कोठाभित्र पस्नेबित्तिकै एउटा परिचित शरीर देखियो। स्थिर पल्टेको। त्यति प्रखर कवि यस्तो चिसो गरी बाँच्न विवश हुनेछिन् भन्ने कसलाई लागेको थियो?
डिमेन्सियाबाट अल्जाइमर्सतर्फ बढेको उनको मस्तिष्कले सम्झनाहरू भेटाउन छाडेको छ। त्यसैले आँखा उही भए पनि देखिएका कुरा विराना लाग्छन्।
उनी एकोहोरो टोलाएर हेर्न थालिन्। चिनेजस्तो गरिनन्, नचिनेजस्तो पनि गरिनन्।
'चिन्यौ?' मतिर देखाउँदै श्रीमान शंकर गिरिको मुखबाट प्रश्न निस्कियो।
टोलाइरहेकै आँखाले चिमचिम गर्न थाले। तिनमा कुनै संवाद थिएन।
'पहिले त्यत्रो आइरहने मान्छेलाई पनि चिनेनौ?'
जवाफमा उनी एकोहोरो श्रीमानतिर ट्वाल्ल हेरिरहिन्।
एकछिनको मौनपछि शंकर गिरिको प्रतिक्रिया थियो– 'सी इज लाइक द्याट'।
म आफैं अघि बढेँ र सोधेँ।
'तपाईंले मसँग जीवनी लेख्न मानसिक रूपले तयार भएकी छु भन्नुभएको थियो नि, लेख्नुभयो?'
यति बेला भने बल्ल अवोध बालकझैं टाउको तलमाथि हल्लाएर 'अँ' भनेजस्तो जवाफ आयो। आँखा पनि अलि नरम देखिए।
फेरि अनुहारलाई एकोहोरोपनले छोप्दै लग्यो।
...
मीनभवन क्याम्पस अघिल्तिरको लहरमा उभिएको यो घर विशेष छ। उथलपुथल जमिनमा एउटा काबिल कविले कल्पना गरेको र अर्को उत्तिकै काबिल इञ्जिनियरले तयार पारेको।
तै पनि किन किन, यसपालि भने दिउँसै बत्ती निभेजस्तो लाग्दै थियो। म सरासर घरको पछिल्लो भाग पुगेँ।
सरकारी सेवामा सुपरिटेन्डेन्ट इञ्जिनियर (सहसचिव) भएर अवकाश पाएका शंकर गिरि घर पछाडिको खाली जमिनमा सक्रिय देखिए। त्यहाँ केही निर्माण मजदुर खटिएका थिए भने असी वर्ष नाघिसकेका इञ्जिनियर गिरिको निर्देशन चलिरहेको थियो।
'यो बुढेसकालले कति दिन साथ दिन्छ ठेगान छैन,' शंकर भन्दै थिए, 'बाँचेकै बेला वानीरा फाउन्डेसनलाई भवनसहित उभ्याउने तयारी गर्दैछु।'
मैले कलम निकाल्न खोजेँ। गिरिले मलाई थुम्थुम्याउन थाले। समाचारको प्राथमिकताभन्दा आफ्नो मनस्थिति धैर्यपूर्वक सुनोस् भन्ने उनमा देखिन्थ्यो। 'के हतार छ?' भित्र बढ्ने इशारा गर्दै भने, 'आरामले कुरा गरौं।'
दुई सन्तान अर्थात् जेठी छोरी अपराजिता र छोरा अपूर्व दुवै स–परिवार अमेरिका बस्छन्। यो घरमा भने वर्षौंदेखि सहयोगीका रूपमा बस्दै आएको एक दम्पत्ति र गिरि जोडी गरी जम्मा चार जनाको बसोबास छ।
'सबै काम भिमबहादुरले एक्लै भ्याउँदैन,' भित्र पस्दापस्दै शंकरले सुनाए, 'घरको काम, बारी, सरसफाइ, खानापिनदेखि सबभन्दा मुख्य त बिरामी श्रीमतीको हेरचाह।'
गिरिको बढी समय श्रीमतीको स्याहारमै बित्छ। बिहान ठीक ९ बजे चारवटामध्ये पहिलो सुइ लगाइदिनुपर्छ। त्यसपछि दिनभरजसो उनको रेखदेख र औषधि चलिरहन्छ। कुनै औषधि घटबढ भए तुरुन्त किनेर ल्याउनुपर्छ। पिसाबको संक्रमण भइरहन्छ, त्यता पनि ध्यान दिइरहनुपर्छ। श्रीमतीसँग संवाद हुन छाडे पनि दुवै जनाले सँगसँगै खाना र खाजा खाने परम्परा टुटेको छैन।
'सुगर र प्रेसर नियन्त्रित छ,' उनले भने, 'अमेरिकाको बिरामीले पनि उही औषधि खानेबाहेक विकल्प नभएको अल्जाइमर्स त मैले के गर्न सक्छु?'
