कोरोना भाइरस संक्रमणको डरले बजारमा स्यानिटाइजर अभाव भइरहेका बेला काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागले 'पेन स्यानिटाइजर स्प्रे' परीक्षणमा ल्याएको छ।
फार्मेसीले सफल परीक्षण गरेको 'केयु इन्स्ट्यान्ट ह्यान्ड-रब पेन' बजारमा पाइने साधारण मार्कर आकारको छ। एकपटकमा १० मिलि स्यानिटाइजर अटाउने र फेरि भर्न सकिने विश्वविद्यालयका प्राध्यापक सुबोध शर्माले जानकारी दिए।
स्यानिटाइजर पेनको योजना दुई वर्षअघि नै सुरू भएको हो। यसको बाहिरी खोल नेपालमा उत्पादन नहुने भएकाले चीनबाट अर्डर गरियो।
'दुई सय स्यानिटाइजर पेन परीक्षणमा छन्। यसलाई हरेक व्यक्तिसम्म पुर्याउने सोच छ,' प्राध्यापक शर्माले भने, 'यसलाई चाहिने सबै सामान नेपालमा उत्पादन नहुने भएकाले ढिलाइ भएको हो।'
बाहिरी मुलुकबाट सामान ल्याउँदा एउटा पेन स्यानिटाइजरको मूल्य १३५ रुपैयाँसम्म पर्छ। नेपालमै उत्पादन गर्न सके ३० देखि ४० रुपैयाँ पर्नेछ। ठूलो मात्रामा उत्पादन सुरू भएपछि सर्वसाधारणलाई पनि उपलब्ध गराइने प्राध्यापक शर्माले बताए।
उनका अनुसार कोरोना भाइरस प्रभावले अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा हङकङमा तयार भइसकेको एक हजार स्प्रे पेन भित्रिन पाएको छैन।
'हवाई सेवा सुरू भएपछि हामीसँग हजार वटा स्यानिटाइजर पेन तयार हुनेछ। त्यसलाई मागअनुसार शिक्षण अस्पतालमा पुर्याउने योजना छ,' उनले भने, 'खासगरी यो शल्यक्रियामा प्रयोग गर्न बनाइएको हो, तर हिँडडुल गरिरहनुपर्ने मान्छेका लागि पनि उपयोगी हुनेछ।'
विश्वविद्यालयको फार्मेसी विभागले दुई वर्षदेखि आफ्ना विद्यार्थीलाई चाहिने साबुन र अन्य सफाइका सामान उत्पादन गर्दै आएको छ। त्यही क्रममा स्यानिटाइजर पनि उत्पादन गरिएको सहायक प्राध्यापक अनुप लुइँटेलले बताए। पेन स्यानिटाइजर भने पहिलोपटक बनाउन लागेको हो।
उनले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै स्यानिटाइजर उत्पादन गरिएको बताए। यसरी बनाइएको स्यानिटाइजर विश्वविद्यालयको अस्पताल र विभागभित्र मात्र उपयोग हुनेछ।
'स्यानिटाइजरलाई साबुन–पानीको आकस्मिक विकल्प रूपमा लिनुपर्छ,' उनले भने, 'अहिले यसको माग निकै छ, तर साबुन-पानी पाएसम्म स्यानिटाइजर कम प्रयोग गरेको राम्रो। यसले हाम्रो हातको संवेदनशीलता घटाउँछ।'