कोरोना भाइरस संक्रमणको डरले व्यापार प्रभावित भएका बेला 'पोखरा ट्रेड मल' ले चैत महिनाको सटर भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
मलका अध्यक्ष विन्दुकुमार थापाले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्। यसबाट व्यवसायीलाई २५ लाख रूपैयाँ राहत हुनेछ।
व्यवसायीलाई थोरै भए पनि राहत होस् भनेर यस्तो निर्णय गरेको उनले बताए। कारोबार घट्दै गएका बेला एक महिनाको भाडा छुट दिँदा पनि ठूलो आड हुने उनको भनाइ छ।
'हामीले मात्र होइन, अरू कम्प्लेक्स, मल र घरबेटीहरूले पनि यो आपतकालीन समयमा जतिसक्दो सहयोग गर्नुपर्छ,’ उनले भने।
पोखराको प्रमुख व्यापार केन्द्र चिप्लेढुंगास्थित ट्रेड मलमा ५ सय ३ सटर छन्। सिनेमा हल, जिम लगायत बन्द भए पनि कपडा व्यापार, ग्रोसरी, बैंक खुलै छन्।
मलका प्रबन्धक सुवास अधिकारीले हाल चैतको भाडामा मात्र छुट दिने भनिए पनि समस्या जारी रहे आगामी दिनमा थप निर्णय गर्ने बताए। 'व्यवसायमा पैसा मात्र हेर्ने होइन, एकअर्काको मर्का पनि बुझ्नु जरुरी छ,' उनले भने, 'व्यवस्थापनले सक्दो सहयोग गर्नेछ।'
पोखरा ट्रेड मल २०७२ सालमा सञ्चालनमा आएको हो। ‘सटर भाडामा लिएर व्यवसाय गर्नेहरूमाथि घरबेटीको मनमानी चल्थ्यो। घरबहाल कर कसले तिर्ने भन्नेमा झगडै हुन्थ्यो,’ अध्यक्ष थापाले भने, ‘सधैं अरूको हेपाइ सहनुभन्दा सानादेखि ठूला व्यापारी सबै मिलेर मल सञ्चालनमा ल्यायौं।’
एक महिनाको भाडामा भए पनि छुट पाउँदा राहत भएको यहाँका व्यापारी बताउँछन्।
‘व्यवसाय खस्केको छ। आजसम्म सटर खुल्लै भए पनि भोलि के हुने हो टुंगाे छैन,’ सुरूदेखि यहाँ कपडा व्यवसाय गर्दै आइरहेकी ‘सिटी क्याजुल’ की सञ्चालक ओमकुमारी पुनले भनिन्, ‘बन्द सटरको पूरा भाडा तिर्नुपरेको भए निकै दुःख लाग्थ्यो। केही प्रतिशत छुट पाएका छौं, सन्तुष्ट नै छौं।’
‘एमडब्ल्यू’ स्टोरकी सुनिता तामाङ पनि व्यवस्थापनको निर्णयले केही राहत पाएको बताउँछिन्। ‘व्यापार पूरै घाटामा छ, यस्तोमा उहाँहरूले हाम्रोबारे पनि सोच्दिनुभयो, खुसी लाग्यो,’ उनले भनिन्।
यो मलले आफूकहाँ आउने ग्राहकलाई प्रवेश ढोकामै 'स्यानिटाइजर' ले हात सफा गर्न लगाउँछ। ज्वरो नाप्ने गन पनि प्रयोग गरिन्छ।