औषधि भनेको उही स्मरणशक्ति अलि बलियो पार्ने कोशिस मात्र त हो। यो रोग निको पार्ने औषधि अहिलेसम्मै निस्केको छैन।
सातामा एकदिन सुगर र प्रेसर परीक्षण गर्नुका साथै तीन महिनामा एकपटक पिसाब र रगत नमूना लिएर ल्याब पुग्नुपर्छ। त्यसपछि चिकित्सकलाई देखाएर औषधिको मात्रादेखि खानपिनसम्म मिलाउने काम शंकरले नै गर्छन्।
'बेलुकीपख भोजभतेर छ भने समयमै सुइ लगाइदिएर एक्लै जान्छु,' उनले भने, 'बाँचुन्जेल समाजसँग पनि त जोडिएरै बस्नुपर्छ।'
हामी बैठकभित्र पसिसकेका थियौं। धेरैपटक पुगेको त्यो कोठामा सजाइएका थुप्रै चिजतर्फ मैले नजर दौडाएँ। हरेकपटक पुग्दा मेरो आँखाले खोज्ने एउटा विशेष तस्बिर त्यो भित्तामा हुन्थ्यो।
सर्सर्ती आँखा डुलाउँदा त्यहाँ देखिनँ। श्रीमान–श्रीमतीको त्यो तस्बिर क्यामरातर्फ टोलाएर हेर्दै फोटो खिच्ने संसारभरका दम्पत्तिभन्दा बेग्लै थियो। सेतो सर्ट र रातो टाइ लगाएका इञ्जिनियर गिरि श्रीमतीतर्फ हेरिरहेका, श्रीमानको कुममा टाउको आडेस लगाएकी वानीरा आफ्नै सुरमा रमाइरहेकी एउटा 'मुड' देखिन्थ्यो त्यो तस्बिरमा।
हरेकपटक त्यो तस्बिर हेर्दा म वानीरा गिरिले उनका किताबमा धन्यवादज्ञापन गर्दा उल्लेख गर्ने यो लाइन सम्झन्थेँ–
'मेरो शंकरलाई
जसलाई अति माया गरेर
अप्पीको बुवा
पनि भन्ने गरेकी छु'
त्यो तस्बिर २०७२ को भुइँचालोपीडित बनेछ।
'घर हल्लिरहँदा भित्तोबाट झरेरे सिसा फुट्यो अनि भित्र राखेको छु,' उनै शंकरले पुरानो फ्रेम निकाल्दै देखाए, 'सिसामा चपक्कै टाँसिएकोले तस्बिर पनि झिक्न सकिएन।'
न्युरोडको फोटो कन्सर्नलाई भनेपछि त्यसको 'कपी' बनाइदिएको रहेछ, जुन पुरानो फोटोजस्तो राम्रो नबनेको गिरिले बताए। त्यो 'कपी'लाई पनि प्लास्टिकले बेरेर एउटा कुनामा राखिएको थियो।
'निकै पहिले नर्वेका प्रोफेसर हान्सले खिचिदिएका हुन्,' उनले तस्बिर हेर्दै त्यो समय सम्झिन खोजे, 'एउटा पारिवारिक भेटघाटको बेला थियो त्यो।'
प्रसिद्ध पेन्टर तथा मूर्तिकार प्रमिला गिरिका श्रीमान हान्स फोटोग्राफीका सौखिन रहेछन्। उनैले यी प्रेमिल जोडीको मिठो क्षण यति गजबसँग कैद गरिदिएका थिए।
तस्बिर हेर्दाहेर्दै पुराना याद दौडिन थाले।
'वानीराको मसँग भेट हुनुसंयोग थियो,' शंकरले सुनाए, 'भारतमै नेपाली विषयमा स्नातकोत्तर पढ्ने व्यवस्था थियो भने सायद उनी यता कहिल्यै आउने थिइनन्।'
