सोना तोलावतीको उमेरले एक शताब्दी काट्यो। आफ्नो नाम राखिनुको कारण अझै सम्झना छ- उनी जन्मिने बेला बुवा लक्ष्मीभक्त उप्रेतीको बढुवा भएको थियो। डिट्ठा भएपछि बुवाको पगरीमा सुनको 'सेली' झल्कियो। सेली भनेको तत्कालीन कर्मचारीको पगरीमा पदअनुसार लगाइने सुन या चाँदीका ब्याज हो। सुनको सेली पाएका बेला जन्मिएकी छोरीको नाम सोना तोलावती रह्यो।
'बुवाले सुनको सेली पाउने बेला म जन्मिँदा सबै असाध्यै खुसी थिए रे,' उनी सुनाउँछिन्, 'त्यस्तो बेलामा जन्मिएकी, भाग्यमानी हुन्छे भन्थे।'
बुवाको जागिर सिलसिलामा धनकुटा पुगेका बेला आमा धनकुमारी उप्रेतीको कोखबाट जन्मिएकी हुन् सोना तोलावती। तर उनकी आमाको चाँडै निधन भयो। १७ दिन थला पर्दा आमाले बुवालाई अर्को बिहे गर्न भनेकी थिइन् रे।
धनकुमारीले आफ्ना ५० वर्षे श्रीमानलाई 'बात लाग्ला' भन्ने डरले आफ्नै भदैनीसँग बिहे गर्न भनिछन्। सोना तोलावतीकी मामाकी छोरी नै उनकी कान्छी आमा बनिन्। कान्छी आमा र सोना तोलावतीको उमेर जम्मा चार महिना मात्रै फरक थियो।
बात लाग्छ भनेको?
'त्यो बेलाको समाज नि। सासू नभएका घरमा तीन-चार बुहारी छन्, कुनै एकलाई अलि बढी माया देखायो भने ससुरा-बुहारीको अनैतिक सम्बन्ध छ भन्दिन्थे,' सोना तोलावतीले भनिन्, 'बुवालाई समस्या नपरोस् भनेर आमाले भदैनीसँग बिहे गर्न लगाउनुभएको।'
अनि बाहुनहरूले पनि नातामा बिहे गर्न मिल्छ त?
'हुँदो रहेछ। भदैनी साली हुन्छ रे। आमा 'भदैनी नै बिहे गर्नू, अन्त नगर्नू' भनेर बित्नु भो,' उनले सुनाइन्।
बुवाभन्दा ३८ वर्ष सानी उनकी कान्छी आमाले दस सन्तान जन्माइछन्।
उसो त सोना तोलावतीको पनि बैवाहिक अवस्था खास फरक छैन। १९७६, असोज ६ मा जन्मिएकी उनको बिहे ७ वर्षमै भयो। काभ्रेका बासिन्दा उनका श्रीमान २२ वर्षका थिए। सोना तोलावती उनकी दोस्रो श्रीमती थिइन्।
आधा जीवनसँगै बिताएका श्रीमानको नाम उनी आज पनि भन्न सक्दिनन्।
नाम सोध्दा छोरालाई देखाउँदै भनिन्, 'उल्ले भन्छ, हामीले भन्न हुन्न। आमाले नभनिकन मर्नुभो। भन्यो भने पाप लाग्छ भन्थे।'
'पाप के हो,' उनैलाई सोधेँ।
'के हो, के हो ! पहिले र अहिले धेरै फरक छ। अहिले लोग्नेलाई गोडा मिचाउँछन्, हामीले देउता मान्यौं, गोडा धोएर पानी खान्थ्यौं सधैं,' उनी भन्छिन्।
सधैं?
'हो नि, सधैं खुट्टा मिचिदिन्थ्यौं। उहाँ बिरामी भएर अस्पताल बस्दा पनि मिचिदिन्थेँ। अस्पताल बस्दा उहाँको गोडाको पानी खान खोजेकी थिएँ, 'फोहोर छ, घर गएर खालिस्' भन्नुभयो। खान छोडेकी थिएँ, उहीँ बित्नुभयो।'
सोना तोलावतीका अनुसार उति बेला बिहानै लोग्नेको गोडा ढोगेर मात्रै उठ्थिन। नुहाइधुवाइ गरेर पँधेरा गयो, श्रीमानको गोडाको पानी खायो। श्रीमान घर नभए, लगाइरहेको पोते चोबेर पानी खायो। श्रीमानको वा उनका खुट्टाको पर्याय पोते मानिएको होला !
