सुबिमा श्रेष्ठका बुबा बलिउड अभिनेता मिथुन चक्रवर्तीका ‘फ्यान’ थिए। घरमा प्रायः मिथुनका गीत घन्किरहेका हुन्थे।
सुबिमाकी माइली बहिनी नाच्न सिपालु थिइन्। गीत सुन्नासाथ जुरुक्क उठेर कम्मर मर्काउन, खुट्टा हल्लाउन थालिहाल्थिन्। आफन्तहरू आउँदा जहिल्यै उनकै नाचको फरमाइस हुन्थ्यो।
नाच्ने रहर त सुबिमालाई पनि थियो। तर, मनको दकसले उनका गोडा बाँधिन्थे। उनी बहिनीजस्तो खुलेर नाच्न सक्थिनन्। बहिनीले सबैसामु प्रतिभा देखाइरहँदा सुबिमा भने ढोकापछाडि लुकेर नाचिरहेकी हुन्थिन्।
त्यही रहर हलक्कै बढेर कसरी जीवनकै लक्ष्य बन्यो, उनैलाई थाहा छैन।
उनी यति भन्छिन्, ‘मिथुनको डिस्कोवाला स्टेप गर्दागर्दै मेरा गोडाहरू संगीतको ताल चिन्न सक्ने भइसकेछन्।’
सुबिमा कत्थक नाच्छिन्। र, सिकाउँछिन् पनि।
झम्सीखेलस्थित ज्ञान मण्डल भवनको पहिलो तलामा ‘नृत्य आँगन’ नामक संस्था छ। सुबिमाको कर्मथलो यही हो। उनी यहाँ शास्त्रीय संगीतको तालमा विभिन्न उमेरका केटीहरूलाई ‘ता थइ... ता थइ...’ गर्दै कत्थक सिकाइरहेकी हुन्छिन्।
हाम्रो भेट त्यही नृत्य पाठशालामा भयो। फोनमा भएको कुराकानीअनुसार म नृत्य आँगनको बाल्कोनीमा उनलाई पर्खिरहेकी थिएँ। झरीले मौसम चिसो थियो। चिसो मौसममा न्यानो हाँसो छर्दै देखापरेकी सुबिमाले भनिन्, ‘भित्र तातोमा बसेर कुरा गरौं न, हुन्न?’
हामी दुवै न्यानो खोज्दै कोठाभित्र हिटरको छेउमा डल्लो पर्यौं।
थोरै अनौपचारिक कुराकानीपछि हाम्रो वार्ता उनको कत्थक यात्रामा केन्द्रित भयो।
‘नाच्ने खुब रहर भएरै होला, म आज यो ठाउँसम्म आइपुगेकी छु,’ उनी यति भनेर जिन्दगीको फ्ल्यासब्याकमा गइन्।
सुबिमाले आफ्ना काका नरेन्द्रगोपाल श्रेष्ठबाट नाच्ने प्रेरणा पाएकी हुन्। घरमा सधैंजसो बजिरहने मिथुनका गीत र त्यसमा सधैंजसो नाच्न अघि सर्ने बहिनीको उत्साहले उनी तरंगित हुन्थिन्। लजालु स्वभावकी सुबिमा अरूका अगाडि खुलेर नाच्न भने कहिल्यै सकिनन्।
त्यसैले त, एसएलसीपछि जब सुबिमाले ‘म नाच सिक्छु’ भनेर घरमा प्रस्ताव राखिन्, सबै चकित परे।
बुबा उनलाई इञ्जिनियरिङ पढाउन चाहन्थे। छोरी लुकीलुकी नाच्छिन् र यही क्षेत्रमा काम गर्न चाहन्छिन् भन्ने उनलाई सुइँको नै थिएन। त्यसमाथि नृत्यलाई मनोरञ्जनका रूपमा हेर्ने जमाना थियो। यो पनि करिअर बन्न सक्छ भन्ने धेरैले सोचेकै थिएनन्।
छोरीको प्रस्तावमा बुबा अनकनाए।
सुुबिमाले भने जिद्दी छाडिनन्।
भनिन्, ‘दुई वर्ष समय दिनु मलाई। त्यसपछि तपाईंले भनेकै मान्छु।’
सपना देख्ने र त्यही सपना पछ्याउँदै उडान भर्न चाहनेहरूका लागि दुई वर्ष पर्याप्त समय हो।
उनी पद्मकन्या कलेजमा नृत्य विषय लिएर आइए भर्ना भइन्। त्यहाँ गुरू हनी श्रेष्ठसँगको भेट र प्रशिक्षणपछि नृत्यप्रति सुबिमाको रुचि झन् झन् गहिरो हुँदै गयो।
‘पहिला त नाच्नु मेरो सोख मात्र थियो, कम्तिमा दुई वर्ष भए पनि आफ्नो सोख पूरा गर्न चाहन्थेँ,’ उनले भनिन्, ‘हनी श्रेष्ठसँग भेटेर नृत्यको गहिराइ बुझ्दै गएपछि यो मेरो निम्ति नसा बन्यो।’