शंकर र वानीराको भेट २०२३ सालमा काठमाडौंमै भएको थियो। शंकरले उनकी भावी पत्नीलाई पहिलोपटक देखेका भने अझै पहिल्यै थियो।
'यता एसएलसी सकेर २०१४ सालतिर म दार्जिलिङको नर्थ प्वाइन्टमा आइएससी गर्दै थिएँ,' उनले सम्झे, 'त्यतिबेलै एउटा वादविवाद प्रतियोगितामा भाग लिन खर्साङदेखि आएकी एक स्कुले केटीका रूपमा मैले उनलाई देखेको थिएँ।'
वानीरा त्यतिबेलै दार्जिलिङतिर चर्चित भइसकेकी थिइन्। उनको आगमनको कुरा होस्टलका साथीले गरेपछि उनलाई हेर्न भनेरै शंकर प्रतियोगिता हुने 'गोर्खा दुःख निवारक संस्था'को सभाहल पुगेका थिए। स्कुले पोशाकमै आएका छात्राको हुलमा वानीरालाई देखेर शंकर मख्ख परे।
'त्यहाँभन्दा बढी अरू केही हुने कुरै थिएन,' उनले हाँस्दै भने, 'त्यो त्यतिमै सीमित थियो।'
त्यसपछि धेरै समय बित्यो। शंकर आइएससी सकेर नेपाल हुँदै इञ्जिनियरिङ पढ्न रुसतर्फ लागे।
उता दार्जिलिङमा नेपाली भाषामा स्नातकोत्तर पढाइ नहुने भएकाले वानीरा छटपटाएकी थिइन्। २०२२ सालतिर प्रज्ञाप्रतिष्ठानले गरेको कविता प्रतियोगितामा वानीराको कविता दोश्रो भयो। तत्कालीन राजा महेन्द्रका हातबाट पुरस्कार लिन उनी काठमाडौं आइन्।
'सरकार, भारतमा नेपाली विषय पढ्न पाइएन,' पुरस्कार ग्रहण गरिरहँदा वानीराले राजा महेन्द्रलाई सुनाइछन्, 'मौका मिले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गर्ने इच्छा छ।'
राजाले पनि उतिबेलै सचिवलाई इशारा गरेछन्।
पुरस्कार थापेर वानीरा दार्जिलिङ फर्किसकेकी थिइन्। उतै एकदिन खबर पाइन्, 'नेपाल आएर स्नातकोत्तर गर्न महाराजाधिराजबाटै छात्रवृत्ति बन्दोबस्त गरिएको छ।'
२०२३ सालमा शंकर रुसबाट इञ्जिनियरिङ सकेर फर्कँदा वानीरा त्रिपुरेश्वरस्थित त्रिभुवन विश्वविद्यालयको छात्रा भइसकेकी थिइन्।
'धेरै दिन पनि लागेन,' शंकरले सुनाए, 'म काठमाडौं ओर्लिएको भोलिपल्टै हाम्रो भेट भयो।'
त्यो पहिलो भेट जुराइदिने काम सुशीला थापाले गरेकी थिइन् जो पछि मन्त्री भइन्।
'म त बोलाएपछि सोझो हिसाबले थापाको घर पुगेको थिएँ,' शंकर सम्झँदै हाँस्न थाले, 'उता उनले त मेरो बारे भएभरका जानकारी लिइसकेकी रहिछन्।'
त्यो पहिलो भेटमा दार्जिलिङको वादविवाद प्रतियोगितामा देखेको सन्दर्भ उठेन त?
