गत डिसेम्बरमा आयोजित 'मिस वर्ल्ड-२०१९' मा मिस नेपाल अनुष्का श्रेष्ठले 'मल्टिमिडिया अवार्ड' हात पारिन्। अघिल्लो वर्ष मिस वर्ल्डमा पनि शृंखला खतिवडाले यही अवार्ड जितेसँगै यो नेपालले हासिल गरेको दोस्रो मल्टिमिडिया अवार्ड हो।
मल्टिमिडिया च्यालेन्जको विजेता घोषणा हुँदै गर्दा बेलायतमा रहेकी अनुष्काको ढुकढुकी बढेको थियो। यता नेपालमा अनुष्काको उक्त भिडिओ खिच्ने दर्शन पोखरेल भने आफ्नै भिडिओले अवार्ड जित्नेमा ढुक्क थिए रे।
'भिडिओ युट्युबमा अपलोड गरेको एक घन्टामा दुई लाखभन्दा बढीले हेरेका थिए,' २० वर्षीय दर्शनले सेतोपाटीसँग भने, 'मिस नेपाल अनुष्का श्रेष्ठको शून्य सबस्क्राइबरको युट्युब च्यानलबाट अपलोड गर्दा पाएको त्यो भ्युजले अवार्ड जित्ने आशा जगाएको थियो।'
सामाजिक सञ्जालमा राम्रो 'कन्टेन्ट'को भिडिओ बनाइ धेरै फ्यान संलग्न गरी पर्याप्त भोट, लाइक र सेयर पाउन सफल प्रतिस्पर्धीले मल्टिमिडिया च्यालेन्ज जित्न सक्छन्। यसमा फ्यानको अन्तर्क्रियाले मात्र होइन, भिडिओको गुणस्तरले पनि ठूलो भूमिका खेल्छ।
दर्शनका अनुसार अनुष्काको परिचय भिडिओका कमेन्ट र सेयरमा धेरै प्रशंसा भिडिओग्राफरकै देखिन्थ्यो।
'संसारका चर्चित भिडिओग्राफरबीच आफ्नो भिडिओले अवार्ड पाउँदा गर्व लागेको थियो, दर्शनले भने।
'मलाई त भिडिओ सुरू हुने बित्तिक्कै अवार्ड हाम्रै देशले जित्छ भनेर थाहा थियो,' कुराकानीको क्रममा दर्शनको सीप तारिफ गर्दै अर्का भिडिओग्राफर तथा फिल्ममेकर 'झोले'ले भने।
नेपालमा भिडिओग्राफीको क्रेज बढ्न थालेको धेरै भएको छैन। केही भ्लगरबाट सुरू भएको यसको आकर्षण अहिले २० वर्षीय दर्शन पोखरेल र १८ वर्षीय झोले जस्ता भिडिओग्राफरले अघि बढाएका छन्।
विशेषगरी युवामाझ चर्चित यी दुई नामका भिडिओ युवापुस्ताको चासोलाई सन्देश दिने तरिकाले पेश गरिएको हुन्छ। युट्युबमा देखिने सुन्दर भिडिओ पछाडिका यी नाम र अनुहार धेरैले चिने पनि क्यामराले कैद नगरेका यिनका जीवनको बेग्लै पाटो छ।
सामाजिक सञ्जालमा करिब ३५ हजार फलोअर्स भएका झोलेलाई धेरैले यही नामले चिन्छन्, वास्तविक नाम कमैलाई थाहा छ- प्रझोल थापा मगर।
काठमाडौंका गल्लीमा हुर्केका प्रझोललाई 'झोले' बनाउने उनका बाल्यकालका साथी हुन्।
'हामीकहाँ साथीभाइले नाम पछाडि 'ले' थपेर बोलाइन्छ नि, त्यही भएर मेरो नाम पनि झोले भयो,' प्रझोलले हाँस्दै भने, 'प्रझोले भन्दा अप्ठ्यारो भएर प्र हटाइदिए, बाँकी भयो झोले।'