उनका श्रीमान गणेशभक्त खरेलको २०३० सालतिर निधन भएको रहेछ, ४६ वर्षअघि। सोना तोलावतीका 'मालिक' गणेशभक्त बिरामी भएपछि, काभ्रे निवासी उनीहरू काठमाडौंस्थित वीर अस्पताल आए। त्यहाँबाट टेकु अस्पताल पठाइयो। त्यहाँ केही समयपछि गणेशभक्तको निधन भयो।
त्यति बेला उनीहरूको काठमाडौंमा घर थिएन। शव जलाए र ट्याक्सी लिएर घरै पुगी काजकिरिया गरे। सोना तोलावतीको स्मृतिमा त्यो दिन अझै छ। आफूले लगाइरहेको पोते र चुरा फुकालेर श्रीमानको छातीमा राखिदिन पठाइन्।
उनकै शब्दमा, 'चुरा-पोते त बुढालाई यहीँ दिएको। टपक्क कसिएका चुरा हुन्थे, ढुंगाले हानेर फोरेको। लुगा चाहिँ घरै (काभ्रे) गएर फेरेको। छोरा र म केही नखाई घर पुगेका थियौं।'
सोना तोलावतीले १७ सन्तान जन्माएकी थिइन्। चार छोरा- पद्मभक्त, पुरुषोत्तमभक्त, विश्वभक्त, हेमभक्त खरेल र तीन छोरी- शुभद्रादेवी, सुशीला र राजेन्द्रलक्ष्मी छन्।
उनीहरूको जीवन देख्दा परिवर्तनले चुर्लुम्मै डुबाएको उनलाई थाहा छ। तर केही चालचलन बदलिएको देख्न चाहन्नन् उनी। जस्तो- महिनावारी बेला छोइछाइ गरेको मनपर्दैन।
तर आफ्नो पालामा 'पर सरेकै' कारण श्रीमानसँग फोटो खिच्ने मौका गुमाएकी थिइन् रे।
त्यो दिन उनलाई ताजा छ- पनौतीमा नुहाएर काठमाडौं आएको थियो उनको परिवार। फर्किँदा १६ श्राद्ध पर्यो, पशुपति गएर श्राद्ध गरे। भोलिपल्ट घर जाने तयारी थियो। उनका एक छोरा लाजिम्पाट बस्थे, फोटो खिच्न कर गरे। उनी महिनावारी भइन्। श्रीमानसँग बस्न मिलेन। छोराले आमाको मात्र खिचाइदिए।
यो २०२४ सालको कुरा थियो, जब फोटो मूल्यवान् थियो। त्यसरी उनको मात्रै खिचिएको फोटोमा पछि छोरा/नातिले उनका श्रीमानको फोटो जोडेर दुईजनाकै बनाइदिए।
चाबहिल, बुल्बुलेस्थित घरको भित्तामा टाँगेको फोटो देखाउँदै उनले भनिन्, 'पर सरेपछि फोटो खिच्न मात्रै होइन, त्यो बेला छोराकहाँ बस्न पनि मुश्किल पर्यो। मालिक र छोराहरू कोठाभित्र सुत्थे। म कोठा जान नहुने भएर बाहिरको प्यासेज जस्तोमा सुतेँ। अर्को दिन बिहानै काभ्रे गएँ।'
अनि 'पर सर्या' बेला बाहिर निस्किन चाहिँ हुन्थ्यो?
'नहिँडेर के गर्नु, काम गर्नुपर्छ गाउँमा। ननुहाइ खोला तर्न भने हुन्नथ्यो। डुंगाबाट तर्न हुन्थेन, पुलबाट तर्थिऊँ,' सायद 'पर सरेका बेला' खोला तर्न नहुने नियम बनाइँदा 'पुल'को कल्पनै थिएन। उसो त कोशीको पानी पनि छुन नहुने रे !
खिचाएको फोटो कस्तो लाग्यो?