'उठाइँन,' उनले भने, 'पहिलो भेटमै थाहा दिन मन लागेन।'
बिहेपछि मात्रै उनले वानीरालाई स्कुले छात्राका रूपमा देखेर मोहित भएको सम्झना सुनाएछन्। सुशीला थापाको घरमा भेटेपछि दुवै जनाको दिनदिनै भेटघाट बढ्यो।
'गैरीधारा बस्ने उनी पढ्न त्रिपुरेश्वर जाँदा पुतलीसडकको मेरो डेरा अघिल्तिरबाटै जान्थिन्,' उनले भने, 'पछि पछि उनको डेरामा खानाको निम्तो पाउन थालेँ।'
पढेर फर्केको एक महिना नबित्दै गिरिले सडक विभागमा इञ्जिनियरको जागिर पाइसकेका थिए। वानीरासँग भेटको केही महिनामै अर्थात् २०२३ साल फागुनमा बिहे पनि गरे।
'रमाइलो भएको थियो,' उनी नोस्टाल्जिक भए, 'जनकपुरदेखि भएभरका आफन्त लिएर खर्साङ जन्ती गएका थियौं।'
बिहेपछि वानीरा मात्र होइन उनीभित्रको साहित्यकारलाई पनि शंकरले माया गरे।
'म त साहित्यिक क्षेत्रको मान्छे होइन, केवल पाठक थिएँ,' उनी भन्दै गए, 'आफैंप्रति लापरबाह उनलाई मैले नै अनुकूल बन्दोबस्त मिलाउनुपर्छ भनेर हरसम्भव कोशिस गर्न थालेँ।'
कम्प्युटरको कुरै छाडौं, फोटोकपीसमेत नभएको बेला वानीराले लेखेका प्रत्येक सामग्रीको एकप्रति जतनसाथ घरमा राखिन्थ्यो। यसरी संकलन गरेर राखे पनि त्यसलाई पुस्तक रूपमा छाप्ने जाँगर वानीरामा थिएन।
'बिहे भएको पाँच वर्षसम्म पनि किताब छपाउने बारे कुनै चालचुल नै देखाइनन्,' शंकरले भने, 'उनी त पत्रपत्रिकामै छापिएका रचना हेरेर दंग परिरहेकी थिइन्।'
त्यो बेला उत्तम कुँवरले प्रकाशित गर्ने रूपरेखा लगायत पत्रिकामा वानीराका रचना छापिन्थे।
श्रीमानले किताब निकाल्न जोड दिँदा पनि वानीरा 'किन किताब निकालिरहने? यत्तिकै चलिरहेकै छ। कसैलाई मनपरे निकालिदेलान्। हामी किन टाउको दुखाउने?' भन्दिरहिछन्।
'यसैगरी बसिरह्यो भने समय मात्र खेर जान्छ,' शंकरले भनेछन्, 'तिम्रो किताब कसैले निकाल्दैन। म निकाल्छु।'
त्योताका पुतलीसडकस्थित गिरिको डेरामा श्यामदास वैष्णव आइरहन्थे। वैष्णवले पनि वानीरालाई किताबको निम्ति घच्घच्याए। सम्पादनको जिम्मा आफैंले लिए। त्यसपछि बल्ल योजना बन्यो। छाप्नका लागि पुतलीसडकमै एउटा प्रेस थियो।
यसरी वानीरा गिरिको पहिलो कविता संग्रह प्रकाशन भएको थियो, 'एउटा एउटा जिउँदो जंगबहादुर'।
शंकरले नै सबै खर्च बेहोरेर तयार पारिदिएको त्यो किताबको मूल्य सात रुपैयाँ राखिएको थियो। वितरण जिम्मा साझा प्रकाशनलाई दिइयो। लगत्तै अर्को कविता संग्रह प्रकाशन भयो, 'जीवन थायमरु'। काठमाडौंमै एउटा टोलको नाम कसैले नराखिदिएकाले 'थायमरु' (ठाउँ नै छैन) भन्दाभन्दै टोलको नामै 'थायमरु' बनेको थियो। त्यसैको भावमा डुबेर लेखिएको कविता थियो त्यो।
दुइटा कविता संग्रहपछि वानीराको तेश्रो कृति उपन्यास 'कारागार' थियो।
