'दिन-१। मलाई एक सातामा सातवटा किताब पोस्ट गर्ने चुनौती आएको छ। कुनै व्याख्या वा समीक्षाबिना किताबको आवरण मात्र राख्ने। प्रत्येक दिन म किताबको फोटो राख्दै एक साथीलाई चुनौती दिन्छु,' लेखक उज्ज्वल प्रसाईंले केही दिनअघि फेसबुकमा लेखे।
सुजथा गिद्लाको 'एन्ट अमोङ एलिफेन्ट' फोटो राख्दै प्रसाईं 'सात दिन-सात किताब' ट्रेन्डमा सहभागी भए।
यो ट्रेन्डमा सात दिनसम्म हरेक दिन किताबको फोटो पोस्ट गर्न चुनौती दिइन्छ। एकले अर्कोलाई, अर्कोले अर्कालाई गर्दै। साहित्य र किताबलाई बढावा दिन सुरू यस्ता ट्रेन्ड पहिले पनि चलेकै हुन्।
यसपालि भने यसले अर्को उद्देश्य पनि बोकेको छ- 'सात दिन-सात किताब' सरकारले किताबमा लगाएको करको विरोध हो।
विदेशबाट ल्याइने किताबमा दस प्रतिशत कर लगाउने नीतिविरूद्ध सामाजिक सञ्जालमा '#मेक बुक ट्याक्स फ्री' अभियानसँगै 'सात दिन-सात किताब' ट्रेन्ड चलेको हो।
'यो ट्रेन्ड पहिले पनि देखेको थिएँ। तर अहिले करको विषय उठेकाले सहभागी भएको हुँ,' लेखक प्रसाईंले सेतोपाटीसँग भने, 'ट्रेन्ड सुरू गर्नेबित्तिकै समस्या समाधान हुने होइन। सामाजिक सञ्जाललाई आम छलफलका रूपमा प्रयोग गर्न, युवामा किताबप्रतिको आकर्षण र महत्व बुझाउन गरिएको सामान्य कदम हो।'
अध्येता तथा शिक्षकसमेत रहेका प्रसाईंको रूचि र काम किताबसँगै जोडिएको हुन्छ। किताबमा कर जरूरी नै छैन भन्ने उनी तर्क राख्छन्।
'सात दिन-सात किताब हुँदै विस्तारै यसलाई ठूलो बहससम्म पुर्याउने लक्ष्य हो। यसले मान्छेलाई विषयप्रति कौतुहल र चासो बढाउँदै लान्छ,' उनी भन्छन्।
उनले भारतीय लेखकका साहित्य धेरै पोस्ट गरेका छन्। यसले बाहिर प्रकाशित किताबबारे ज्ञान नभएकाले सोधखोज गरेका उनी सुनाउँछन्। किताबको फोटो राखेकै कारण उनका विद्यार्थी पनि यसमा संलग्न हुन प्रभावित भएको उनले सुनाए।
किताब करविरूद्ध यसअघि पनि विरोध नभएको होइन। सिंहदरबारअगाडि शान्त बसेर किताब पढ्नेदेखि, प्रदर्शनी, किताबवाचन लगायत गतिविधि विद्यार्थीहरूले गरे। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले कर हटाउन माग गर्दै कुलपतिलाई पत्रै लेखे। सडकबाट सुरू आन्दोलनबारे सदनमा छलफल भयो। अर्थमन्त्रीले युवराज खतिवडाले किताब कर उचित भएको दावी गर्दै सरकारको धारणा दिए।
'किताब कर खारेज गर' अभियान नरोकिने भयो। यहीबीच कोरोना भाइरस त्रासले अभियानलाई सामाजिक सञ्जालमा ल्याइपुर्याएको अभियानमा संलग्न विद्यार्थी विनोद देउवा बताउँछन्।
'कोरोनाका कारण भिडभाडमा जम्मा नहुन भनेपछि केही दिन सडक गतिविधि स्थगित गरेका हौं,' विनोदले भने, 'आवाज उठाउन भने छाड्दैनौं। अहिले सामाजिक सञ्जाल माध्यम भएको छ।'
यो ट्रेन्ड दुई-तीन वर्ष अगाडि पनि आएको 'बुकहोलिक्स' फेसबुक पेजकी प्रशासक सगुना शाह बताउँछिन्। 'बुकहोलिक्स' किताबमा मोह भएका व्यक्तिका लागि खोलिएको पेज हो। यसमा करिब १३ हजार सदस्य छन्।
विगत नौ वर्षदेखि सगुना यो पेज सम्हालिरहेकी छिन्। यो अन्तरालमा उनले युवाहरूको किताब मोह र पठन संस्कृति नजिकैबाट नियाल्न पाइन्। उनका अनुसार पछिल्ला वर्ष पठन संस्कृति बढेको छ र विशेषगरी कविता लेखनमा युवा आकर्षित छन्।
