काव्य बराल दस वर्ष मात्र भए, उनको ख्याति रंगमञ्च दुनियाँमा ठूलै छ।
उनको पछिल्लो नाटक 'झिम्के मामा' हो। काठमाडौंका मण्डला र शिल्पी थिएटरदेखि गोरखामा सडक नाटक गर्न भ्याइसकेका छन्। खेल्ने-कुद्ने उमेरलाई रगंमञ्च संसारमा घोलेर रमाएका काव्य भन्छन्, 'मलाई नाटक गर्न मन लाग्छ। नाटक गर्दा फ्रेस हुन्छु।'
निर्देशक एवम् रंगकर्मी जीवन बराल र सुमन कुँइकेल (बराल) का छोरा हुन् काव्य। पाँच वर्षका हुँदा पहिलो पटक नाटकमा देखा परेका हुन्।
०७२ सालमा शिल्पी थिएटरमा चाम्लिङ राईद्वारा निर्देशित नाटक 'लाटो पहाड' मञ्चन हुने थियो। यसनिम्ति बाल पात्र खोजी भयो। जीवन बराल पनि नाटकमा थिए। निर्देशक राईले उनकै छोरा काव्यलाई खेलाउने निधो गरे।
सुरूमा काव्य मानेनन् रे।
'आमुसँग मात्र गर्छु' भन्दै जिद्दी गरेको उनकी आमा सुमन बताउँछिन्। सानो काव्यलाई हरेक नाटकपछि 'चकलेट' दिने भन्दै मञ्चमा उभ्याइयो। नाटक सकेलगत्तै हात फैलाउँदै भन्थे रे, 'खै, किन्डरजोय।'
फकाएर सुरू भएको नाटक यात्रामा काव्य अहिले रमाएका देखिन्छन्। स्कुलका किताबभन्दा नाटकका 'स्क्रिप्ट' पढ्न समय दिन्छन्। हरेक पात्रका संवाद पढेर 'विश्लेषण' पनि गर्छन् रे। बुवा जीवनका अनुसार ठूलालाई याद गर्न धौ–धौ पर्ने कुरा, काव्यले सजिलै टिप्छन्।
काव्यले नाटकसँगै, विज्ञापन र म्युजिक भिडिओ पनि खेलेका छन्।
संवादमा भन्दा नक्कल पार्न वा शब्द बिनाका प्रस्तुति बढी रूचाउने उनी भन्छन्, 'सबभन्दा बढी त जोकर बन्न रमाइलो लाग्छ।'
'किन जोकर?' बुवाले सोधेका थिए।
'जोकरले अरूलाई हसाँउछ। मान्छेहरू जोकरको असफलतामा हाँस्छन्, त्यसैले,' कलिला काव्यको जवाफ।
उनी जोकर बन्न आमाको 'मेकअप' सामान खोज्छन्। आमा सकभर सामान काव्यको पहुँचबाहिर राख्छिन्। सुमन भन्छिन्, 'लिपस्टिक देख्नु हुन्न, मुखमा कोर्न थालिहाल्छ।'
काव्य प्रज्ञा कुञ्ज विद्यालयमा कक्षा ३ पढ्छन्। कक्षा १ सम्म त सेवा सदन पढेका थिए। प्रज्ञा कुञ्जमा नाटकको छुट्टै विषय हुने र प्राथमिकता दिइने थाहा भएपछि स्कुल फेरिदिएका बराल दम्पत्ति बताउँछन्।
कक्षा एक हुँदै उनले स्कुलको वार्षिक कार्यक्रममा पाँच मिनेट लामो 'जोकर' भेषमा प्रस्तुति राखेका थिए। एक यात्रीको जीवनी बुनेको उक्त कथा काव्यले नै रचेका थिए रे।
'मैले त्यसैमा केही थप मात्र गरिदिएको हुँ,' जीवन भन्छन्।
प्रज्ञा कुञ्ज स्कुलको पाठ्यक्रममै नाटक छ। काव्य यो रुचाउँछन्। जतिसक्दो स्कुल छुटाउँदैनन्। कहिलेकाहीँ कक्षा छुट्दा भन्छन् रे, 'आमु, मेरो कक्षा छुट्यो। साथीहरूले कति पढे होला है!'