'त्यति बेला मेरो जागिर धनगढीमा थियो,' शंकरले भने, 'उनी पनि पिएचडी गर्न घरबिदा लिएर बसेकी थिइन्। धनगढीको डेढ वर्षे बसाइँमै त्यो उपन्यास तयार पारेकी थिइन्।'
गिरि दम्पत्तिले यो उपन्यास पनि प्रकाशन गरेर साझालाई नै दिए। त्यसपछि पनि कविता संग्र, निबन्ध र उपन्यास निस्कँदै गए। तीनवटा उपन्यास र कविता संग्रह त साझाले नै छाप्यो।
वानीराको 'शब्दातीत शान्तनु'ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो। त्यो पुरस्कार स्थापनाको ३० वर्षपछि पहिलोपटक कुनै महिलाले पाएको अर्थमा पनि यो महत्वपूर्ण बन्यो।
यसैगरी २०३२ सालतिर वानीराले रुसको तासकन्दमा आयोजित अफ्रो एसियाली कवि सम्मेलनमा भाग लिने मौका पाइन्। निकै अघि उक्त सम्मेलनमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सहभागी भएका थिए। देवकोटापछिका नेपाली सहभागीका रूपमा उनकै उपस्थिति थियो। त्यो यात्राबारे सिलसिलाबद्ध रूपरेखामा प्रकाशित यात्रा संस्मरण त्यति बेला निकै लोकप्रिय थियो।
कविकै रूपमा उनले युरोप, अमेरिका, जापानलगायत थुप्रै मुलुक घुमिन्। बंगलादेश पुगेका बेला प्रधानमन्त्री शेख हसिना वाजेदलाई आफ्नो किताब दिँदै गरेको तस्बिर उनको बैठकमै छ।
वानीराको किताब प्रकाशनको अर्को 'इनिङ' पनि श्रीमान शंकरकै तत्परतामा भएको थियो।
'अवकाशको फुर्सद पनि उनकै कृति खोतल्दै किताब निकाल्न समर्पित गरेँ,' शंकरले भने, 'त्यसयता थप चार किताब प्रकाशन गरिसकेको छु।'
ती हुन्– निबन्ध संग्रह 'पर्वतको अर्को नाम पार्वती', 'जंगल जंगल', कविता संग्रह 'काठमाडौं काठमाडौं' र यात्रा संस्मरण 'रोकिनेले आकार दिन सक्दैन'।
यी किताबको वितरण जिम्मा रत्न पुस्तक भण्डारलाई दिइयो।
पछिल्लो कविता संग्रह 'काठमाडौं काठमाडौं'ले कवि वैरागी काइँला र वानीराबीच अलि चिसो बढाएको थियो। काइँला कविता विभागका प्राज्ञ भएका बेला प्रज्ञाप्रतिष्ठानमा यसको पाण्डुलिपि बुझाइएको थियो। साढे १२ वर्षपछि काइँला नै कुलपति भएका बेला वानीराले उक्त पाण्डुलिपि फिर्ता ल्याएर प्रकाशन गरिएको थियो। त्यो सन्दर्भ उक्त किताबमा रोचक पाराले संकेतका रूपमा उल्लेख छ।
त्यसैगरी एकपटक वानीराले बिपी कोइरालाको 'तीन घुम्ती' आफूलाई मनपरेको भन्दै लेखक पारिजातलाई सुनाइछन्। पारिजातले विपीको किताब आफूले कुनै हालतमा नपढ्ने बताइछन्। पछि वानीराले पनि पारिजातका किताब नपढ्ने भनेर रिस पोखेको सन्दर्भ उत्तिकै रोचक छ।
'एउटी साहित्यकारले राजनीतिक दृष्टि राखेको' भन्दै कुनै समय अत्यन्तै हिमचिम भएकी पारिजातप्रति वानीराले पछिसम्मै चित्त दुखाएकी थिइन्। पारिजातले विपीको पुस्तक पढिन्–पढिनन् थाहा भएन। तर, वानीराले भने त्यसपछि पारिजातको 'तोरीबारी बाटा र सपनाहरू' अप्ठ्यारोसँग पढेको सन्दर्भ यदाकदा उल्लेख भइरहन्छन्।
