एक महिलालाई आत्महत्या गर्न बाध्य पारेको आराेपमा जिल्ला प्रहरी कार्यालय सल्यानले चार पुरुषलाई पक्राउ गरेको छ।
चैत ३ गते दिउँसो शारदा नगरपालिका वडा नं. १५ हर्ले निवासी २१ वर्षीया मुना आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन्।
उनको मृत्युको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओलीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।
घटनाको सुक्ष्म अनुसन्धानका क्रममा मुनालाई आत्महत्या गर्न बाध्य पारेको भन्ने खुल्न आएपछि प्रहरीले त्रिबेणी गाउँपालिका वडा नं. ६ निवासी २० वर्षीय विजय भण्डारी, २३ वर्षीय लालबहादुर राजगुरु र मृतक मुनाका पति २३ वर्षीय सुनिल नाथलाई पक्राउ गरेको निमित्त प्रमुख ओलीले जानकारी दिए।
ओलीका अनुसार भण्डारी र राजगुरुले मृतक मायाको त्रिबेणी ६ निवासी २३ वर्षीय अर्जुन रावतसँग अनैतिक सम्वन्ध भएको आरोप लगाउँदै आएका थिए।
भण्डारी र राजगुरुले पोखरामा काम गर्दै आएका मुनाका पति सुनिलसँग यो कुरा गरेपछि सुनिल चैत २ गते मध्यराति १२ बजे सल्यानस्थित आफ्नो घर पुगे। त्यतिबेला नै उनले गाउँमा मुनाले सञ्चालन गर्दै आएको किराना पसलमा आगो लगाइदिए। पत्नी मुनामाथि हातपात तथा गालिगलौज गरी शारीरिक र मानिसिक यातना दिए।
चैत ३ गते बिहानैदेखि पति सुनिल र भण्डारी तथा राजगुरु समेत मिलेर गाउँघरमा मुना र रावतकोबीचमा अनैतिक सम्बन्ध रहेको भन्दै आरोप लगाउन थाले।
त्यो आरोप सहन नसकेर मुनाले सोही दिन दिउँसो घरभित्रै झुण्डिएर आत्महत्या गरिन्। उक्त ब्यहोरासहित मृतक मुनाका बुवाले किटानी जाहेरी दिएपछि प्रहरीले रावतसहित चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रवक्ता समेत रहेका ओलीले जानकारी दिए।
पक्राउ परेका चारै जना विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसूर अन्तर्गत दफा १८५ बमोजिम आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
सल्यान जिल्ला अदालतले पक्राउ परेकाहरुलाई सातदिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।