चितवनमा रहेको 'पाथीभरा कम्प्लेक्स'ले सबै सटर व्यवसायीलाई एक महिनाको भाडा छुट दिने निर्णय गरेको छ। कम्प्लेक्सका सञ्चालकमध्येका बासु डल्लाकोटीका अनुसार आइतबार उनीहरूले यो निर्णय सार्वजनिक गरेका हुन्।
'पाथीभरा कम्प्लेक्स' खैरहनी नगरपालिकाको एक मात्र कम्प्लेक्स हो। एक वर्षअघि मात्र भाडाको जग्गामा बनेको कम्प्लेक्सका चार सञ्चालक छन्- बासु, सागर अधिकारी, अनिल श्रेष्ठ र रसिक पाण्डे।
चार सञ्चालकको छलफल र समझदारी मै उक्त निर्णय भएको बासुले जानकारी दिए। उनका अनुसार कोरोना भाइरस महामारी फैलिरहेका बेला व्यापार खस्किँदो छ र व्यापारीहरू मर्कामा छन्। कम्प्लेक्सले ती व्यापारीका लागि आफ्नो तर्फबाट राहत स्वरुप सक्दो गरेको उनले बताए।
'कोरोना भाइरसका कारण व्यवसाय धरापमा छ। व्यापार पनि लगभग ठप्पै छ,' बासुले भाडा छुट दिनेबारे भने, 'यस्तो समयमा एकले अर्कालाई बुझ्नु पर्छ। उहाँहरूलाई धेरै समस्या नपरोस् भनेर यो निर्णय लियौं।'
उनीहरू आफैंले जग्गा भाडामा लिएर कम्प्लेक्स सञ्चालन गरिरहे पनि अरूलाई भाडा छुट गर्ने निधो गरेका हुन्।
उनका अनुसार मासिक डेढ लाख रूपैयाँ उठ्ने कम्प्लेक्समा दस बढी सटर छन्। यसमा घरायसी सरसामान, टेलर, पार्लरदेखि क्याफे र होटलसम्म सञ्चालित छन्।
हाललाई चैत महिनाको मात्र भाडा छुट भए पनि समय यस्तै रहे आगामी महिनाका लागि पनि छलफल गर्ने सागरले बताए।
'सरकारले नै बाहिर भिडभाड नगर्न आग्रह गरेको छ। योसँगै व्यापार खस्कनु स्वाभाविक हो। सबै व्यापार घाटामा छ,' सागरले भने, 'एक महिनाको भाडा छुटले पनि केही राहत मिल्छ नै। अब परेको खण्डमा थप छलफल गर्नेछौं।'
यसरी भाडा छुट हुँदा सहज भएको सटर व्यावसायीहरू बताउँछन्। कम्प्लेक्समा रहेको 'डिजाइनर अमिता' का सञ्चालक अमिता महर्जन क्षत्री भन्छिन्, 'एक महिनाको भाडा मिनाहा हुँदा पनि राहत मिलेको छ। सटर बन्द हुने अनि भाडा मात्र तिर्नु पर्दा दुःख लाग्छ। समस्या पनि हुन्छ।'
त्यस्तै कम्प्लेक्सको अर्को सटर 'युएसबी बेबी सप' का सञ्चालक बुद्ध गन्धरी सम्पूर्ण व्यापारीका तर्फबाट कम्प्लेक्स सञ्चालकहरूप्रति आभार रहेको बताउँछन्।
उनी भन्छन्, 'अहिलेको समय र परिस्थितिलाई मध्यनजर गरेर उहाँहरूले लिनुभएको निर्णयले हामीलाई केही सहज भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद!'
हाल कम्प्लेक्सका केही सटर बन्द छन् भने केही खुला। आफ्नो र अरूको सुरक्षाको ख्याल गर्दै केही दिनबाट सटर पूर्ण हिसाबमा बन्द गर्ने निर्णय पनि भएको व्यवसायीहरू बताउँछन्।