पछिल्लो समय धमाधम चार किताब तयार पारेका शंकरले अहिले पनि वानीराकै अर्को किताब योजना गरिरहेका छन्। उनका अनुसार यो 'म्यूजियम डायरी' हुनेछ, जुन वानीराले संसारभर घुमेका विभिन्न संग्रहालयबारे लेखिएका लेखको संगालो हुनेछ। योबाहेक थुप्रै लेख–रचना र कविता छन्।
त्यसैगरी वानीराले उति बेला पुनर्जागरणमा लेख्दा ब्रान्कुसी, पिकासोलगायत थुप्रै पेन्टरसम्बन्धी लेख तथा अनुवाद पनि थियो। त्यस्ता लेखका बेग्लै संग्रह निकाल्न कलाकार शशी शाहले हौस्याइरहेका छन्। कलासम्बन्धी पढाइ हुने हाम्रा कलेजमा किताब अभाव भइरहेको अवस्थामा वानीराको किताब उपयोगी हुने शाहको ठहर रहेछ। शाहलाई 'हुन्छ' भनेकै तीन वर्ष भएको शंकर बताउँछन्।
पछिल्लो समय वानीरा आत्मकथा लेख्ने क्रममा थिइन्। त्यति बेलै नचिताएको परिस्थिति आइदियो। त्यसो त अलि अगाडिदेखि नै बेला–बेला बिर्सने क्रम चलिरहेको थियो। तर हिँडडुल थामिएको थिएन। जीवनभर त्रिभुवन विश्वविद्यालयमा पढाएकी वानीराले अवकाशपछि पनि आफूलाई उत्तिकै सक्रिय राखेकी थिइन्। साहित्यिक मात्र नभएर 'नारायणगोपाल संगीत कोष'जस्ता सांगीतिक क्षेत्रमा पनि उनको संलग्नता थियो।
यस्तैमा एकदिन अचानक डाक्टरले उनलाई 'डिमेन्सिया' (बिर्सने रोग) भएको जानकारी दिए। तै पनि आत्मकथा लेखनलाई उनले गति दिइरहेकै थिइन्। त्यति बेलै उनलाई लगालग तीनपटक निमोनिया भयो। असाध्यै धेरै एन्टिबायोटिक चले।
एकदिन उनी लडिन्। त्यसपछि अलि दिन ओछ्यानमै परेका बेला अचानक उनका सम्पूर्ण सम्झना हराउन थाले। हिँडाइसँगै बोलचाल बन्द हुँदै गयो। यो क्रम चलेको दुई वर्ष नाघिसकेको छ।
'अब त हामी एक–दुई जनाबाहेक अरूलाई चिन्न छाडिन्,' श्रीमान शंकर भनिरहेका थिए, 'अस्ति आफ्नै सन्तान आउँदा पनि उनीहरूलाई दुई–चार दिनपछि मात्र बिस्तारै चिनेजस्तो गरिन्।'
यो अवस्था अझ भयावह हुँदै जाने शंकरलाई थाहा छ।
'अहिले त कमसे कम 'खाने?' भनेर सोध्दा 'अँ' भनेजस्तो गरेर टाउको हल्लाउँछिन्। पछि यस्तो समय आउँछ रे, त्यो खाने पनि थाहा पाउँदैन रे! म त्यो अवस्थाको निम्ति पनि आफूलाई तयार पारिरहेको छु।'
यसै बीच शंकरलाई आफू जीवित रहँदै श्रीमतीका निम्ति थप के गर्न सकिन्छ भनेर छटपटी भएछ। सुरूमा उनले वानीराका नाममा पुरस्कार राख्ने तयारी गरे।
'तर, पुरस्कारले मात्रै के हुन्छ?' उनको मनमा कुरा खेलेछ, 'सबभन्दा महत्वपूण उनका कृतिको सुरक्षा हो।'
वानीराका किताब, पाण्डुलिपि, पुरस्कार, महत्वपूर्ण तस्बिरदेखि उनले संकलन गरेका कलाकृति घरभरि छरिएका छन्। यसको मूल्य भविष्यमा परिवारका सदस्यले बुझ्लान्?