पद्मकन्यामा दुई वर्ष पढ्दा उनले भारतीय दूतावासबाट प्राप्त हुने पाँचवर्षे ‘इन्डियन काउन्सिल फर कल्चरल रिलेसन’ (आइसिसिआर) छात्रवृत्तिबारे थाहा पाइन्। घरमा कसैलाई पत्तै नदिई छात्रवृत्तिमा आवेदन भरिन्। पहिलो प्रयासमा नाम निस्किएन। दोस्रोपटकमा उनले छात्रवृत्ति पाइन्।
‘छात्रवृत्ति पाएपछि बल्ल बुबालाई सुनाएँ,’ उनले भनिन्, ‘त्यसपछि घरमा कुनै रोकतोक भएन।’
सुबिमा आफ्नो सपना पछ्याउँदै सन् १९९८ अक्टोबरमा दिल्लीको श्रीराम भारतीय कला केन्द्र पुगिन्। त्यहाँ नृत्यका विभिन्न विधामध्ये कत्थकले उनको मन तान्यो। यसमा पनि काका नरेन्द्रगोपालकै हात छ।
नरेन्द्र त्यति बेला कत्थक सिक्दै थिए। रियाज गर्दा सुबिमालाई सँगै लैजान्थे। यसले सानैदेखि कत्थकप्रति आकर्षण थियो। यही आकर्षणले उनलाई कत्थकको औपचारिक शिक्षातिर तान्यो।
भारतकी चर्चित कत्थक नर्तकी शिखा खरेलबाट उनले पाँच वर्ष कत्थक पढ्ने र सिक्ने मौका पाइन्। कत्थकको ऐतिहासिक ज्ञान र यसका विविध बान्कीहरूको सिकाइले उनको कला निखारिँदै गयो।
सुबिमाका अनुसार, जसरी पानीमा नुन घुलिन्छ, त्यसैगरी कत्थकमा ताल र लयसँग शरीरको हाउभाउ घोल्नुपर्छ। यसमा नर्तक–नर्तकीको अनुग्रह, खुट्टाको चाल, हाउभाउ र नृत्यबाट कथावाचन हुन्छ।
उनले हामीलाई कत्थकको इतिहास पनि सुनाइन्।
‘उत्तर भारतमा बसोबास गर्ने एक समुदायले आफ्नो शरीरका अंगहरूको हाउभाउबाट मन्दिरमा धार्मिक कथावाचन गर्थ्यो। यही प्रस्तुतिले पछि कत्थक नृत्यको रूप लियो। यो भारतका आठ शास्त्रीय नृत्यमध्ये एक हो,’ उनले भनिन्, ‘नेपालमा पनि राजा–महाराजाको मनोरञ्जन निम्ति भारतबाट नर्तक–नर्तकी बोलाएर दरबारमा कत्थक देखाउने गरिन्थ्यो।’
भारतबाट कत्थकमा स्नातक सकेर नेपाल फर्केकी सुबिमा त्यसको केही समयपछि फेरि भारत गइन्, कत्थकमै स्नातकोत्तर गर्न।
यसबीच उनले आफ्ना गुरु शिखा खरेलसँग एउटै स्टेजमा सँगसँगै नृत्य प्रस्तुत गर्ने मौका पाइन्। ‘गुरु शिखाले मलाई एकदिन भन्नुभएको थियो, तिमीले जीवनमा नृत्यलाई सधैं प्रेम गर्यौ, त्यसैले तिमी मेरो लागि प्रिय छौ,’ सुबिमाले सुनाइन्।
गुरुको यही प्रेरणा र हौसला बोकेर सन् २००६ मा पूर्ण नर्तकीका रूपमा सुबिमा नेपाल फर्किन्।
उनी नेपाल त आइन्, तर यहाँ कत्थकको मर्म बुझ्ने र यसलाई सम्मानका साथ हेर्नेहरू कम थिए। औपचारिक शिक्षा, कला र सीप हुँदाहुँदै उनले आफूलाई साबित गर्न खुब संघर्ष गर्नुपर्यो।
नेपाल फर्केको झन्डै तीन वर्ष बितिसक्दा पनि उनले कतै आफ्नो कला प्रदर्शन गर्ने मौका पाइनन्। नृत्य प्रशिक्षकको जागिर खान पाइन्छ कि भनेर थुप्रै स्कुल धाइन्। त्यहाँ पनि निराशा नै हात लाग्यो।
एकाध नृत्य प्रदर्शनीको अवसर नआएको होइन, तर त्यसको दायरा अत्यन्तै सीमित थियो। उनले त्यस्ता प्रदर्शनीबाट आफ्नो कला अझ संकुचित भएर जाने खतरा महशुस गरिन्।