साथीले राखिदिएको यो नाम प्रझोललाई प्यारो छ। झट्ट सुन्दा नराम्रो जस्तो लागे पनि उनलाई कसैले आफ्नो वास्तविक नाम भन्दा झोले भनेर बोलाएकै राम्रो लाग्छ रे।
सिनेम्याटोग्राफरका रूपमा चिनिने प्रझोल यस क्षेत्रमा जम्न थालेको धेरै भएको छैन। केही वर्ष अघिसम्म आफ्नो नृत्य समूहमा रमाउँदै गरेका उनी एकाएक भिडिओग्राफीतिर लम्किएका हुन्।
'एस्ट्रो ब्वाइज' नामको नृत्य समूहका सदस्य रहेका उनी बि-बोइङ गर्थे। इन्टरनेट माध्यमबाट थुप्रै नृत्य समूहहरू दर्शकसामु आउँदै गर्दा प्रझोलको समूहले पनि त्यही विधि अपनाए।
छुट्टै भिडिओग्राफर बोलाउन सक्ने आर्थिक क्षमता समूहसँग थिएन। उनीहरूले टिमकै सदस्यलाई भिडिओ बनाउने जिम्मा दिने भए, प्रझोललाई।
आमाको मोबाइलबाट फोटो र भिडिओ खिच्ने प्रझोलका लागि क्यामरा र भिडिओग्राफी क्षेत्र नयाँ थियो। समूहकै लागि उनले भिडिओमा आवश्यक तरिका युट्युब हेरेर सिक्न थाले। यसैबीच युट्युबमा उनको भेट ट्राभल फिल्ममेकर साम कोल्डरसँग भयो। क्यानडाका साम भिडिओग्राफीबाटै संसारभर प्रशंसक बटुल्न सफल 'इन्स्टाग्राम स्टार' हुन्। सामको काम देखेपछि प्रझोलको भिडिओग्राफी मोह झनै बढ्यो।
हाल डकुमेन्ट्री बनाइरहेका दर्शनको फिल्म मेकिङसम्मको यात्रामा पनि सामकै प्रेरणा छ। आयरल्यान्डमा हुर्केका उनी सानैदेखि फुटबल खेल्थे। आयरल्यान्डका अग्ला खेलाडीबीच दर्शन मैदानमा सानो पर्थे। दौडमा राम्रो गर्न नसकेपछि उनले फुटबल 'फ्रिस्टाइल' गर्न थाले।
सिकेको फ्रिस्टाइल उनले मोबाइलमा कैद गरी सामाजिक सञ्जालमा राखे। दुई वर्षसम्म मोबाइलबाट भिडिओ बनाउँदा-बनाउँदा उनको मोह फुटबलमा कम र भिडिओग्राफीमा बढ्दै गयो। साम कोल्डरका भिडिओ देखेपछि झनै उक्सिए। यो जोशलाई काममा परिणत गर्न उनले ड्रोन किने र नयाँ शैलीमा भिडिओ बनाउन कस्सिए।
त्यो बेला १४-१५ वर्षको छोरालाई ड्रोन किनिदिने कुरामा उनका आमाबुवाको असहमति भएको थियो।
'विदेशको बसोबास भए पनि आर्थिक स्थिति ठिकठाक मात्र थियो। ड्रोन किनिदिन बुवा माने पनि आमालाई चित्त बुझेन,' उनले सुनाए, 'मैले जम्मा गरेको पैसामा थपथाप पारेर बुवाले ड्रोन किनिदिनुभयो। तर पैसा खर्च गरेको थाहा पाएपछि आमा रिसाएर दुई हप्ता बोल्नुभएन।'