नाटक क्षेत्रमा उभ्याउन उनलाई 'स्कुल थिएटर नेपाल'द्वारा आयोजित 'लालाबाला' कक्षाले समेत सघाएको छ। 'लालाबाला' मा नाटक सिकाइन्छ, गराइन्छ। यो कक्षामा पनि काव्यको विशेष रूचि छ। झन्डै तीन वर्ष भयो, हरेक शनिबार बिहान ११ देखि २ बजे कक्षा पुग्न थालेको।
पढाइमा औसत उनी नाटकमा अब्बल मानिन्छन्। उनको प्रस्तुतिमा सकारात्मक प्रतिक्रिया आउने सुमन बताउँछिन्। छोराको नाटकप्रति बढ्दो चासोमा जीवन र सुमन खुसी छन्।
'कहिले आर्मीको इञ्जिनियर बन्छु भन्छ, कहिले थिएटर आर्टिस्ट बन्ने सोच सुनाउँछ। भविष्यमा उसको जे लक्ष्य हुन्छ, त्यसमा साथ दिनेछौं,' जीवनले भने।
शिल्पी थिएटर नजिकै छ उनको बसाइ। उनलाई घरभन्दा थिएटरको आँगन प्यारो लाग्छ। स्कुलबाट फर्किनेबित्तिकै शिल्पी पुग्छन्। नाटक मञ्चन भइरहेको भए हेर्छन्, नभए खेल्छन्।
काव्यलाई पहिलेपहिले आमाबुवाले आफ्नो नाटक भएको ठाउँ लग्थे। पछिल्ला पाँच वर्षमा शिल्पीमा मञ्चित लगभग नाटक काव्यले हेरेका छन्। नाटक हेर्दाहेर्दै कति पटक निदाएको उनलाई याद छ। अँध्यारोमा लडेको समेत सम्झिँदै भने, 'नाटक सुरू भएपछि भित्र अँध्यारो हुन्छ। खुट्टाले छाम्दै हिँडेको थिएँ, भत्ल्याङ्ग लडेँ।'
उनले हाँस्दै कार्टुनका पात्र अँध्यारोमा खुट्टाले छाम्दै हिँडेको देखेर त्यसै गरेको सुनाए।
शिल्पीको आँगनमा खेल्न र प्रांगणमै रहेको 'डबली द स्पेस' को मःम खान उनलाई खुब मनपर्छ। मःम भएपछि खान पनि नपर्ने रे।
कहिलेकाहीँ मोबाइलमा गेम र युट्युब चलाउँदै बस्छन्। सुमनले केही भनिहाले जवाफ दिन्छन्, 'हजुरले मोबाइल चलाएको देखेपछि मलाई पनि मन लाग्छ नि!'
मोबाइलबाट आमाले गेम हटाइदिएको विषयमा काव्य भन्छन्, 'जुन गेम राख्यो आमुले डिलिट गर्दिनुहुन्छ। अर्को दिन फेरि डाउनलोड गर्छु। ब्लू ह्वेल, पब्जी, फ्रिफायर खेल्न मन लाग्छ।'
दस वर्षे काव्यको पाँच वर्षको रंगमञ्च यात्रामा 'लाटो पहाड', 'अनि देउराली रुन्छ', 'योगमाया' र 'जोखिम' जस्ता नाटक खेलिसकेका छन्। उनलाई सबभन्दा मन परेको 'झिम्के मामा' र 'कालु र बाघ' हो। यस्तै 'व्यञ्जन मिष्ठान भण्डार तथा भोजनालय' को विज्ञापन र अभियुथानको 'द्वन्द्व' म्युजिक भिडिओमा देखा परेका छन्।
प्रायः नाटकमा निकै कम सम्वाद रहेका पात्र हुने काव्य 'कालु र बाघ'मा हजुरबुवा बनेका थिए।
'कपाल रंगाएको थिएँ। दौरासुरुवाल लगाएको,' त्यो बेलाको सम्झनामा भने, 'पछि त मेरो लौरो नै हरायो। बाँस देखेँ, त्यही बोकेर स्टेज गइदिएँ।'
नाटक दृष्यअनुसार पोशाक आफैं छुट्याउन सक्छन् रे उनी। नाटकका नियम पनि थाहा छन्। आफूभन्दा साना कलाकारसँग काम गर्दाको अनुभवमा भने, 'ती भाइलाई नाटकको नियम थाहा रहेनछ। ब्याक स्टेजमा हल्ला गर्दिन्थ्यो।'
नाटकको 'ब्लक इन' समयमा कहिलेकाहीँ गाह्रो हुने काव्यको अनुभव छ। तर भन्छन्, 'सिक्यो भने गाह्रो हुँदैन। सिकेन भने जे पनि गाह्रो हुन्छ।'
लजालू स्वभावका उनको अभिनय तारिफयोग्य रहेको बुवा जीवन बताउँछन्। हरेक नाटकको पारिश्रमिक जम्मा गरिदिनू भनेर आमालाई दिन्छन्। दुई हजार पाँच सयदेखि दस हजारसम्म उनले कमाएका छन्। विज्ञापन गर्दा पाएको पैसा भने भाइका लागि छुट्याएका थिए रे।
तीन महिनाका भाइ सर्जकको निकै माया लाग्ने उनी सुनाउँछन्।
'भाइ बढी रोयो भने मलाई कराउँछ, किन रुवाएको भनेर,' आमा भन्छिन्।
काव्यलाई नाटकबाहेक नाचगानमा रूचि छ। गितारमा रूचि देखाएकाले केही समयपछि कक्षा भर्ना गरिदिने सोचेकी छिन् सुमनले। झन्डै पाँच महिना 'पियानो' सिकिसकेका छन्।
उनलाई स्कुलमा शिक्षकहरूले कहिले 'ड्रामाटिस्ट' त कहिले 'बराल सर' भन्छन् रे। आफू बदमास हुँदा रिसाउने शिक्षक पनि राम्रा लाग्ने बताउँछन्। आफू धेरै नबोल्ने भए पनि साथीले जिस्काउँदा आफू पनि जिस्किने उनी बताउँछन्, 'साथीले जिस्कायो भने म बदमास हुन्छु नि।'
कक्षाका साथी पनि उनको नाटक हेर्न जान्छन्।
आफूलाई मनपर्ने साथी स्कुलमा भएको बताउँदै भने, 'मेरो एउटा साथी छ। उसले भनेको मानेन भने मलाई कट्टि गर्दिन्छ। मैले जे लगेँ, त्यही उसलाई चाहिन्छ। तर त्यो साथी मनपर्छ।'
काव्य र उनका आमाबुवासँगको कुराकानी क्रममै कतैबाट सिठ्ठी बजेको सुनियो। काव्य बोल्दै थिए, फुत्तै हिँडे। उनका साथीले बोलाउने संकेत रहेछ सिठ्ठी...।।