुंगा छाप्ने काम पनि भइरहेको छ।
योजनाअनुसार काम हुँदै गर्दा केही सर्वसाधारण उत्साहित छन् भने केही निरास।
ताप्लेजुङकी शशीकला राई कमलपोखरीमा नाङ्लोमा खित्रिङमित्रिङ सामान बेच्छिन्। उनमा भने नयाँ नमूना पार्कको उत्साह छैन। उनी भन्छिन्, 'पार्क बनाएपछि हामीलाई व्यापार राख्न दिँदैन भन्ने सुन्छु। के गर्ने होला?'
यसमा अध्यक्ष भरतलाल भन्छन्, 'पोखरी परिसरमा फोहोर गर्न नदिने सोचका कारण यो निर्णय गरेका हौं। पछि सार्वजनिक माग भएमा विकल्प खोज्नेछौं।'
सबै तस्बिर सौजन्यः काठमाडौं महानगरपालिका