त्यहीबीच बहुराष्ट्रिय कम्पनी 'एडिडास'ले हरेक देशबाट फुटबलको भिडिओ बनाउने व्यक्ति खोजिरहेको थियो। दर्शन पनि छानिए। फ्रिस्टाइल फुटबल र भिडिओग्राफी सीप भएकाले एडिडासबाट जुत्ताको विज्ञापन बनाउने प्रस्ताव पाएको उनी बताउँछन्।
भिडिओग्राफी क्षेत्रमा उनले पाएको पहिलो जागिर त्यही थियो। पछि उनले पुमा र अरू पनि ठूला ब्रान्डका लागि भिडिओ बनाए। पन्ध्र वर्षको उमेरमै बार्सिलोना, जर्मनी, बेलायतबाट कामको अवसर आउँदा परिवारले पनि काम मनपराउन थाले।
'पछि यस्तै काममा बीसवटा देश पुगेँ,' उनी सुनाउँछन्।
पुराना काम एकै खाले मात्र भइरहेका बेला दर्शनलाई नेपालको घुमफिर भिडिओ बनाउने इच्छा थियो। त्यहीक्रममा भ्लगर सिसन बानियाँले अनुष्का श्रेष्ठको परिचय भिडिओ बनाउन दिएको सुझाव उनलाई चित्त बुझ्यो।
अघिल्लो वर्ष नेपालले मल्टिमिडिया अवार्ड जितेकाले दर्शनलाई भिडिओ राम्रो बनाउने चुनौती र दबाव थियो। जब उनले मिस मंगोलियाको भिडिओ देखे, आफ्नो भिडिओ कमजोर भएको रिसमा ल्याप्टप फ्यालेका थिए रे।
तर उनले अनुष्काका लागि मात्र भिडिओ बनाएका थिएनन्। नेपालको सुन्दर विविधता र संस्कृतिको पहिचान विश्वभरका दर्शकलाई देखाउने अर्को चाहना पूरा गरेका थिए।
दर्शन विदेश बसेर भिडिओग्राफी क्षेत्रमा सफल हुँदै गर्दा प्रझोल (झोले) पनि नेपालमा आफ्नो ठाउँ बनाउन लागि परेका थिए।
चन्द्रागिरि घर भएका प्रझोलको चार जनाको मध्यवर्गीय परिवारमा खान, लाउन र पढाइ खर्च जुटाउनबाहेक बाहिरी खर्च गर्न मुश्किल थियो। कामका लागि चाहिने महँगो क्यामरा किन्न सक्थेनन्।
उनले आफूलाई काम दिने क्यामरा 'सेल'मा पचास हजार रूपैयाँमा पाए। त्यो रकम पनि धेरै थियो। छोरालाई इञ्जिनियर बनाउने सपना देखेका बुवाले क्यामराका लागि पैसा दिने सम्भावना पनि थिएन।
'बुवाले बेवास्ता गरे पनि आमाले किनिदिने कुरा गरिरहनुहुन्थ्यो,' प्रझोल सम्झिन्छन्, 'त्यही बेला आमा आफैं बिरामी परेर पैसा खर्च भयो। त्यही पनि जसोतसो उहाँले बुवालाई फकाउनुभयो र क्यामरा किन्ने भइयो।'
प्रझोलले आमाबुवालाई क्यामरा किनिदिए कमाएर फिर्ता दिने बाचा पनि गरे। युट्युबले पैसा दिन्छ भनेर बुझाएपछि समर्थन पाएका थिए उनले।उनलाई फिल्ममेकर बनाउने चाहनामा उनको नृत्य समूहले पनि अलिअलि पैसा जम्मा गरेका थिए। संकलित पाँच हजार रूपैयाँ क्यामरा किन्न दिए।
उनका अनुसार सामान्य परिवार झैं बुवाले क्यामरा ल्याएको भोलिपल्टदेखि नै काम गरेर पैसा ल्याउने आश गरेका थिए। शृंखला खतिवडा र भ्लगर सिसन बानियासँग भएको युरोप भ्रमणपछि बल्ल परिवारले बुझ्न थालेका छन्।
