रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ रालावाङ (राङ्सी)मा दुरुस्तै मादल जस्तै बज्ने प्राकृतिक ढुंगा फेला परेको छ। विकट स्थानमा रहेको त्यो ठाउँसम्म पुग्न राङ्सीबाट झन्डै २ घन्टाजति पैदल हिँड्नु पर्छ। माडीचौरबट जंकोट हुँदै भावाङपछि बल्ल राङ्सी पुगिन्छ।
घना जंगलका बीचमा पहरा (भिर)मा रहेका केही ढुंगा मादल, तबला लगायतका बाजा जस्तै बज्न थालेपछि त्यो हेर्न मानिसहरूको भीड लाग्ने गरेको छ। कतिले ती ढुंगालाई पूजा समेत गर्न थालेका छन्।
मादल बज्ने ढुंगाको आसपासमा कुनै त्यस्तो प्वाल पनि छैन न नै आवाज परिवर्तन भएर गुञ्जायमान हुने सम्मुखमा त्यस्तो कुनै वस्तु छ।
स्थानीयले भने ती ढुंगालाई दैविक शक्तिको उपज मान्छन्।
माडी ५ भावाङ निवासी २६ वर्षीय ताराप्रसाद खत्रीले अलौकिक उक्त ढुंगा ७ वर्ष पहिले स्थानीय एक व्यक्तिलाई दैविक शक्ति प्राप्त भएपछि ओडारका ती ढुंगा पत्ता लागेको जानकारी दिए। त्यसअघि ती ढुंगाको बारेका कसैलाई थाहा थिएन।
खत्रीका अनुसार त्यो पहाडमा एउटा शिव गुफा पनि थियो। जहाँ शिव पार्वती लगायतका ढुंगाका मूर्ति थिए। तर हाल ती मूर्ति चोरी भएका छन्।
विभिन्न बाजाका धून निस्कने ती ढुंगालाई स्थानीयले तिनै शिव पार्वतका बाजाका संज्ञा दिने गरेका छन्।
त्यही विश्वासले एक जना पूजारी राखेर त्यहाँ पूजा आरधना हुँदै आएको छ। उनी तिनै पूजारी हुन् जसमा दैविक शक्ति प्राप्त भएको जनविश्वास छ। पूजारी प्रेमसिंह डाँगी पनि मादल, दमा लगायतका बाजा बज्ने ती ढुंगामा ‘दैविक शक्ति’ कै प्रभावले त्यो संभव भएको ठान्छन् ।
डाँगीले २०७० साल जेठ ११ गते पूर्णिमाको दिनमा यी बाजा बज्ने ढुंगा पत्ता लगाएका हुन्। त्यो दिनको घटना उनी यसरी सुनाउँछन्।
उक्त दिन ती ढुंगाभन्दा केही तल अवस्थित प्राकृतिक गुफा नजिकको मन्दिरमा भक्तजनहरू धेरै आएका थिए। पूजारी डाँगी पूजाआरधना गर्दागर्दै एकाएक बेपत्ता भए। उनकै शब्दमा उनी ‘ओलप’ भए । डाँगी त्यही दैविक शक्ति भएको ढुंगामा गएर मादल, दमाह लगायतका बाजा जोडले बजाइरहेका थिए।
त्यसपछि मन्दिरको दर्शन गर्न पुगेका भक्तजन र पूजारी डाँगीका चेलाहरु पनि त्यहाँ पुगे। पहरामा रहेका ढुंगामा पूजारी डाँगीले मादल र दमा बाजा बजाएको सुनेपछि सबै आश्चर्यमा परे। त्यहाँ ठूलै दैवीय शक्ति रहेको विश्वास स्थानीयले गरे। त्यसपछि ती बाजा बज्ने ढुंगाहरूको चर्चा परिचर्चा चुलिन थालेको रहेछ।
‘मलाई रातिमा एकजना व्यक्ति प्रकट भएर रालावाङ भन्ने ठाउँमा ‘शिव शक्ति बाजा’ छन् भन्ने ज्ञान दिनुभयो,’ पूजारी डाँगीले भने,‘ती बाजालाई भक्तजनहरूको लागि प्रख्यात गर्नुपर्छ । त्यो काम तिमीले गर्नु भन्ने उहाँको आदेश पालना गर्न म यहाँ बाजा बजाउन आएको हुँ।’
उनले पहिलो पटक बाजा बज्ने ढुंगासम्म आफू सपना जस्तै अर्धचेत अवस्थामा त्यहाँ पुगेको दाबी गरे।
‘म सपना जस्तै तालमा यहाँ आएर मादल बजाउन थालेछु,’ त्यो दिनको घटना सम्झँदै उनले भने, ‘त्यो मादल बजेको सुरेर कहाँ मादल बज्छ? भनेर सबै भक्तजन र मेरा चेलाहरू पनि खोज्दै आएका रहेछन्।’
त्यहाँको ढुंगाहरूमा मादल,दमाह,तलवा,गितार लगायतका बाजा बजाउन सकिन्छ। पूजारी डाँगीका अनुसार गितार बज्ने ढुंगा भने चोरी भइसकेको छ।
ती ढुंगाबारे हल्ला फैलिएपछि त्यस ठाउँमा राजनीतिक दल तथा जनप्रतिनिधि लगायत पनि पुग्न थालेको स्थानीय बताउँछन्।
बाजा बज्ने ठाउँ पुग्ने मूल बाटोमा स्वागत गेट पनि बनाइएको छ।
बाजा बजाउने सीप भएका आफैं पहराका प्राकृतिक ढुंगामा मादल, दमा, तबला लगायतका बाजा बजाएर मनोरञ्जन लिने गर्छन्। नजान्नेहरू अरुले बजाएको हेरेर रमाउँछन्।
पूजारी डाँगीले ‘शिव शक्ति ढुंगा’ भएको दाबी गरे पनि त्यसमा अरू कुनै वैज्ञानिक कारण पनि हुन सक्ने अनुमान गरिएको छ। पूजारीले ती ढुंगामा ‘बहुमूल्य धातु’पनि हुन सक्ने संभावना औंल्याए।
त्यसबारे हालसम्म वैज्ञानिक खोज, अनुसन्धान भने हुन सकेको छैन।
यो ठाउँको विकासको लागि स्थानीय आमा समूहले दस हजार सहयोग गरेको छ भने सप्तरंगी समूहले तिहारमा खेलेको देउँसी भैलोबाट संकलित ४० हजार रुपैयाँ सहयोग गरेको पूजारी डाँगीले जानकारी दिए।
त्यहाँ पुगेर पूजा आरधना गरे चिताएको पूरा हुने पूजारी डाँगीले दाबी गरे।
शिव पार्वती बराहा खेतसम्म जाने मोटरबाटो निर्माण गर्न सके विभिन्न बाजा बजाउन मिल्ने प्राकृतिक ढुंगा भएको स्थानले चर्चा पाउने देखिन्छ।
ढुंगा, मादल वा तबला जस्तै बज्नुका पछाडि जे जस्तो कारण भए पनि सरकारी लक्ष्य अनुसार पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न यस्ता ठाउँहरूको प्रचार प्रसार हुन अति आवश्यक छ।