'विदेशिएकै भए पनि छोरा र छोरीले त आमा भनेर माया गर्लान्। तिनका सन्तानले पनि अलिअलि ठम्याउलान्। नेपालै नदेख्ने दरसन्तानले त चिन्दैनन् पनि होला,' उनले झसंग भएजस्तो गरे र भने, 'यस्तोमा मैले आफू बाँचेकै बेला केही गरिहाल्नुपर्छ भन्ने अठोट गरेँ।'
उनको मनमा 'वानीरा फाउन्डेशन' खोल्ने विचार आयो। फाउन्डेशन खोल्ने मात्र नभइ त्यसको भवन समेत बनाएर श्रीमतीका तमाम सम्पत्ति पछिसम्मै कसैले मास्न नसक्नेगरी सुरक्षित पार्ने योजनामा उनी लागे।
मुनाफारहित संस्थाका रूपमा 'वानीरा फाउन्डेशन' काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेको छ। भवन बनाउन उनले मीनभवनकै घरछेउ पक्की सडक जोडिएको साढे सात आना जग्गा फाउन्डेसनकै नाममा पास गरिदिइसकेका छन्। त्यो जग्गाको मूल्य अहिलेका हिसाबले चार करोडभन्दा बढी पर्ने बताइन्छ। त्यसबाहेक भवन बनाउन थप एक करोड रुपैयाँ आफूले छुट्ट्याएको शंकरले सुनाए।
फाउन्डेसनमा शंकर अध्यक्ष छन् भने उपाध्यक्ष इन्दिरा प्रसाइँ। त्यसैगरी सदस्य सचिवमा नरेन्द्रराज प्रसाइँ। अन्य पदाधिकारी भने शंकरकै भाइहरू छन्।
'सन्तान नेपालै भएका भए उनीहरूले पनि केही गर्थे होलान्,' उनी भन्छन्, 'विदेशिएकालाई यसमा जबर्जस्ती जोडिदिन मन लागेन।'
प्रसाइँ दम्पत्तिलाई फाउन्डेसनमा रहिदिन शंकरले नै आग्रह गरेका थिए। साहित्यिक क्षेत्रमा योगदान दिएकाप्रति उनीहरूको समर्पण देखेर यसो गरेको उनी बताउँछन्।
'वानीराका साथीलाई आफ्नै हिसाबले चिन्दै आइरहेको थिएँ,' शंकरले भने, 'उनको यो अवस्था हुनु केहीअघि मात्र उनलाई भव्य सम्मान साथ विश्व नेपाली नारी रत्नले सम्मानित गरेका प्रसाइँ दम्पत्तिसँग त्यति बेलैदेखि सामिप्यता बढेको हो।'
आफूलाई कुनै प्रतिकूलताले छोप्नुअगावै भवन बनाएर फाउन्डेसन साक्षात स्थापना भएको देख्ने उनको इच्छा छ। त्यसैगरी श्रीमतीकै नाममा एउटा गतिलै राशीको पुरस्कार स्थापना गर्ने योजना बुनेका छन्।
'त्यसपछि म यो फाउन्डेसनको अध्यक्ष रहँदिनँ,' शंकर भन्छन्, 'यसै क्षेत्रका काबिल मान्छेलाई सुम्पिदिनेछु।'
हाम्रो कुराकानी टुंगिसकेको थियो। तै पनि हिँड्नुअघि मलाई एकपटक शंकरको मन अर्कोतिरबाट छाम्न मन लाग्यो।
'यत्रो सम्पत्ति र प्रयास लगाएर श्रीमतीका नाममा फाउन्डेसनदेखि पुरस्कारसम्म स्थापना गर्ने तयारीमा हुनुहुन्छ। आफूलाई चिनाउने पनि केही रहोस् भन्ने चाहनु हुन्न?'
प्रश्न सुनेर उनी हाँसे, चर्को आवाजमा।
'म एउटा इञ्जिनियर। मैले पछिसम्म चिनिइरहनुपर्ने के छ? आफ्नो कर्म गरेँ र जान्छु।'
उनले बिट मार्दै भने, 'आउने पुस्ताले थाहा पाउनुपर्ने नाम त वानीराको पो हो त।'