सल्यानमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी एक किशोरीको घटना अनुसन्धान गर्न प्रहरीले पोलिग्राफको टेस्ट सुरू गर्ने भएको छ।
जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं. १ तल्लो काभ्रा निवासी १७ वर्षीया कविता बोहराको फागुन २ गते मध्यरातमा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
घटनाबारे अनुसन्धान गर्दै आएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक जगत नेपालीले बोहोरा हत्याकाण्डको अनुसन्धानका क्रममा आइतबारदेखि पोलिग्राफ टेस्ट गर्ने क्रम सुरू गर्न लागेको जानकारी दिए।
तीन दिन अगाडि नै प्रहरीले बाहिरी जिल्लाबाट पोलिग्राफ मेसिन घटना अनुसन्धान गर्न भन्दै मगाएको नेपालीले बताए।
‘हामीलाई आशंका लागेका ७/८ जना व्यक्तिलाई बोलाएर पोलिग्राफ टेस्ट गरिने छ,’ नेपालीले भने,‘आशा छ त्यसबाट हामीलाई केही सुराक मिल्ने छ।’
पोलिग्राफ टेस्ट गर्दा व्यक्तिले बोल्ने झूट पत्ता लगाउन सघाउ पुग्ने प्रहरी निरीक्षक नेपालीले विश्वास व्यक्त गरे।
मेसिन लगाउँदा अपराधमा संलग्न व्यक्तिको मुटुको धड्कन, बोली लगाएका कुराहरूमा तीव्र भिन्नता महशुस गर्न सजिलो हुने हुँदा झूट पत्ता लगाउन पोलिग्राफ टेस्ट गर्ने प्रचलन बढ्दै गएको छ।
कविता हत्याकाण्ड अनुसन्धान गर्न यसअघि प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँके नेपालगञ्जबाट ‘भुन्टी’ नामक कुकुरलाई पनि प्रयोग गरेको थियो।
घटना मध्यरातमा भए पनि उक्त कुकुर बाँकेबाट ल्याउन शनिबार बेलुकामात्रै सल्यान ल्याउँदा अनुसन्धानमा केही समस्या भएको प्रहरीले बताएको छ।
घटना भएको दिन अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक लक्ष्मण वलीले बोहरा हत्या अनुसन्धान गर्न भुन्टीसहित आफ्नो टोली शनिबार बेलुका ५ बजे घटनास्थलमा पुगेको बताएका थिए।
घर परिवारले शवमाथि छुट्टै कपडा ओढाइदिनु, घटनास्थल तथा शव भएको स्थानमा धेरै मानिस आवातजावात गरेको हुँदा भुन्टी कुकुर अल्मलिएको वलीले जानकारी दिएका थिए।
‘कुकुरले हत्या गरिएकी बोहरा, उनका कपडा सबै सुँघ्यो र केही परसम्म पुग्यो,’ प्रहरी निरीक्षक वलीले भनेका थिए, ‘तर खोला आएपछि अल्मलियो।’
कुकुर अल्मिलिएपछि शनिबार राति नै उसलाई नेपालगञ्ज फिर्ता पठाइएको थियो।
घटनास्थलमा हत्या गरिएकी बोहराले प्रयोग गर्ने मोबाइल प्रहरीले फेला पारेको थियो।
प्रहरीले मोबाइलको कल डिटेल्सको आधारमा पनि अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।
‘बोहरा रातमा किन घरदेखि बाहिर निस्केकी हुन्, शौच गर्न वा कसैले फोन गरेर बोलाएपछि त्यो कुराको पनि कल डिटेल्सका आधारमा अनुसन्धान अगाडि बढ्छ,’ प्रहरी निरीक्षक वलीले भने।
स्थानीय सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बोहराको अगाडि घाँटी र पछाडि टाउकोको भागमा धारिलो हतियारले आक्रमण गरी विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको थियो।
कविताका अभिभावकले शुक्रबार राति ९ बजेसम्म उनलाई कोठामा पढिरहेको देखेका थिए।
उनीहरू सुतेपछि मध्यरातमा शव घरदेखि १५ मिटरको दूरीमा फेला परेको थियो।
मध्य रातमा कविताकी दिदीको छोरा (बालक) वान्ता गर्न थालेपछि कविताको खोजी भएको थियो। उनकी दिदी बिरामी भएको हुँदा उक्त दिन उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन्।
बोहरा परिवारमा दुई छोरीमात्रै छन्।