'कस्तो नि लागेन। देखिराखेकै फोटो हो। मेरा आमाबुवा धनकुटामा हुँदै फोटो खिच्नुभएको थियो,' उनले सुनाइन्, 'आमाबुवा, दिदीदाइ सबैको बसेर खिचेका।'
हाम्रा हजुरआमाहरूको अर्को भोगाइ 'सौता'को मामिला पनि हो। दोस्रो श्रीमती बनेर भित्रिएकी सोना तोलावतीलाई पनि सौतासँगका सम्बन्धबारे सोधेँ।
उनी सकारात्मक सुनिइन्, 'कहिलेकाहीँ झगडा हुन्थ्यो। तर बोलिहाल्नुपर्थ्यो।'
त्यति बेलाको समाजले सौताकै निहुँमा धेरै महिलाको जीवन असहज बनाएको छ। तरकारीमा नुन कम/बढी हालेदेखि सासूको गोडामा तेल नदलिदिँदा होस् वा सन्तान नजन्मिँदा एक पुरुषले दुई-तीन बिहे गर्ने छुट पाएका थिए।
उनको जवाफ नसकिँदै सोधेँ, 'उनीमाथि अन्याय भएको लाग्दैन?'
'खै, के भयो। मेरो बिहे हुँदा उनका छोरा थिए। पीर त पर्यो होला नि सौता आएपछि,' उनी भन्छिन्।
सोना तोलावती उनकी सौताको पीडा आकलन गर्छिन्, 'मेरी सौता बिहेका दिन हराइन् रे। ठूल्ठूला भकारीको कुनामा लुकिछन्। बाजा बजाउन थालेपछि मुटु फुट्यो होला, लुकिछन्। भोलिपल्ट जेठानीले भेट्या रे। उनलाई पीर परे पनि बिहे सबै उनैले उतारेकी। मलाई मैतालू फर्काएपछि घर भित्र्याएको पनि उनैले। भित्र्याएको दिन म र मालिक खाटमा सुत्यौं, उनी छोरासँग भुइँ बिछौनामा। भोलिपल्ट बाजेले (ससुराले) उनलाई गाली गर्नुभयो। अनि तलै सुतिन्। तर मालिकले उनलाई निकाल्ने, ढोका लाउने कहिल्यै गर्नुभएन।'
त्यसपछिका दिनमा भने सोना तोलावती महिनावारी-बिरामी हुँदा वा माइती गएका बेलामा जेठीको पालो आउनेरहेछ।
आफ्नो जीवनकथाको बिट मार्दै सोना तोलावती भन्छिन्, 'माइतमा रमाइलो लाग्थ्यो। भैंसी-बाख्रा चरायो, साथीसँग खेल्यो, पुतली खोज्यो। काम अरू केही थिएन। श्रीमानको घरमा अर्कै भयो। लोग्नेको माया लाग्यो, ससुराको डर लाग्यो। सौतासँग के-कसो हुन्छ भन्ने सोचेरै पीर लाग्थ्यो। केही काम बिग्रिए जेठानी-देवरानीले कुरा लाउने। के-के भो के-के।'
एक सय वर्षकी सोना तोलावती अहिले छोराको परिवार र छोरीसँग एउटै घरमा बस्छिन्। बोली टाठो छ। सुनाइ चंख। समाचारमा सुनेकै आधारमा नेकपा अध्यक्ष पुष्पकमल दाहालका छोराको निधनले दाहाल परिवारमा परेको पीडाले उनलाई छोएको छ- कस्तो पाप गर्यो, यस्तो पर्यो हई सीतालाई!'
सोना तोलावतीको घर काभ्रेपलान्चोक जिल्ला फलाँटेमा छ। उनका अनुसार उनीहरूको घरमै स्कुल खोलिएको थियो। उनका श्रीमान र परिवारले आफैं खर्च गरेर उनीहरूकै जग्गामा शारदा मा. वि. बनाएका थिए जुन अहिले पनि छ।
उनले केटाकेटीमा भाइसँगै 'धुनोट'मा 'क..ख' लेख्न सिकेकी थिइन्।
सोना तोलावती खुसी छन्, उनले 'सुखसागर' पढेर सकाएकी छिन्। 'देवीभागवत' पनि पढ्छिन्। 'स्वस्थानी' भन्न सक्छिन्। आफ्नो नाम लेख्न सकेकोमा दंग पर्छिन्।