पेसाले शिक्षक सगुनाले यति बेलै किताबमा कर लाग्दा पाठकमा असर परेको देखेकी छिन्। यो समस्या सामाजिक सञ्जालबाट मात्र समाधान नहुने उनी बताउँछिन्।
'सडकमा नाराबाजी गर्दा त सरकार मौन छ, यो कदममा मात्र भर पर्न हुँदैन,' उनी भन्छिन्, 'नयाँ पुस्ताले यो तरिका मन पराएर धेरै किताबबारे जान्न-बुझ्न पाएका छन्। तर पुस्तकालयमा किताब कम हुँदैछ र सरकारले यसमा ध्यान दिनैपर्छ।'
उनले थपिन्, 'कर लगाएपछि पसलअनुसार किताबको भाउ छ। एउटै किताबको कतै ९५० कतै एक हजार त कहीँ अझै बढी। यस्तो पाराले मूल्य भर भएन। बढेको मूल्य तिर्न सक्षम र तयार हुने पनि कम छन्।'
सात दिन-सात किताब अभियानमा विदेश अध्ययनरत नेपालीले पनि ऐक्यबद्धता जनाइरहेका छन्।
यीमध्ये एक हुन् भारत, पोन्डीचेरीमा पढिरहेकी विभु लुइटेल। उनले 'सात दिन-सात किताब'मार्फत् किताब करको विरोध गरिन्।
'म बस्ने ठाउँ (भारत)मा किताब निकै सस्तो पाइन्छ। मेरा लागि खुसी हो,' विभुले सामाजिक सञ्जालमार्फत् सेतोपाटीसँग कुरा गरिन्, 'तर सबभन्दा दुःखको कुरा, म एक वर्षपछि फर्किँदैछु। यहाँ धेरै सस्तो पाइरहेका किताब नेपालमा महँगो तिर्नुपर्छ।'
किताब करको विरोध होस् वा किताबको बढावा, 'सात दिन-सात किताब'ले ट्रेन्डमा सहभागी हुने र नहुनेलाई राम्रा किताबबारे जानकारी पनि दिइरहेको छ। विभु लुइटेल नै उज्ज्वल प्रसाईंले राखेका किताब सूची हेरेर केही किनेको बताउँछिन्।
'किताबबारे जानकारी पाइने भयो। इच्छा भए खोजेर पढ्ने। यसले ज्ञान आदानप्रदान सहज बनाएको छ,' उनी भन्छिन्, 'अनि युवाहरूले किताब करबारे पनि थाहा पाउने भए। जनचेतना जगाउन सामाजिक सञ्जालको प्रभावकारिता धेरै भएको केही अनुसन्धानले पुष्टि समेत गरेका छन्।'
उनका अनुसार यसअघि पनि किताबबारे तीन जनालाई चुनौती दिने ट्रेन्ड चलेको थियो। जसमा चुनौती पाउनेले तीन–तीनवटा किताब दान गर्नुपर्थ्यो। त्यसरी संकलित किताब दुर्गमका कुनै पुस्तकालयलाई दिइन्थ्यो।
सात दिन-सात किताबबाहेक अर्को ट्रेन्ड पनि अहिले चलिरहेको छ। किताब करसम्बन्धी दुई वाक्यको हाँस्यास्पद कविता लेखेर पोस्ट गर्ने।
'हिमाली भेगमा छन् धेरै याक्स, चाहिएन हामीलाई किताबमा ट्याक्स।'
'बन्चरोलाई भन्छन् इङ्लिसमा एक्स, चाहिएन हामीलाई किताबमा ट्याक्स।'
युट्युबर विनायक कुइँकेलले आफ्नो 'ह्वाइ सो अफेन्डेड' च्यानलमा किताब करबारे भिडिओ बनाएपछि यो ट्रेन्ड सुरू भएको हो। भिडिओ बनाएलगत्तै उनले आफ्ना दर्शकलाई यसरी कविता सिर्जना गर्न चुनौती दिएका थिए।
'म किताब पढिरहेको हुन्छु। सामाजिक विषयमा बोल्छु र लेख्छु। यसबारे भन्नु महत्वपूर्ण थियो,' विनायकले भने, 'किताब कर विषयमा भिडिओ बनाइरहेका बेला कविताको आइडिया फुरेको थियो। नयाँ पुस्ता समावेश हुने कुरा बनाउनु थियो। त्यसैले हाँस्यास्पद बनाउन खोजेको हुँ।'
विनायकका दर्शक १८-२४ वर्षका धेरै छन्। उनीहरूलाई मुख्यगरी किताब करबारे सचेत गराउनु, प्रजातन्त्रका कुरा र ज्ञानमा रोक लगाएको कुरा बुझाउन तयार पारेको बताउँछन्।
भन्छन्, 'यो ट्रेन्ड प्रभावकारी हुन्छ वा हुँदैन भनेर सुरू गरेको होइन। युवालाई यसबारे अझ बढी अन्तर्क्रियात्मक बनाउन हो।'