'अहिले त बुवा काम गरेर बस मात्र भन्नुहुन्छ,' उनी सुनाउँछन्। उनको काठमाडौंमा साथीहरूसँग डेरामा बस्छन्।
'मलाई कतिपयले परिवारलाई कसरी आफ्नो इच्छा बुझाउने भनेर सोध्नुहुन्छ,' प्रझोल भन्छन्, 'सुरूमा त हामीले उहाँहरूलाई आफूले चाहेको कुरा भन्नुपर्छ। पुराना पुस्तालाई हाम्रो कुरा अर्थहीन लाग्ला, तर उहाँहरूले बुझ्ने तरिकामा भन्यौं भने पक्कै समर्थन गर्नुहुन्छ।'
उनी यसमा सफल भएका थिए। जसोतसो क्यामरा किने। तर जीवनकै पहिलो क्यामरा चलाउँदाको अनुभव अपेक्षा गरेभन्दा धेरै फरक भयो।
'सेलको क्यामरा, चलाउन पनि नमिल्ने चौथो ह्यान्डको थियो,' उनले भने, 'लेन्स फुस्किन लागेजस्तै। तै पनि पहिलोपटक क्यामरा छुन पाउँदा ती कुरा मतलब भएन। क्यामरा हातमा थियो, म पूरै दंगदास।'
अहिले प्रशस्त क्यामरा चलाउन पाउँदा पनि अझै अभाव महशुस हुने उनी बताउँछन्।
'यो क्षेत्रमा पैसा जोगाउने कुरा हुँदैन,' उनी भन्छन्, 'मोबाइलबाट क्यामरा, त्योबाट राम्रो क्यामरा। अनि बजार र मोडलअनुसार अपग्रेड हुनैपर्यो।'
दर्शनको पनि पहिलो ड्रोनको अनुभव सम्झनलायक छ।
'ड्रोन किनुन्जेल मलाई त्यसले उडेर भिडिओ खिच्छ भन्नेबाहेक अरु केही थाहा थिएन,' उनी भन्छन्, 'क्यामरा पनि नचलाएको म, सिधै ड्रोन पाएपछि खुसीमा साथीलाई बोलाएर पार्टी समेत गरेँ। पछि उसैसँग चलाउने तरिका सिकेर उडाएँ। तर उडाउँदा औंला काटिएर टाँका लगाउनु परेको थियो। '
उनले थपे, 'फ्लाइङ जोनको नियम नभएकाले ड्रोन धेरै माथि उडाउँदै गर्दा हेलिकप्टर आइदियो। डरले छिटो तल झार्न खोज्दा भित्तामा ठोक्कियो र आत्तिएर त्यसको ब्लेड हातले रोकेँ। घरमा अहिलेसम्म यो कुरा भनेको छुइनँ।'
यति मात्र कहाँ हो र, उनले कयौंपटक उडाउँदा-उडाउँदै ड्रोन हराए। त्यही ड्रोनका कारण जेल समेत परे।
भन्छन्, 'पाल्पामा त्यो ड्रोन उडाउँदा पहाडमा ठोक्किएर हराएको थियो। एक महिनापछि भेटेँ। अनि आयरल्यान्डमा उडाउँदा ६ घन्टा जेल परेँ। जसोतसो त्यो मेरै साथ आइपुग्यो।'
घुमिफिरी आफूसँगै रहेकाले दर्शनले त्यो ड्रोनको नाम 'अमर' राखेका छन्। त्यसलाई अहिले सिसाभित्र सजाएर राखेको उनी बताउँछन्।
आयरल्यान्डबाट सुरू भएको भिडिओग्राफी मोहले दर्शनलाई कम उमेरमै सफल बनाइसकेको थियो। ठूला र बहुराष्ट्रिय कम्पनीका लागि काम गर्नु र विदेश घुम्न पाउनु कसैका लागि ठूलो उपलब्धि हुन्छ। तर दर्शनले ती सबै पछाडि छाडे र नेपालमा भिडिओग्राफी गर्ने निधो गरे।