केही सीप नलागेपछि एकदिन उनले यस्तो बाटो रोजिन्, जसले या त उनको सपनामा उडान भर्थ्यो, या असफल भएर सपनाको प्वाँख निमोठ्न उनी बाध्य हुन्थिन्।
उनले सन् २००९ मा आफ्नो परिवार र साथीभाइको सहयोगमा ‘नृत्य आँगन’ सञ्चालन गरिन्। लामो समय दिएर सिकेको यो शास्त्रीय नृत्यलाई नयाँ पुस्तासम्म पुर्याउने उनको यो कोशिस थियो।
आज एघार वर्षपछि उनी आफ्नो कोशिसमा सफल भएकी छन्।
नृत्य आँगनमा कक्षा सुरू गरेपछि उनले सुशीला आर्ट एकेडेमी, पद्मकन्न्या कलेज, साल्सा डान्स एकेडेमी, सिर्जना कलेज अफ फाइन आर्ट लगायतमा पनि नृत्य प्रशिक्षकका रूपमा काम पाइन्।
कुनै समय ‘कत्थक मात्र आउँदो रहेछ’ भनेर जागिर पाउन सकस बेहोरेकी सुबिमालाई अचेल भ्याइनभ्याइ छ। उनलाई कतिपय प्रतियोगितामा निर्णायकका रूपमा बोलावट आउँछ। राष्ट्रिय–अन्तर्राष्ट्रिय कार्यक्रममा कत्थक नाच्ने प्रस्ताव त कति कति!
नेपालकै एक कुशल कत्थक नर्तकीको पहिचान बनाएकी सुबिमाले थुप्रै एकल कार्यक्रम चलाएकी छन्। अहिलेसम्म कतिलाई कत्थक सिकाइसकिन् भन्ने उनलाई नै याद छैन।
आफ्ना गुरू शिखा खरेलको भनाइ उद्धृत गर्दै उनी भन्छिन्, ‘नाच्नु भनेको आफैंमा हराउनु हो। यो यस्तो कला हो, जसमा संगीतको ताल र लयमा डुबेर त्यसको भावलाई शरीरका अंग–अंगबाट अभिव्यक्त गर्नुपर्छ।’
शारीरिक चालसँगै कत्थकमा नर्तक–नर्तकीले लगाउने पहिरन र शृंगारको पनि ठूलो महत्व हुने उनी बताउँछिन्।
खासगरी नर्तकले घुमाउरो कुर्ता र चुँडीदार सुरुवाल लगाउँछन् भने नर्तकीले लेहेंगा–चोली। उनी आफैंले पनि पहिरनमा केही फेरबदल गरेकी छन्।
‘मैले यहाँ नर्तकहरूलाई दौरा–सुरुवाल लगाउन लगाएकी छु। नेपाली नर्तकले कत्थक नाच्दा किन आफ्नै राष्ट्रिय पोसाक नलगाउने भनेर यो प्रयोग गरेकी हुँ,’ उनले भनिन्।
उनका अनुसार, कत्थकमा खुट्टामा लगाउने घुँगरुको पनि ठूलो महत्व हुन्छ। यो नर्तकीको गहना मात्र होइन, अभिन्न अंग नै हो, उनले भनिन्, ‘घुँगरुको छनछन र खुट्टाको चालले हामी तबलाको तालसँग सुर गाँसिरहेका हुन्छौं।’
झन्डै दुई दशक औपचारिक कत्थक सिक्न र सिकाउनमा बिताएकी सुबिमा कत्थक प्रस्तोतालाई कथावाचनको राम्रो ज्ञान हुनुपर्ने बताउँछिन्। कथाको मर्म बुझ्नु, त्यसलाई सही ढंगबाट, जीउ र अनुहारको सही हाउभाउका साथ प्रस्तुत गर्न सक्नु नै कत्थकको खुबी हो भन्ने उनको भनाइ छ।
‘यसलाई मनोरञ्जनका रूपमा मात्र लिनेले राम्रो प्रस्तुति दिन सक्दैन,’ उनले भनिन्, ‘मनैदेखि डुबेर नाच्नुपर्छ। ताल र लयमा आबद्ध भएर जीउको हाउभाउबाट प्रस्टसँग कथा भन्न सक्ने र दर्शकहरूलाई त्यही कथामा डुबाउन सक्नेहरू नै कुशल कत्थक नर्तक–नर्तकी हुन्।’
अर्कोचोटि झम्सीखेलको ज्ञान मण्डल भवन पुग्नुभयो भने, शास्त्रीय संगीतको तालमा घुँगरुको छनछन पछ्याउँदै नृत्य आँगन छिर्नुहोला।
सुबिमा श्रेष्ठ ‘ता थइ... ता थइ...’ गर्दै कत्थक नाचिरहेकी र अरूलाई नाच सिकाइरहेकी भेटिन्छिन्।