दिदीको बिहेका लागि नेपाल आएका उनले यहीँ बस्ने निर्णय पनि अन्तिम समयमा गरेका थिए।
'बिहेको भोलिपल्ट नै फर्किने टिकट थियो। अन्तिम समयमा मनले जान मानेन,' उनले भने, '२०७२ सालको भुँइचालोपछि हजुरबुवा-आमा भेट्न भए पनि नेपाल आउन मन थियो। यहाँ आएपछि छाडेर जान सकिनँ।'
काठमाडौं समेत राम्रोसँग नदेखेका दर्शनले दुई सातामै यहाँको वातावरण अनुभव गरे। नेपालको सुन्दरता नजिकबाट नियाल्न पाउँदा आफ्नो क्यामरामा कैद नगर्ने कुरै भएन।
'नेपाल' शीर्षकको भिडिओ बनाए र युट्युबमा हाले।
'बेलुका अपलोड गरेर सुतेको थिएँ। बिहान हेर्दा बीस हजारले हेरिसकेछन्,' उनी भन्छन्, 'नेपालीहरूले मेरो भिडिओमा गरेको समर्थन मलाई महशुस भयो, जुन मैले तीन वर्षको काम अविधिमा गरेको थिइनँ।'
त्यही भिडिओले पनि उनलाई नेपालमा काम गर्न प्रोत्साहन गरेको थियो। नेपालका हरेक गल्ली र मानिसमा कथा पाएको उनी बताउँछन्। उनलाई यहाँका युवाको जोशभन्दा बुढापाकाको नम्र व्यवहारले उत्प्रेरित गराउँछ।
यी दुई भिडिओग्राफरका अनुसार एउटा भिडिओ खिचिसकेपछि काम पूरा नभएसम्म त्यसमै घोत्लिने हुटहुटी बढ्छ।
अनुष्का श्रेष्ठको भिडिओ खिच्ने क्रममा स्याङबोचेमा खिचेको सट सम्पादन गर्न नपाएर ४८ घन्टा सुत्न नसकेको अनुभव दर्शन सुनाउँछन्।
'यो खेलाडीको खेलप्रतिको लत जस्तै हो,' उनी भन्छन्, 'पहिले म दिनको आठ घन्टा जति फुटबल खेल्थेँ। टाउको, हातखुट्टा दुखेको केही थाहा हुँदैन थियो। अहिले पनि त्यही भइरहेको छ।'
सानै उमेरदेखि भिडिओग्राफीमा आफ्नो नाम बनाउन सफल दर्शन र प्रझोल 'झोले'ले युवा पुस्तालाई पनि प्रेरित गरेका छन्। अहिले धेरै युवा फिल्ममेकिङ र भिडिओग्राफीमा होम्मिएको देख्दा दुवै खुसी छन्। तर नयाँपन कम भेटिने उनीहरूको भनाइ छ।
'कोहीबाट प्रभावित हुनु र कसैको सीप दुरुस्तै सार्नु फरक छ। सबैको आफ्नै मौलिकता हुनुपर्छ। सुरूमा सिक्दा कन्सेप्ट मिल्न खोज्छ तर हामीले आफ्नै तरिका बनाउन जान्नुपर्छ,' प्रझोल भन्छन्, 'त्यसका लागि महँगो क्यामरा र सुन्दर ठाउँ नै चाहिन्छ भन्ने छैन। काठमाडौंका गल्लीमै मोबाइल लिएर हिँड्यो भने राम्रो कथासहितको भिडिओ बन्न सक्छ।'
दर्शन थप्छन्, 'कसैले भिडिओ हेर्दा कुनै चर्चित भिडिओग्राफरको जस्तो नभनी तिम्रै भिडिओ हो भनेर चिनून्। हामी पनि यसमा अझै मिहिनेत गर्दैछौं।'
दर्शनका अनुसार उनले १६ वर्षमै चर्चित फुटबल खेलाडी नेइमार, क्रिस्टियानो रोनाल्डो र रियो फर्डिनान्डसँग काम गर्न पाएका थिए। यो सुन्दा धेरैले भिडिओग्राफरको सपना देख्न सक्छन्। तर हरेक भिडिओले देखाउने सपनाको अर्को पाटो हुन्छ।
उनले यस्तै अनुभव सेतोपाटीसँग साटे। कामको क्रममा उनलाई फ्लाइङ जोन नभएको स्टेनफोर्डको चेल्सी स्टेडियममाथि ड्रोन सट खिच्नु थियो। गार्डबाट लुकेर उडाउँदै गर्दा खेल सुरू भयो। अचानक त्यही बेला ड्रोन मैदानका बीचमा झर्यो।
क्यामराको झोला खुल्लै राखेर उनी डराउँदै मैदानभित्र ड्रोन लिन कुदे। त्यही बेला पानीको फोहोरा खुल्यो। उनको झोलामा भएका क्यामरा भिजे।उता ड्रोन भाँच्चियो।
अनुष्का श्रेष्ठको ६ मिनेट लामो भिडिओमा नेपालको सुन्दरता एकैपटक देख्न पाइन्छ। तर सबै क्षेत्रको भिडिओ खिच्नु पर्दाको दुःख उनी सुनाउँछन्, 'एउटा राम्रो सटका लागि कति डाँडा-भिर हिँड्नुपर्छ। तातोचिसो भन्न पाइँदैन। लडेर चोट लाग्ने र क्यामरा फुट्ने त छँदैछ, त्यसमाथि प्रहरीले लखेट्ने अर्को समस्या।'
नेपाल भ्रमण वर्ष-२०२० को उद्घाटन क्रममा प्रझोलले यस्तै भोगेका छन्।
'कति योजना बनाएर सट खिच्न गयो, पाइँदैन,' उनी भन्छन्, 'उद्घाटनमा कयौं राम्रा सट पाए पनि ड्रोन उडाउन निषेध थियो। उनीहरूकै प्रचारको लागि काम गरिरहेको नबुझी हामीलाई प्रहरीले लखेटेका थिए।'
कलाकार मिलन राईले पाटनमा राखेको जूनको ठूलो आकृतिको भिडिओ खिच्ने बेला पनि भिडिओग्राफर र प्रहरीबीच लुकामारी भएको उनी सम्झन्छन्।
भने, 'काम गर्न प्रहरीबाट भाग्नु पर्दा आफू अपराधी नै होकी भन्ने महशुस हुन्छ।'
भ्रमण वर्षको काममा अहिले सरकारले सहयोग पुर्याइरहे पनि बीच तहका कर्मचारीले गर्दा भिडिओग्राफरलाई टिक्न समस्या परेको उनी बताउँछन्।
'यहाँ थुप्रै प्रतिभाशाली युवा फिल्ममेकर छन्। सबैलाई विभिन्न ठाउँ पठाए उनीहरूले दुई महिनामै राम्रो भिडिओ ल्याउन सक्छन्,' प्रझोल भन्छन्, 'नयाँ भिडिओग्राफरले धेरै अवसर पाउँथे। धेरै होइन, उचित पैसा दिएर सबैलाई काम लगाए भ्रमण कार्यक्रमलाई योगदान दिन सक्थ्यौं।'
अनेक संघर्ष र ठक्करका बाबजुद दर्शन र प्रझोल 'झोले' कत्ति पनि निराश छैनन्। आफ्नो काममा तल्लीन छन्।
भन्छन्, 'जस्तो दुःख पाएको भए पनि भिडिओ हेरेर रमाउनेहरूको समर्थनले अघि बढ्न हौसला दिन्छ। मिहिनेत गरेर काममा घोटिन उक्साउँछ।'